आहा रारा गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा
पोखरा : थ्रीस्टार क्लब पोखरामा जारी १८औं आहा ! रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालामा सोमबार भएको खेलमा तीन पटकको विजेता थ्रीस्टारले भारतको गान्तोक फुटबल क्लबलाई ३-० गोलले हरायो।
७९ औं मिनेटमा थ्रीस्टारका सन्जोक राईले गोल गर्दै टोलीलाई अग्रता दिलाए। निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाएका सन्जोगले विपक्षी गोलरक्षकलाई छक्याउँदै जाली चुमाएका थिए। पहिलो हाफमा गोल रहित बराबरी खेलेको पाहुना टोली एक गोल खाएपछि सम्हालीन सकेन।
थ्रीस्टारका सुसान श्रेष्ठले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए। पाहुना टोलीका सोनाम जाङपो भुटीयाले क्लियर गर्न खोजेको बल खोसेर उनले डिबक्स भित्रबाट गोल गरेका थिए। लगत्यै सुसानले ब्यक्तिगत दोस्रो गोल गरेका थिए। डिबक्स भित्र गान्तोक फुटबल क्लबका खेलाडीबाट बल खोस्दै उनले उत्कृष्ट गोल गरेका थिए।
पहिलो हाफमा औसत खेल प्रदर्शन गरेको गान्तोक खेलको अन्तिममा सम्हालिन सकेन। गान्तोकले थ्रीस्टारको तुलनामा राम्रा अवसर गुमाएको थियो। १९औं मिनेटमा गान्तोकका टि लेन्डुप भुटीयाको प्रहारलाई थ्रीस्टारका कप्तान बिक्रम लामाले बचाएका थिए। ७६ औं मिनेटमा सोनम छिरिङ भुटीयाको प्रहारमा पनि उनै बिक्रम बाधक बने।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेल ५०÷५० रहेको बताए। ‘गान्तोकको खेल राम्रो थियो। हाम्रो स्कोर हुँदा जित सम्भव भयो। टोलीमा युवा खेलाडीको बाहुल्यता रहेकोले विस्तारै सेट गर्दै जानेछौं,’ मेघराजले भने। गान्तोकका प्रशिक्षक मायोल दोक लेप्चाले पहिलो गोल अफसाईड भएको दावी गरे। ‘अफ साईड गोललाई मान्यता दिँदा खेलाडी दबाबमा परे। आफ्ना खेलाडीले राम्रो खेलेपनि पाएको मौकामा गोल नहुँदा हार भयो,’ मायोलले भने। दुई गोल गरेका थ्रीस्टारका सुसान श्रेष्ठ म्यान अफ दी म्याच भए। थ्रीस्टरले फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ। मंगलबार त्रिभुवन आर्मी र संकटाबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया दिनुहोस !