प्रशासनमा पुस्तान्तरणको बहस
![प्रशासनमा पुस्तान्तरणको बहस](https://annapurnapost.prixacdn.net/media/albums/prashasan-karmachari_20200315044516_kERJIsoz0z.jpg)
अग्रज पुस्ताको योगदानप्रति कृतघ्न हुनु अर्को अन्याय हुन्छ, उनीहरूप्रति कृतज्ञता र वर्तमान पुस्ताका लागि न्याय गरेको कामबाट देखिनु आवश्यक हुन्छ
हिजोआज नेतृत्वको पुस्तान्तरणको बहसले महत्व पाउन थालेको छ। राजनीतिक दलहरूदेखि अन्य संगठनको नेतृत्वमा युवा पुस्तालाई लैजानुपर्छ भन्नेमा समर्थन बढ्दै गएको देखिन्छ। देशको शासन र प्रशासन हाँक्न ‘डल’ प्रशासनको सट्टा फूर्तिलो र जीवन्त प्रशासन दिन यी पुस्ता—बेबी बुमर, एक्सर, मिलेनियल र जनरेसन जेड कुन पुस्ता प्रभावकारी हुन्छ भन्नेमा एकमत छैन र विश्वका उदाहरणसमेत मि िश्रत देखिन्छन्। पुस्ताभन्दा पनि व्यक्तिगत गुणका कारण जुनसुकै पुस्ताका नेतृत्वले पनि चमत्कार गरेका उदाहरण छन्। तैपनि तुलनात्मक रूपमा युवा पुस्ता बढी सफल देखिन्छ।
दार्शनिकहरूका विचारमा पनि मतैक्य देखिँदैन। जे कृष्णमूर्तिले भनेका छन्, ‘युवा र वृद्धमा तात्विक अन्तर छैन, दुवै आफ्ना इच्छा र सन्तुष्टिका दास हुन्। परिपक्वता उमेरसँग सम्बन्धित हुँदैन। यो त समझदारीबाट आउँछ। बुझ्ने र जान्ने उत्कट भावना युवामा हुन्छ। यो होइन कि वृद्धहरू सिक्न सक्दैनन्, उनीहरूका लागि कठिन भने हुन्छ। धेरै वयस्क अपरिपक्व मात्र होइन कि बचकना स्वभावका हुन्छन् र यसैले विश्वमा अन्योल र दुःख बढाइरहेको छ।’ ग्रिक दार्शनिकहरू भने पाको नेतृत्वको पक्षमा देखिन्छन्। प्लेटोको दार्शनिक राजाको विचार यसको उदाहरण हो।
अर्का दार्शनिक सिसेरोले वृद्ध पुस्ताबारे भनेका छन् कि ‘उनीहरू कुद्न र उफ्रिनै काम गर्दैनन् वा टाढाबाट भाला प्रहार गर्दैनन् वा नजिकबाट तरबार प्रहार गर्दैनन्, तर विचार, बुद्धि र विवेकपूर्ण तर्कहरू दिन्छन्।’ रोमन गणतन्त्रमा ‘सेनेक्स’ भन्ने शब्दबाट ‘सिनेट’ को उत्पत्ति भएको मानिन्छ, जसको अर्थ ‘वल्ड म्यान’ भन्ने हुन्छ। नोबेल शान्ति पुरस्कारबाट सम्मानित ग्रामीण बैंकका प्रणेता प्रो. मुहम्मद युनुसका शब्दमा ‘हामी युवालाई र विशेषगरी नयाँ पुस्तामा जोड दिन्छौं किनकि उनीहरूमा प्रविधिमा पहुँचले अहिलेसम्म नभएका सम्भावना प्रचुर देखिन्छ।’ फ्रान्सिस बेकनको शब्दमा ‘उमेर चार चिजमा मात्र राम्रो हुन्छ- पुनाना काठ बाल्न, पुराना वाइन पिउन, पुराना साथी विश्वास गर्न र पुराना लेखकहरूका पढ्न।’
