परीक्षा सार्न विद्यार्थीको दबाब
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको विभिन्न तहको परीक्षा सार्न विद्यार्थीले दबाब दिएका छन्। कोरोना भाइरसको संक्रमणका कारण सरकारले कक्षा एकदेखि नौ सम्मको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न शिक्षा मन्त्रालयले निर्देशन दिएपछि त्रिविमा पनि परीक्षा सार्न दबाब परेको हो।
विद्यार्थीले बिहीबार त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई भेटेर परीक्षा सार्न माग गरेका हुन्। समूहमा गएका विद्यार्थीले कोरोना संक्रमणका कारण पढाईमा समस्या परेको तथा मानसिक रुपमा पनि नकारात्मक प्रभाव परेकोले परीक्षा सञ्चालनमा समस्या हुने परीक्षा नियन्त्रकलाई बताएका थिए। त्रिविले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षाको मिति चैत सात गतेदेखि तोकेको छ।
त्यस्तै चैत ९ गतेबाटै एक वर्षे बीएडको परीक्षा तालिका सार्वजनिक भइसकेको छ। एलएलबी दोस्रो वर्षको परीक्षा चैत १४ गतेबाट सञ्चालन हुने तालिका यसअघि नै सार्वजनिक भइसकेको छ।
चैत २७ गतेबाट अन्य तहको पनि परीक्षा सञ्चालनको तालिका तयार भएको पनिकाले जनाएको छ। नियन्त्रक जोशीले भने, ‘विद्यार्थीले दबाब त दिएका छन्। तर परीक्षा नियन्त्रकले मात्र निर्णय गरेर परीक्षा सार्न सकिदैन।’
कोरोनाको त्रास फैलिए पनि भाइरस कसैमा पनि नदेखिएकाले आत्तिनु नपर्ने जोशीले बताए। परीक्षा सार्न विद्यार्थीले दिएको दबाबको विषयमा शुक्रबार हुने परीक्षा समितिको बैठकमा जानकारी गराउने पनि जोशीले बताए।
प्रतिक्रिया दिनुहोस !