‘लकडाउन’ पालना गर्न विदेशीको सुझाव

‘लकडाउन’ पालना गर्न विदेशीको सुझाव

काठमाडौै : नेपालस्थित कूटनीतिक समुदायले सरकारको लकडाउनलाई साथ दिँदै सतर्कताका लागि आवश्यक कदम भनेका छन् । सरकारले चालेको कदममा सबैले साथ दिनुपर्ने उनीहरूको सुझाव छ । केही ठाउँमा लकडाउन उल्लंघन गरेको समाचार आएपछि उनीहरूले नेपालीलाई त्यस्तो सुझाव दिएका हुन् ।

कोरोना आक्रान्त मुलुकका राजदूतले सतर्कता अपनाउन ढिलाइ गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले अघिल्लो सातादेखि नै घरबाटै आफ्नो काम गर्दै आएका थिए । केही राजदूतले दूतावासको सामाजिक सञ्जालमार्फत् सरकारको कदम राम्रो भन्दै जनताले धैर्यपूर्वक लकडाउनमा घरभित्र रहन सुझाव दिएका छन् । कतिपय दूतावासका अधिकारीले आफूहरू नेपालमा नै सुरक्षित भनिरहेका भए पनि यहाँ संक्रमण देखिन थालेपछि असहज अनुभूति भएको बताए ।

राजदूत र कूटनीतिक समुदायलाई सरकारले आउजाउमा रोक लगाएको छैन । तर, उनीहरू आफैं सचेत बनेका छन् । उनीहरूले यहींबाट आफ्नो मुलुकको भयावह अवस्थाको आकलन गरिरहेका छन् र यहाँ त्यस्तो स्थिति नआओस् भन्ने चाहना राखेका छन् । ‘पत्रपत्रिका र पुस्तक मात्र होइन कुनै सामान ल्याएको छ भने त्यो तत्काल छुने चलाउने गरिएको छैन,’ एक पश्चिमा कूटनीतिज्ञले भने, ‘म बाहिर ननिस्केको एक साता भैसकेको छ । घरमा बस्ने कार्यालयको काम गर्ने, बिहान व्यायाम गर्ने, फोनमा गफ गर्ने, सामाजिक सञ्जाल हेर्ने, बच्चालाई समय दिएर व्यतित गरिरहेको छु । पुस्तक पढ्ने गरेको छु ।’

चिनियाँ राजदूत होऊ यान्छीले ट्विटरमा नेपालले लकडाउन घोषणा गरेलगत्तै चीन नेपालको साथमा रहेको बताएकी थिइन् । उनले पनि दूतावासका कर्मचारीलाई घरबाटै काम गर्न लगाएकी छन् । छिमेकी भारतले पनि सम्पर्कमा आउन नपर्ने कामका लागि दूतावासमा नआउन यसअघि नै भनिसकेको थियो । कतिपय काम इन्टरनेटबाटै गर्दै आएको थियो । अमेरिकाले पनि नेपालको साथमा रहेको भन्दै सघाउने बताएको छ । छिमेकी भारतले आवश्यक सामाग्री नेपाललाई उपलब्ध गराउने भन्दै साथ रहेको जनाएको छ । बेलायत, जापान, जर्मनी र युरोपेली महासंघ (ईयू)का राजदूतले पनि सरकारलाई साथ र सहयोगको आड भरोसा दिएका छन् ।

भारत र चीनसँग नेपालले औपचारिक तवरबाट नै संक्रमण नियन्त्रणका लागि सहयोग मागिसकेको छ । चीनको हुपई प्रान्तको वुहानबाट विश्वभरि फैलिएको यो महामारीको चपेटामा परेका इटाली र स्पेनबाहेक अन्य मुलुकका दूतावास काठमाडौंमा छन् । ती दूतावासका अधिकारीले सरकारलाई खाद्यान्न किन्न र व्यवस्थापन गर्न चुक्न नहुने सुझाव दिएका छन् । गाँउमा रहनेलाई त्यसको ठूलो समस्या नभए पनि काठमाडौं जस्ता सहरवासीलाई कठिन हुने भन्दै सचेत हुन आग्रह गरिरहेका छन् । विशेषगरि कूटनीतिक समुदायले पानीको व्यवस्था चुनौति पूर्ण हुनसक्ने भन्दै सरकारसँग व्यवस्थापनबारे चासो राखिरहेका छन् ।

राजदूतसँग भिडियो कन्फरेन्स

सरकारले मलेसिया, जापान, दक्षिण कोरिया, इजरायल र दक्षिण अफ्रिकाको वर्तमान स्थिति र त्यहाँका नेपालीलाई परेको मर्काबारे जानकारी लिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले संयुक्त भिडियो कन्फरेन्समार्फत् बुधबार स्थिति बुझेका हुन् ।

संक्रमणको स्थिति, ती मुलुकमा रहेका नेपालीको अवस्था, संक्रमणले अर्थव्यवस्थामा पार्नसक्ने असर तथा नेपालीको रोजगारीमा पर्ने सम्भावित प्रभावलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । छलफलमा नियोग प्रमुखले दूतावास रहेका र अन्य मुलुकमा भएको संक्रमणको अवस्था, त्यहाँको सरकारले संक्रमण नियन्त्रण गर्न चालेका कदम, नेपालीको अवस्था, दूतावासले दिइरहेका सेवाबारे जानकारी गराएका थिए ।

सरकारले नियोग प्रमुखलाई संक्रमणसम्बन्धी नियमित प्रतिवेदन गर्ने, नेपालीको स्वास्थ्य, सुरक्षा तथा रोजगार सम्बन्धमा रोजगारदाता कम्पनी तथा त्यहाँको सरकारसँग निकट सम्पर्कमा रहन पनि निर्देशन दिएको छ । नेपाली समुदाय र दूतावास संक्रमणबारे सचेत रहन, सुरक्षाका उपाय अवलम्बन गर्न पनि उनीहरूलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले अहिलेको संवेदनशील र अप्ठ्यारो परिस्थितिमा विदेशमा रहेका नेपालीले दूतावासमाथि ठूलो भरोसा राखेकाले त्यहाँको सरकार एवं रोजगारदातासँग समन्वय गरेर समस्या र चुनौती सामना गर्न निर्देशन दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.