विभिन्न पुस्ताका आआफ्नै विशेषता रहेको मान्यता छ। ‘अक्टो जनरेसन’ आफ्नो विगतप्रति गौरव गर्ने र समयसँगै आफूलाई ढाल्न नसक्ने जिद्दी स्वभावको हुन्छ भनिन्छ। दोस्रो विश्वयुद्धपश्चात् जन्मिएका ‘बेबी बुमर जनरेसन’ भनेको अलिबढी नै सुविधाप्राप्त वर्गमा पर्छ। परम्परागत मूल्यमान्यता अस्वीकार गर्ने उनीहरूको विशेषता भए पनि आफूहरू विशेष पुस्ता भएको घमण्ड गर्ने र बदलिँदो परिवेश तथा प्रविधिअनुरूप आफूलाई बदल्न भने यो पुस्ता त्यति सक्षम छैन भन्ने मानिन्छ।
त्याग, कठिन परि श्रम, नियम तथा अधिकारमा दृढ हुने यस पुस्ताको मुख्य विशेषता मानिन्छ। ‘जनरेसन एक्स’ अघिल्लो पुस्ता ‘बुमर’ ले ‘मिलेनियल’ लाई नजिक मान्नाले अलमलमा परिरहेको देखिन्छ। ‘मिलेनियल जनरेसन’ असीको उत्तरार्धपछि जन्मिएकाहरू हुन्। उनीहरूको विशेषता भनेकै भौतिक मूल्यमा बढी जोड दिने, आत्मकेन्द्रित मनोविज्ञानमा रमाउने, आफ्ना लागि धन, मान र स्थान खोज्ने यस पुस्ताको राम्रो गुण भनेको नयाँ कुरा सिक्ने क्षमतालाई लिने गरिन्छ। ‘जनरेसन जेड’ भर्खर दुई दशक पुगेका हुन्। यो पुस्ता खुला संवाद, सहकार्य र समूहकार्य रुचाउने, नवीन प्रविधि अत्यधिक मन पराउने ‘टेक्निकल स्याभी’ तथा प्रतिस्पर्धी ‘डिजिटल’ पुस्ताका रूपमा आएको छ। पुस्ताका यी सामान्य विशेषता विभिन्न अनुसन्धानको नतिजाका रूपमा आएको छ, तर सबैमा यी पुस्तौली गुण र विशेषता हुन्छ नै भन्न सकिँदैन। हरेक पुस्तामा केही व्यक्ति असाधारण गुणले सम्पन्न भएको पाइएको छ।
राजनीतिमा ‘तन्नेरी सरकार’
हालै केही पश्चिमी देशहरूमा सम्पन्न निर्वाचनका नतिजा हेर्दा नागरिकहरू युवा नेतृत्वतिर आकर्षित हुन थालेको देखिन्छ। फ्रान्समा ३९ वर्षीय इम्यान्युयल म्याक्रोन राष्ट्रपतिमा निर्वाचित हुनुलाई पूरै युरोपियन युनियनमै आश्चर्यका रूपमा चर्चा भएको थियो। फिन्ल्यान्डकी प्रधानमन्त्री सान्डा म्यारिन विश्वकै सबभन्दा कम उमेरकी सरकार प्रमुख हुन्। उनको उमेर ३४ वर्ष मात्र छ। न्युजिल्यान्डकी ३७ वर्षीय प्रधानमन्त्री ज्यासिन्डा आर्देनलाई विश्वकै सबभन्दा कम उमेरकी महिला सरकार प्रमुख भनिन्छ। उनले केही दिनअघि मात्र बच्चाको जन्म दिएकी थिइन्।
