विदेशबाट फर्किएका ७ जना क्वारेन्टाइनमा
राजविराज : सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको फिभर क्लिनिकमा जाँच भएकाहरुमध्ये विदेशबाट आएका सात जनालाई शुक्रबार क्वारेन्टाइनमा पठाएको छ। भारतको मुम्बइबाट गत चैत्र ४ गते घर फर्किएका डाक्नेश्वरी नगरपालिकाका ४ जना, कतारबाट आएका महदेवा गाउँपालिकाका एक जना र कतारबाटै चैत्र ७ गते घर आइपुगेका खडक नगरपालिकाका २ जनालाई क्वारेन्टाइनमा राखिएको हो।
उनीहरुलाई फिभर क्लिनिकमा जाँच पश्चात निगरानीमा राख्नका लागि सम्बन्धित स्थानीय तहमा स्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए।
चैत्र ९ गतेदेखि सञ्चालन गरिएको फिभर क्लिनिकमा हालसम्म ८६ जनाको जाँच गरिएको छ। यता स्वास्थ्य कार्यालयको तथ्यांकनुसार विभिन्न क्वारेन्टाइनमा हालसम्म ७ महिला र ९४ जना पुरुष सहित १०१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस !