पोखरामा हावाहुरी र असिना-पानी, हिउँदे बालीमा क्षति
पोखरा : पोखरा महानगरपालिकामा पटक पटक परेको असिना पानीका कारण किसान मर्कामा परेका छन् ।
पोखरा २२ पुम्दीभुम्दी, तेस्रोलेक, पोखरा २१ उल्लेरी लगायत स्थानमा शनिबार राति आएको ठूलो असिनापानी र हावाहुरीले हिउँदे बाली नोक्सान गरेको छ । पोखरा महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखाको प्रमुख मनहर कडरियाका अनुसार असिना पानीले थन्क्याउन ठिक्क पारेको तोरी नोक्सान भएको छ ।
प्रगतिशील कृषि समूह उल्लेरी पुम्दीका अध्यक्ष प्रेम शर्मा पौडेलका अनुसार साग, काउँली, बन्दा, बकुल्ला, केराउ, लसुन, प्याज लगायतका तरकारी बालीमा ठूलो नोक्सान भएको छ । रातको ११ बजेर ३० मिनेट जाँदादेखि असिना पानी, हावाहुरी र चट्याङ आएको थियो । बिहान उठ्दा असिनाको खातले बारीका तरकारी, तोरी बारी सखाप पारेको स्थानीय दुर्गा कुमारी गुरुङले बताइन् ।
१० दिनअघि पोखरा १८ तोरीपानी, खपौदी, पदेली लगायत क्षेत्रमा किसानले लगाएको काउली, बन्दा, लसुन, प्याज लगायत तरकारी र पाकेर छिन्ने बेलाको तारी, उवाँ लगात अन्नबाली नोक्सान पुर्याएको थियो ।
यसअघि पनि पोखरा २२ पुम्दीमा २ करोड बढीको तरकारी बाली र अन्नमा असिनाले क्षति पुर्याएको महानगरपालिकाका कृषि तथा पशु विकास महाशाखा प्रमुख कडरियाले जानकारी दिए । कृषि विमा गर्दा दर्ता भएका कृषि फर्म र सहकारीलाई ७५ प्रतिशतसम्म महानगरपालिकाले अनुदान दिने पनि कडरियाले बताए ।

प्रतिक्रिया दिनुहोस !