मच्छिन्द्रलाई माई भ्याली गोल्डकप
इलाम : इलाममा सम्पन्न छैटौं संस्करणको माई भ्याली गोल्डकप फुटबलको उपाधि मच्छिन्द्र क्लबले जितेको छ । शनिबार भएको फाइनलमा आयोजक माई भ्याली क्लबलाई १–० गोलले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रले माई भ्याली गोल्डकपको उपाधि जितेको हो ।
मच्छिन्द्रको जितमा विदेशी खेलाडी निया एन्डेसले गोल गरेका थिए । वर्षाले बिथोलेको खेलको इन्जुरी समयमा एन्डेसले गोल गर्दै मच्छिन्द्रलाई उपाधि जिताएका थिए ।
उपाधिसँगै मच्छिन्द्रले आठ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेतामा सीमित बनेको माई भ्यालीले पाँच लाखमा चित्त बुझायो ।
खेलको १२औं मिनेटमा माई भ्यालीका छिरिङ गुरुङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए । २२औं मिनेटमा मच्छिन्द्रका रेजिन सुब्बाको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो । ४३औं मिनेटमा मच्छिन्द्रका विमल घर्तीमगरले पनि गोलको अवसर गुमाएका थिए ।
प्रतियोगितामा माई भ्यालीका छिरिङ गुरुङ उत्कृष्ट डिफेन्डर बने । माई भ्यालीकै देव लिम्बू गोलरक्षक, मच्छिन्द्रका योगेश गुरुङ मिडफिल्डर, मच्छिन्द्रकै निया एन्डेस फरवार्ड र मच्छिन्द्रकै प्रवेश कटुवाल उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका उत्कृष्ट खेलाडी आयोजक माई भ्यालीका शरण बस्नेत बने । उनले नगद एक लाख १५ हजार प्राप्त गरे ।
सहिद स्मारक लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मच्छिन्द्र माई भ्यालीको सेमिफाइनलमा भारतको मानेभञ्जयाङ फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा पुगेको थियो । आयोजक माई भ्यालीले भने विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।