त्यस्तै बेल्जियमका प्रधानमन्त्री ३८ वर्षका छन् भने इस्टोनियाका सरकार प्रमुख जुरी रारास ३८, ग्रिसका प्रधानमन्त्री एलेक्सिस सिप्रास ४०, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ४३, जर्जियाका राष्ट्रपति मार्ग्रेलासभिल ४४ वर्षका छन्। हालै सत्ताको केन्द्रमा रहेका साउदी युवराज मोहमद बिन सलमान ३६ वर्षका मात्र छन्। उनको भ्रष्टाचार र राज्यकोषको दुरुपयोग रोक्ने कडा कदमले आफ्नै केही भाइ जेलको कोठरीमा पुर्याएको छ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको उमेर ३० वर्ष मात्र छ, तर उनले लिएका कदम अमेरिकाजस्तो शक्तिशाली राष्ट्र र छिमेकी मुलुकहरू जापान, दक्षिण कोरियासमेतको टाउको दुःखाइ भइरहेको छ। बीसौं शताब्दीका केही चर्चित विश्व नेताहरू पनि युवा उमेरका थिए र युवा जोसका कारण प्रभावकारी शासन कायम गर्न सफल भएका थिए। भारतका राजीव गान्धी ४० वर्ष, पाकिस्तानकी बेनजिर भुट्टो ३५ वर्ष, अमेरिकी पूर्वराष्ट्रपति रुजबेल्ट ४२ र लिबियाका मुहमर गद्दाफी २७ वर्षमा शासनको बागडोर लिन सफल भएका थिए। नेपालमा पनि बीपी कोइराला ४४ वर्षमा प्रधानमन्त्री निर्वाचित भएका थिए, वीरेन्द्र २८ वर्षमा राजा बनेका थिए र महेन्द्र ३५ वर्षमा राजा बनेका थिए। यी सबैले आफ्नो शासनकालमा फरक खालका छाप छाड्न सफल भएका थिए।
अठारौं शताब्दीको उत्तरार्धमा युरोपको इतिहासमा सबभन्दा चर्चित बनेका नेपोलियन बोनापार्टले २७ वर्षको उमेरमा सेनापति बनेका थिए र युद्धको आँधीबेहेरी सिर्जना गरिदिन समर्थ भएका थिए। ३५ वर्षको उमेरमा उनी शासन सत्ता नै आफ्नो हातमा लिन सफल भए र ४० वर्षको उमेरमा उनलाई फ्रान्सको सम्राट्को राज्याभिषेक गरिएको थियो। उनको अदम्य साहस र कुशल नेतृत्वले वीर सेनापतिदेखि सम्राट्सम्म बनायो।
दोस्रो विश्वयुद्धमा संसार हल्लाइदिने एडोल्फ हिटलरले ३४ वर्षको उमेरमै जेलबाट नाजी दलको बाइबल भनिने ‘मेन क्याम्फ’ नामको आत्मकथा लेखेर हलचल मात्र मच्याएनन्, सत्तामा समेत पुगे। राजनीतिबाहेक निजी उद्यमशीलता र प्रशासनिक तथा व्यवस्थाकीय क्षेत्रमा पनि युवा नेतृत्वले चमत्कार गरेको उदाहरण काफी छन्। फेसबुकका मार्क जुकरबर्गले सामाजिक सञ्जालको क्रान्ति ल्याउँदा गधा पच्चीसे उमेरै नाघेका थिएनन्। अहिले उनी ३३ वर्षका छन् र विश्वकै धनाढ्यमा पर्छन्। अमेरिकी बिजनेस पत्रिका फोब्र्सले हालैको प्रकाशनमा विश्वका खर्बपतिमध्ये ४० वर्षमुनिका ५६ जना रहेको देखाएको छ। नेपालमा पनि निजी क्षेत्रका धनाढ्यहरूले युवा उमेरमै प्रगति गरेको प्रशस्त उदाहरण छन्।
प्रशासनमा युवा पुस्ता
