कोरोना प्रभाव : अन्तरदेशीय बस सेवा बन्द गर्ने योजनामा प्रदेश

कोरोना प्रभाव : अन्तरदेशीय बस सेवा बन्द गर्ने योजनामा प्रदेश

बुटवल : भारतीय सीमामै कोरोना संक्रमित भेटिएपछि प्रदेश ५ सरकारले अन्तरदेशीय बस सेवा रोक्ने तयारी गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले दुई देश आउजाऊ गर्ने यात्रुवाहक बसले जोखिम बढी भएको भन्दै रोक्ने योजना बनाउन निर्देशन दिएका छन्।

भारतीय सहर लखनऊमा कोरोनाका बिरामी भेटिएका छन्। अन्य सयौं संक्रमित आशंकामा छन्। भारतमा संक्रमितको संख्या ७३ पुगिसकेको छ। खुला सिमाका कारण नेपालमा कोरोना भित्रिने जोखिम अत्यधिक छ। संक्रमित भेटिएका भारतीय सहरमा नेपालका विभिन्न सहरबाट बस सञ्चालनमा छन्। बेलहिया नाका हुँदै दैनिक ३४ बस आउजाउ गर्छन्। सबैमा गरी कम्तीमा १५ सय यात्रु हुन्छन्। उनीहरूको स्वास्थ्य परीक्षणसमेत चुनौतिपूर्ण छ।

मुख्यमन्त्री पोखरेलले बिहीबारको कोरोना प्रतिरक्षा बैठकमा चनाखो बनेर तयारी थाल्न निर्देशन दिए। ‘भारतबाट आउने मालवाहक गाडीबाहेक अन्य यातायात सेवा रोक्ने विषयमा छलफल गर्नुस्, उनले भने, ‘बसबाटै कोरोना भित्रिने जोखिम हुन्छ।’ यात्रुलाई परीक्षणपछि मात्र नेपाली यातायातकै साधनमा यात्रा गर्ने व्यवस्था गराउनुपर्ने उनले बताए। प्रदेश ५ का ५ ठूला नाकाबाट भारतीय यात्रुको आवागमन बढी हुन्छ। तेस्रो मुलुकका नागरिकको आवागमन भने अब रोकिनेछ। भारतले भिसा रद्द गरेपछि स्थलमार्ग हुँदै तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिने छैनन्।

सामाजिक विकास मन्त्रालयले कोरोना आशंकित बिरामीको रगत नमुना संकलन केन्द्रसमेत तयार पारेको छैन। क्वारेन्टाइन बनाउनु परे कहाँ बनाउने निश्चित छैन। मुख्यमन्त्री पोखरेलले एक साताभित्र आइसोलेन वार्ड बनाउन सकिने अस्पताल र क्वारेन्टाइनको तयारी गर्ने निर्देशन दिए। सीमा बन्द गरेर ठूला नाकाबाट मात्र आउजाउ गर्ने व्यवस्था गर्नेबारे छलफल भएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले साना नाका बन्द गरेर ठूला मात्र प्रयोग गर्न सकिने विकल्प सुझाए।

परासीका कतिपय स्थानीय तहले तयारी थालेका छन्। प्रदेश ५ मा दर्जनौं नाकाबाट आउजाउ हुन्छ। अहिलेसम्म जम्मा १४ नाकामा सामान्य जाँचको व्यवस्था गरिएको छ। त्यहाँ शंका लागेका बिरामी कहाँ पठाउने कार्यविधि बनाएको छैन।

प्रदेशभरिका अस्पतालमा ४० आइसोलेसन बेड तयार पारिएको छ। बेड तयार भए पनि उपचार गर्दा स्वास्थ्यकर्मीले लगाउने गाउन ४५ वटा मात्र छन्। लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार संक्रमित भेटिए एकै दिन एउटा अस्पतालले ८ वटा गाउन प्रयोग गर्ने छन्। मेडिकल मास्क जम्मा २ हजार मात्र उपलब्ध भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

‘सरकारको निर्देशन मान्नू’

बिहीबार प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाको जोखिम रहेकोले सरकारको निर्देशन मान्न सबैसँग आग्रह गरेका छन्। ‘यस्तो अवस्थामा खेलवाड गर्ने कुराले ठूलो क्षति निम्तिन्छ, सरकारले दिएका निर्देशन पूर्णतः पालना गर्‍यो भने समस्या समाधानमा सहज हुन्छ,’ उनले भने, ‘चीन त्यही कारणले नै यत्ति छिटै कोरोना रोकथाममा सफल भएको हो।’

सरकारले मेला महोत्सव, भीडभाडका कार्यक्रम नगर्न निर्देशन दिएको थियो। तैपनि प्रदेशमा ३ वटा मेला आयोजना भए। ठूलो जमघट हुने कार्यक्रमसमेत नियमित भइरहेका छन्।

बैठकमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद गिरीले कोरोना प्रतिरक्षाभन्दा बजेट खर्चमा ध्यान गएको गुनासो मुख्यमन्त्रीलाई सुनाए। ‘निर्देशनालयमा बजेट छ त्यो बजेट सक्ने हतारो देखिन्छ, तर कोरोनाको रोकथाम तयारीमा कम चासो भयो,’ उनले भने। उनले संक्रमण देखिए आउने जटिलता नियन्त्रण गर्न कुनै तयारी नभएको संकेत गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.