मजदुरलाई खाद्यान्न वितरण गर्दै नगरपालिका
डडेल्धुरा : अमरगढी नगरपालिकाले दैनिक मजदुरी गरी घर गुजारा गर्ने मजदुर परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ। उनीहरुलाई खाद्यान्न अभाव हुन थालेपछि डडेल्धुरा अमरगढी नगरपालिका ३ का वडाअध्यक्षले वडामा रहेका ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्न सुरु गरेका हुन् ।
लकडाउनका कारण दैनिक ज्यालादारी गर्न नपाएपछि छाक टार्न समस्या भएपछि वडाले वितरण गरेको खाद्यान्न लगेर गुजारा गरिरहेका वडा नं ३ का मजदुर प्रमिला सार्कीले बताइन् । 'लकडाउन नहुँदा दैनिक मजदुरी गरी खाद्यान्न ल्याएर परिवारको गुजारा गर्थे,अहिले काम पनि बन्द भयो,उनले भनिन्, ' छाकटार्न समस्या भएपछि वडाले दिएको राहत बुझेकी हुँ।'
प्रमिलाजस्तै डडेल्धुरामा दैनिक ज्यालादारी गरी परिवारको हातमुख जोड्नेको संख्या पनि धेरै छ । दैनिक ज्यालादारिबाट पाँच सयदेखि ८ सयसम्म कमाउने महिला अहिले घरमै थन्किनुपर्दा चिन्तामा छन्।
उनीहरुलाई काम गर्ने सहज वतावरण नहुन्जेलसम्म ज्यालादारी गरी परिवारको हातमुख जोड्ने मजदुर परिवारलाई अमरगढी नगरपालिकाले खाद्यान्न वितरण गरेको हो। अमरगढी ३ का अध्यक्ष गोविन्द राज बोहराले वडामा रहेका पाँचदेखि सात परिवारका मानिसलाई खाद्यान्न वितरण गरेको बताए।
ज्यालादारीको पहिचान गरेर लकडाउन अवधिभरका लागि आवश्यक पर्ने चामल, दाल, तेल, नुन दिएको वडा अध्यक्ष बोहराले बताए । अध्यक्ष बोहराले भने,'लकडाउनका कारण ज्यालादारीका काम बन्द छन्, ज्यालादारी गर्ने मानिसको चुलो बल्नै छोडेपछि वडा कार्यालयले राहत प्याकेज बनाई खाद्यान्न वितरण गरेको हो ।'
पहिलो दिन एक परिवारलाई २५ किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन दिइएको वडा कार्यालयले जनाएको छ । वडा भरीमा करिब एक दर्जन जति ज्यालादारी मदजुर रहेको अनुमान गरिएको भएपनि एकिन तथ्याङ्क आएपछि मात्रै थाहा हुने अध्यक्ष बोहराले बताए । वडा कार्यालयको सिफारीसमा गाउँमा रहेका केही निश्चित पसलबाट खाद्यान्न लग्न सकिने व्यवस्थापन गरिएको छ ।
त्यस्तै अजयमेरु गाउँपालिकाले पनि मजदुरी गर्ने र विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्ने जनाएको छ। खाद्यका लागि समस्या भए सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी लैजान सर्वसधारणलाई सूचित गरिएको गाउँपालिका अधक्ष उमेशप्रसाद भट्ट विकासले बताए ।
कोरोना भाइरस आशंकामा बिरामीलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरी उनीहरुलाई खानको समेत बन्दोबस्त गरिएको अजयमेरु १ का वार्ड अध्यक्ष दत्तिसिहं भण्डारीले बताए ।
गाउँगाउँमा रहेका विद्यालयमा बाहिरबाट आएका व्यक्तिलाई बस्न र खानका लागि छुट्टै व्यवस्था गरिएको भएपनि कोही पनि बस्न नमानेको र उनीहरुले आफ्नै घरमा छुट्टै बस्दै आएको अध्यक्षको भनाई छ । अजयमेरु गाउँपालिकामा १५५ जना भारतबाट भित्रिएका छन् । ती सबै होम क्वारेन्टाइनमा बसेको जनाइएको छ ।
डडेल्धुरामा करिब पाँच हजार जना भारतबाट फर्किएका छन् । परशुराम नगरपालिकाले त्रिवेणी बहुमुखी क्याम्पसमा बनाएको क्वारेन्टन्टाइनबाहेक अन्य स्थानमा मानिस बस्न मानिरहेका छैनन्।
प्रतिक्रिया दिनुहोस !