सरकारी प्रशासनमा पनि युवालाई नेतृत्व दिँदा हुने फाइदा र बेफाइदाबारे बहस हुन थालेको छ। अफगानिस्तानमा असरफ घानी राष्ट्रपति भएपछि प्रशासनमा युवा नेतृत्वले भर्ने अभियान नै चलाएका छन्। केही अगाडिको अंकमा ‘न्युयोर्क टाइम्स’ ले ‘स्ट्रग्लिङ टु मेक गभर्नमेन्ट योङर’ भन्ने शीर्षक दिएर घानीको प्रयासको चर्चा गरेको छ। घानीले राष्ट्रलाई चाँडो रूपान्तरण गर्न युवा पुस्तालाई नेतृत्व दिनुपर्छ भन्ने मान्यतामा काम गरिरहेका र यसमा पुरानो पुस्ता बाधक बनेको भनेका छन्। तर, यस अभियानमा उनले ‘एलाइट’ शक्तिकेन्द्रलाई मिलाउन नसक्दा समस्यामा फस्दै गएको पत्रिकाको विश्लेषण थियो। सोही पत्रिकाको फेबु्रअरी २४ को प्रकाशनमा ‘नो च्वाइस् वट् टु वेन्ड टु जनरेसन जेड’ शीर्षकको लेखमा अमेरिकी कम्पनीहरू ‘जनरेसन जेड’ भित्याउन उत्सुक रहेको विश्लेषण गरिएको छ। अमेरिकी जहाँ अझ पनि चार प्रतिशत कामदार ८५ वर्ष नाघेकाहरू छन्, त्यहाँका रोजगारदाता ‘मिलेनियल’ हरूले अपेक्षाअनुरूप सेवा नगरेकाले उनीहरूको अबको छनोट ‘जेडर’ हुने अध्ययनले देखाएको छ।
अध्ययनले के पनि देखाएको छ भने यो पुस्ता अतिरिक्त आम्दानीका लागि अर्को काम गर्ने ‘साइड हस्टल्स’ पनि हुन्। अमेरिकामा ५० प्रतिशत ‘जेडर’ हरू अन्यत्र पनि काम गरिरहेको देखिएको छ। नेपालमा पनि २००७ को परिवर्तनपश्चात् मन्त्रालयका सचिवहरू नियुक्ति गर्दा राणाहरूका भागमा परेका मन्त्रालयहरूमा सेनाका जर्नेलहरू ल्याइए पनि नेपाली कांग्रेसले २५ देखि ३० वर्ष उमेरका शिक्षित युवा प्रद्युम्नलाल राजभण्डारी, कुलशेखर शर्मा, प्रेमनरसिंह प्रधान, हिमालयशमशेर राणा आदिलाई सचिवमा नियुक्ति दिइएको थियो। यी प्रशासकको नाम अहिलेसम्म पनि प्रशासनिक समाजमा आदरपूर्वक लिइन्छ। कपाल फुलाएकाले भन्दा यी युवाहरूले कुशलतापूर्वक प्रशासनको जग बसाएको मानिन्छ।
प्रशासनमा ‘कल्चर क्ल्यास’
नेपालको प्रशासनमा अहिले चार फरक पुस्ता काम गरिरहेको स्थिति छ। केही उच्च पदहरूमा अझ पनि ‘बेवी बुमर’ हरूको कब्जा देखिन्छ। प्रशासनलाई राजनीतिक नेतृत्व दिनेहरूमा भने पूरै ‘बुमर’ को हालीमुहाली देखिन्छ। दलहरू र सरकारको नेतृत्व गर्नेहरूको उमेर ७० वर्षको वरिपरि हुनु यसको उदाहरण हो। प्रशासनमा यसले बहुपुस्ताको विविधता व्यवस्थापन गर्नु आवश्यक देखिन्छ। यसबाहेक बहुपुस्ताबीचको फरक-फरक संस्कृतिको द्वन्द्व र टकरावको वातावरण बन्दै गएको देखिन्छ। एकातिर ई-मेल अभ्यास पनि पछि मात्र गर्न पाएका पुस्ता ‘बेवी बुमर’ र ल्यान्डलाइन टेलिफोन नै नचलाएका ‘जनरेसन जेड’ र शब्दमा भन्दा संकेत (सिम्बोल) मा जवाफ दिने ‘मिलेनियल’ हरू एउटै संगठनमा सँगै काम गर्दैछन्।
