बहिरालाई मोबाइल !
इटहरी : लाग्न सक्छ, बोल्नै नसक्ने बहिराका लागि मोबाइल के काम? तर विराटनगरका मोहन तिवारीका लागि अहिले अभिन्न अंग बनेको छ मोबाइल। पाँच वर्षदेखि मोबाइल नियमित प्रयोग गरिरहेका तिवारी मोबाइलसँगै प्रविधिको प्रयोगले कुराकानी गर्न निकै सजिलो भएको बताउँछन्। थ्रीजी चल्ने मोबाइल बोकेका उनी भिडियोबाट सांकेतिक भाषामा साथीसँग कुरा गर्छन्।
‘पहिला कि मेसेज गर्नुपथ्र्यो, कि भेटेरै भन्नुपथ्र्यो’, विराटनगर महानगरपालिका परिसरमा भेटिएका तिवारीले साँकेतिक भाषामा व्यक्त गरेको विचारलाई उल्था गरिदिँदै दोभाषे सन्तोषी घिमिरेले भनिन्, ‘आजभोलि भिडियो कलबाट सजिलो भएको छ।’
उनकाअनुसार थ्रीजी मोबाइलले वाइफाइ नभएका ठाउँमा पनि कुरा गर्न सहज भएको छ। कोसी बहिरा संघका पूर्वअध्यक्षसमेत रहेका तिवारीसहित संघका धेरै लेखपढ गर्न सक्नेले मोबाइल चलाउँछन्।
‘मोबाइलमा मेसेज पनि गर्न सकिन्छ, तर कतिले बुझ्दैनन्, बरु साँकेतिक भाषा र भिडियो नै सजिलो’, राष्ट्रिय बहिरा महासंघ प्रदेश अध्यक्ष सीताराम ओझाले भने।
बहिरा बोल्न सक्दैनन्। त्यसैले उनीहरूलाई आफ्ना कुरा व्यक्त गर्न र बुझाउन गाह्रो हुन्छ। उनीहरूले प्रयोग गर्ने सांकेतिक भाषा जोकोहीले बुझ्दैनन्।
‘उनीहरूले व्यक्त गरेको सांकेतिक भाषा उल्था गरी भनिदिने मानिस पनि धेरै छैनन्’, घिमिरे भन्छिन्, ‘नेपाल भर दुई तीन दर्जन जति मात्र छौं, एउटा बहिरा स्कुलमा शिक्षकहरू हुनुहुन्छ, तर उहाँहरू विद्यार्थी पढाउनै व्यस्त हुनुहुन्छ।’
उनका अनुसार प्रदेश १ मा तीन–चार जना मात्र दोभाषे छन्। उनीहरूको काम भने निकै धेरै छ।
बहिरा सदस्यलाई परेको घरायसीदेखि संस्थागत कामका लागि उनी दिनभर हिँडिरहन्छिन्। बिहे गरेर आएपछि बहिरा देवर र देउरानीसँग कुराकानी गर्न सजिलो होस् भनेर सांकेतिक भाषा सिकेकी सन्तोषी अहिले बहिरा संघका सदस्यको सुख, दुःखको साथी बनेकी छन्। अहिले उनी संघका लागि तलबी दोभाषेको रूपमा काम गर्छिन्। धेरै दोभाष आवश्यक भए पनि रोजगार ग्यारेन्टी नभएकोले कोही इच्छुक नदेखिएको बताइन्। उनी महानगरमा दोभाषेलाई रोजगार दिनुपर्ने पक्षमा लबिङ गरिरहेकी छन्। ‘त्यसो भयो भने महानगरमा आउने बहिरालाई काम गर्न सहज हुने थियो’, उनले भनिन्।
‘पार्किङ शुल्क उठाउने अधिकार खोसियो’
यसैबीच विराटनगर महानगरपालिकाले बहिराका लागि दिँदै आएको पार्किङ शुल्क उठाउने अधिकार खोसेको छ। महेन्द्र चोकमा पार्किङ शुल्क उठाउँदै आएका एक दर्जन बहिराको रोजगार खोसिएको उनीहरूले गुनासो गरेका छन्।
पछिल्लो समयमा ७ जना पार्किङमा संलग्न थिए। ‘बाटो फराकिलो भएसँगै महानगरले पार्किङ शुल्क नलिने भनेर हामीलाई नउठाउनु भनेको छ’, घिमिरेले भनिन्।
प्रति सवारी पाँच रुपैयाँ शुल्क उठाउँदै आएकोमा उठेको रकमको आधा उठाउनेले पाउँथे भने आधा रकममा महानगर र बहिरा संस्थाले बाँड्थे। ‘सात जनाको रोजीरोटी गुमेको छ। वैकल्पिक पेसाका लागि सहयोग गरिदिए हुन्थ्यो’, ओझाको भनाइ उधृत गर्दै घिमिरेले भनिन्।