झापासँग एपीएफ स्तब्ध
पोखरा : आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा झापा-११ ले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई स्तब्ध पार्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। झापाले बलियो विभागीय टोली एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोलले हराएको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट कुनै पनि गोल भएन। थप गरिएको समयमा दुवै टोलीले १-१ गोल गरे। त्यसपछि हारजितको निर्णय टाइब्रेकरबाट निकालिएको हो।
टाइब्रेकरमा झापाका हेमन्त थापामगर, मौसम लिम्बू, प्रमोद चौधरी, विशाल दर्जी र सञ्जित राईले गोल गरे। एपीएफ क्लबका नवीन लामा, राजीव लोप्चन र राजु नगरकोटीले मात्र गोल गर्न सके। सुदीप शिख्राकारको प्रहारलाई झापाका गोलरक्षक राजकुमार लिम्बूले बचाएका थिए। म्यान अफ दी म्याच घोषित भएका झापाका गोलरक्षक लिम्बूले खेलको ५३ औं मिनेटमा एपीएफ क्लबका नवीन लामाले हानेको पेनाल्टी प्रहारलाई पनि उत्कृष्ट बचाउ गरेका थिए।
खेलको ७४औं मिनेटमा एपीएफ क्लबका प्रवीण स्याङतानले हानेको बललाई झापाका गोलरक्षक उत्कृष्ट बचाउ गरे। अतिरिक्त समयको तीन मिनेटमा प्रवीणकै प्रहारलाई पनि उनले जोगाएका थिए। एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङले आफ्ना उत्कृष्ट खेलाडी आशिष लामा नहुँदा खेलमा प्रभाव परेको बताए।
झापाका प्रशिक्षक सन्तोष गुरुङले आफ्ना युवा खेलाडीले बलियो प्रतिद्वन्द्वीविरुद्ध गरेको उत्कृष्ट प्रदर्शनका कारण जित सम्भव भएको प्रतिक्रिया दिए। झापाले क्वार्टरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ। शनिबारको खेल आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब हुनेछ।
प्रतिक्रिया दिनुहोस !