‘जेडर’ हरू उमेरको कारण कम संख्यामा प्रशासनमा प्रवेश गरे पनि केही वर्षमा उनीहरू ठूलो संख्यामा प्रवेश हुने निश्चित छ। सोचाइ शैली र व्यवहारमा ठूलो अन्तर देखिने यी पुस्ताहरूको अन्तरघुलनबाट सुरुमा असहज स्थिति सिर्जना हुने सम्भावना रहे पनि केही पछि ‘न्युट्रल जोन’ र त्यसपछि नयाँ कार्यसंस्कृतिको निर्माण हुन जान्छ। विविधता व्यवस्थापनमा कुशलता देखाइयो भने यो नयाँ संस्कृतिले पुरानो प्रशासनिक यथास्थितिवादी, मध्यममार्गी र जड संस्कृतिलाई विस्थापित गर्न सक्छ, जसबाट सेवाग्राहीमैत्री कार्यशैली स्थापित हुन पनि सक्छ। नेपालको प्रशासनमा अहिले सबभन्दा बढी प्रभुत्व ‘जनरेसन एक्स’ को रहेको छ। ५० वर्ष लगभग उमेरकाहरूले अधिकांश निकायको नेतृत्व गरिरहेको देखिन्छ। नवप्रवेशीहरू अधिकांश ‘मिलेनियल’ हरू छन्। लोकसेवा आयोगले लिएको परीक्षामा सफल हुनेहरूको औसत उमेर २७ वर्ष देखिएको छ। यसबाट यी दुई पुस्ताको प्रशासनमा केही वर्ष प्रभुत्व रहने निश्चित छ। तर, यी दुई पुस्ताको विचार नमिल्ने र राजनीतिक नेतृत्वका ‘बुमर’ हरूसँग लय मिलाउन नसक्दा प्रशासन कमजोर हुँदै गएको छ।
दुवै पुस्ताको संस्कार नागरिकमैत्री देखिएको छैन। बढी आशा गरिएका नवप्रवेशीहरू आत्मकेन्द्रित भइदिँदा व्यक्तिगत स्वार्थले सार्वजनिक स्वार्थलाई विस्थापित गर्दै गएको देखिन्छ। नयाँ जोसका साथ सेवा प्रवेश गर्नेहरूको महत्वाकांक्षाले भ्रष्टाचार बढ्दै गएको छ। केहीअघि मात्र प्रवेश गरेकाहरू भटाभट भ्रष्टाचारमा समातिनु दुःखद स्थिति हो र यसमा सुधार गर्नुभन्दा अझ दुस्साहस गर्ने ‘जुवाडे’ प्रवृत्ति बढ्दै गएको छ। नवप्रवेशी ‘मिलेनियल’ हरूले आफ्नो प्राविधिक ज्ञानले सेवा प्रवाहलाई प्रभावकारी बनाउन लगाउनुपर्छ। यो पुस्तालाई सकारात्मक सोच, रचनात्मक अनुशासन र नैतिकताको प्रशिक्षण दिन आवश्यक छ। उनीहरूमा सामाजिक सेवाभाव जगाउन सकिएन भने पुरानो पुस्ताभन्दा नराम्रो हुने सम्भावना देखिन्छ। अब आशा ‘फिजिटिकल’ भनिने ‘जनरेसन जेड’ को छ’।
