कतारबाट आएका युवा बिरामी भएपछि विराटनगर लगियो : तीन जना क्वारेन्टाइनमा
राजविराज : सप्तरीमा कतारबाट आएका युवा बिरामी भएपछि विराटनगर लगिएको छ। कतारबाट चैत ८ गते नेपाल आएका सुरुङ्गा नगरपालिका-८ का एक युवालाई रुघाखोकी र लगातार ज्वरो आएपछि उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको वडा अध्यक्ष इनरदेव चौधरीले बताए।
तीन जना क्वारेन्टाइनमा
सप्तरीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो।
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका-१ डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका १ गरी तीन जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले बताए। हनुमाननगर र पातोका दुबै जनाले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चेकजाँच गराएका थिए। जसमध्ये हनुमाननगरका व्यक्तिलाई कोरोनाको कुनै लक्षण नदेखिएपछि होम क्वारेन्टाइनमा पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए।
त्यस्तै पखालाको समस्या देखिएका पातोका एक जनालाई पखाला ठिक भएपछि होम क्वारेन्टाइनमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले बताए। सोमबार भारतीय नाका कुनौलीबाट नेपाल प्रवेश गरेका एक व्यक्तिलाई तिलाठी कोइलाडी गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको यादवले जानकारी दिए।
यसैबीच बिहान ६ बजेदेखि लकडाउन गरिएपछि सेना परिचालन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !