चिकित्सक भन्छन् ‘हामी आफै असुरक्षित छौं’
राजविराज : कोरोना भाइरसबाट जोगिन चौतर्फी सतर्कता अपनाइएको बेला राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका स्वास्थ्यकर्मीहरु आफै असुरक्षित रुपमा काम गर्न बाध्य भएका छन्।
अस्पताल प्रशासनले त्यहाँका कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि मास्कसमेत उपलब्ध नगराउँदा उनीहरु असुरक्षित रुपमा सेवा दिन बाध्य भएका हुन्। चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुले आफुहरु दैनिक जसो सय जनासम्म विरामीको स्वास्थ्य परीक्षण गर्नुपर्ने अवस्था रहेकोले अस्पताल प्रशासनलाई आफुहरुले मास्क माग गरेको तर हालसम्म नपाएको अस्पतालका डा. सरोज कुमार यादवले गुनासो गरे।
खुल्ला सिमानाका कारण सप्तरी जिल्ला कोरोना भाइरसको उच्च जोखिममा रहेको जानकारी दिँदै उनले भने ‘पहिला त हामी स्वास्थ्यकर्मीहरु नै यहाँ सुरक्षित छैनौ, दैनिक भीडभाडमै हामीलाई काम गर्नुपर्छ, कम्तिमा मेडिकेटेड मास्कलगायतका अति आवश्यक सामग्री चाहिएको छ तर बिना मास्ककै हामी काम गरिरहेका छौं।’ आइतबारसम्ममा मास्कको व्यवस्था गर्ने आश्वासन पाएको बताउँदै डा. यादवले आइतबारसम्म पनि आफुहरुलाई मास्कलगायतका अति आवश्यक सामग्री उपलब्ध नभए ज्यान जोखिममा राखेर काम गर्न नसकिने जानकारी दिए। कोरोनो भाइरस आफुहरु असुरक्षित अवस्थामा काम गर्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मीहरुले मास्कको व्यवस्था मिलाउन माग गरेका हुन्।
दैनिकजसो पचास भन्दा बढी विरामी हेर्नुपर्ने अवस्था रहेकोले त्रासदीपूर्ण अवस्थामा आफुहरुले विरामीलाई सेवा दिनुपरेको डा. सरोज कुमार यादवले बताए।
यता अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिलिप कुमार साहले सुध्रिँदै गएको अस्पतालको अवस्था पुनः खस्किन लागेको स्वीकार गर्दै चिकित्सकसहित स्वास्थ्यकर्मीहरुका लागि मास्कको व्यवस्था मिलाउन आफु प्रयासरत रहेको बताए। आफु निमित्तको जिम्मेवारीमा रहेकोले भ्याएसम्म अस्पतालको अवस्था सुधार गर्न भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता छ।
प्रतिक्रिया दिनुहोस !