शासन-प्रशासनमा ‘जेरेन्टोक्रेसी’ ठीक कि ‘योङ्गर गभर्नमेन्ट’ भन्ने बौद्धिक बहसको विषय मात्र नभई राजनीतिक र व्यवस्थापकीय प्रवर्तनको विषयसमेत बन्दै गएको छ। पुरानो पुस्ताका पक्षधर कुनै पनि पुस्ताको कामलाई सामान्यीकरण गर्न नसकिने हुँदा केही अपवादलाई आधार मान्नु उपयुक्त नहुने तर्क दिन्छन्। नेल्सन मन्डेला र भारतको पश्चिम बंगालका ज्योति बसुको कुशल प्रशासनलाई उदाहरण दिएर यस्तो तर्कलाई पुष्टि गर्न खोजिन्छ। नेपालमा पनि यो बहसले व्यवस्थित रूपमा भन्दा अनौपचारिक रूपमा स्थान पाउन थालेको देखिन्छ। अहिले युवा पुस्ताको माग भइरहेकोमा यो क्रमशः बढ्दै गएमा यसले संगठित विचारको आकार ग्रहण गर्न सक्छ।
के युवाको ऊर्जा सडकमा ढुंगा हान्न र तोडफोड गर्नका लागि मात्र हो ? के युवाहरूको उर्वर उमेर विदेशमा ‘थ्रिडी’ काममा बर्बाद गर्न हो ? यी प्रश्न नीतिनिर्माताका लागि यक्षप्रश्न बन्दै गएका छन्। युवाको नेतृत्वको ‘तन्नेरी सरकार’ बनेमा पक्कै फरक शैलीमा काम गर्नेछ, तर यसले चमत्कार नै गर्छ भन्ने कुनै निश्चितता भने छैन। यसका लागि यस पुस्ताले आफूलाई अब्बल सावित गर्न भने सक्नुपर्छ। नेपोलियनका गुरुले उनको बारेमा भनेका थिए, ‘यो केटो ग्रेनाइटले बनेको छ र यसभित्र ज्वालामुखी छ।’ नेपोलियनले आफ्नी आमालाई लेखेको चिठीमा भनेका थिए, ‘कामभन्दा अतिरिक्त मेरा अरू साथी छैनन्, म १० बजे सुत्छु र चार बजे उठ्छु। म दिनमा एकपटक मात्र एक बजे खान्छु।’
माथिका नेपोलियनसम्बन्धी दुई उद्धरण युवा पुस्ताका लागि मन्त्र बन्न सक्नुपर्छ। युवा उमेरले मात्र हुन सकिँदैन, जोस, जाँगर र साहस पनि हुनुपर्छ। यसबाहेक नवीन र सिर्जनात्मक सोच भएन भने समाजमा रूपान्तरण ल्याउन सम्भव हुँदैन। यो पुस्ता न ‘जोखिम पन्छाउने (रिस्क एभर्टर)’ हुन मिल्छ न त जे पनि गर्ने ‘जुवाडे (ग्याम्बलर)’ हुन सक्छ। परिवर्तनकामी र रचनात्मक तनाव लिने युवा नेतृत्व आयो भने नसोचेको परिवर्तन हुन सम्भव छ। यसका लागि जुन कामको नेतृत्वमा उनीहरू पुग्छन्, त्यसमा देखिने सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ। नेतृत्व कुनै काम सहीरूपमा गरेर होइन कि सही काम गरेमा मात्र सफल हुन्छ भन्ने बुझ्न जरुरी छ। युवा जोस र उत्साहका कुरा गर्दा अग्रज पुस्ताको योगदानप्रति कृतघ्न हुनु पनि अर्को अन्याय हुन्छ। उनीहरूप्रति कृतज्ञता र वर्तमान पुस्ताका लागि न्याय गरेको कामबाट देखिनु आवश्यक हुन्छ। यसो हुन सक्यो भने नेतृत्व कसैले दिनु नै पर्दैन। समय-सन्दर्भले नै नेतृत्व यो पुस्तामा आउने निश्चित नै छ। समयले युवा पुस्ताको परीक्षण गर्दै छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)