नमुना बस्तीलाई जग्गादान
ओखलढुंगा : सुनकोसी गाउँपालिकामा नमुना बस्ती निर्माण गर्न समाजसेवी सन्तोष बस्नेतले जग्गा दान गरेका छन्। उपयुक्त घडेरी नभएका १९ दलित परिवारको नमुना बस्ती नर्माणका लागि आफ्नो अंशवापत पाएको जग्गा दान गरेका हुन्। सुनकोसी ८ का बस्नेत व्यवसायी पनि हुन्।
उनले सुनकोसी–८ आम्बोटे सिरानमा रहेको आफ्नो पाँच रोपनी जग्गा दान गरेका छन्। १९ दलित परिवारले सामूहिक रूपमा घडेरीका रूपमा प्रयोग गर्ने गरी जग्गा उपलब्ध गराएको बस्नेतले जानकारी दिए। जग्गा पास गरेपछि बस्नेतले भने, ‘नमुना दलित बस्तीका रूपमा विकास गर्ने उद्देश्यले घर तथा घडेरीविहीन परिवारलाई ५ रोपनी जग्गा निःशुल्क रजिस्टे«सन पास गरेको हुँ।’
उनले बुबा रामहबादुर बस्नेतबाट अंशका रूपमा प्राप्त गरेको जग्गा दलित समुदायलाई दिएका हुन्। भूकम्प र पहिरोका कारण सुनकोसी–८ का दलित समुदाय विस्थापित छन्। निशुःल्क प्राप्त जग्गामा एकीकृत बस्ती निर्माण गरेर बसोबास सुरु गर्ने जग्गा पाउनेमध्येका सदस्य सन्तबहादुर नेपालीले बताए । परियारले अन्नपूर्णसँग भने, ‘उहाँ (सन्तोष) ले जग्गा निःशुल्क दिनुभयो, हामी धेरै खुसी छौं। तर, त्यो जग्गामा घर बनाएर बस्न सक्ने हैसियत हामी सबैको नभएकाले दाताको सहयोग अपेक्षा गरेका छौं।’
आवास निर्माण गरिदिन स्थानीय सरकारसँग माग गरेका छन्। बस्ती विकासका लागि दिलबहादुर नेपालीको अध्यक्षतामा समितिसमेत गठन गरेको स्थानीय कृष्ण कार्कीले बताए। जग्गाको लालपुर्जा हस्तान्तरण गर्दै सांसद यज्ञराज सुनुवारले स्थानीय सरकारसँग समन्वय गरेर नमुना बस्ती निर्माण गरिने बताए। सांसदको आश्वासनपछि स्थानीय उत्साहित बनेका छन्।
प्रतिक्रिया दिनुहोस !