आइसोलेसनको ९६ घण्टा :  'रोगलेभन्दा आफन्तको व्यवहार र समाजको विभेदले गलायो'

आइसोलेसनको ९६ घण्टा :  'रोगलेभन्दा आफन्तको व्यवहार र समाजको विभेदले गलायो'

बागलुङ : मुलपानीका तेजबहादुर जिसी भारतको पटनामा रोजिरोटीका लागि काम गर्छन् । लामो समयदेखि प्राइभेट कम्पनीमा काम गर्दै आएका जिसी अघिल्लो साता छुट्टी मनाउन घर आए । तर उनकै शब्दमा भन्दा‘भूतले खाजा खाने समय’अर्थात शंकटको समयमा आए । पटनादेखि नेपालका घर गाउँसम्म कोरोना संक्रमणको सन्त्रास व्याप्त बन्दै गएको थियो । यसको प्रत्यक्ष परोक्ष शिकार आफू पनि भएको जिसी बताउँछन् ।  

'मलाई पहिलेदेखि नै टन्सिलको समस्या थियो । राति बसमा घर आइपुग्दा चिसोले घाटी ठप्पै भयो । गत चैत्र १० मा सामान्य ज्वरो आएपछि धौलागिरी अञ्चल अस्पताल आएँ । डाक्टरले तपाईं कतै बाहिरबाट आउनु भएको थियो ? भन्न् प्रश्न गरे ,’उनले भने । उनले भारतको पटनाबाट आएको जवाफ दिए । 

पटनामा पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रममा भएको र कोरोनासँग लक्षण पनि मिल्ने देखिएकाले स्वाब परीक्षणका लागि काठमाडौं पठाउने चिकित्सकले बताए । रिपोर्ट नआउनजेल अस्पतालकै आइसोलेसन कक्षमा बस्नुपर्‍यो। 

जिसी लामो श्वास फेर्छन् र भन्छन्,‘जीवनमा यति डरलाग्दो, कहाली लाग्दो पल पहिलो पटक बेहोरें । त्यो भयानकताबारे म शब्दमा भन्न सक्दिनँ ।’ आइसोलेसनका ९६ घण्टामा सबैभन्दा बढी पीडा आफन्तबाटै झेलेको उनको अनुभव छ । ‘यसबेला रोगलेभन्दा पनि मान्छेलाई रोकतोक र भेदभावले गलाउँदो रहेछ । आफन्तको व्यवहार, समाजको हेराइ र विभेदले मान्छेलाई शरीर जिउँदो जस्तो लागे पनि मृत्युको सन्निकट पुगिसकेको अनुभुति गराउँदो रहेछ,’ उनले सकसपूर्ण घडीको फेहरिस्त सुनाए,‘अस्पतालको आइशोलेसन कक्षमा विताएका चार दिनभन्दा यो कठिन क्षणमा यो समाजले सिकाएको पाठ जिन्दगीभर अविस्मरणीय हुनेछ । अस्पतालको त्यो एउटा कोठा जसका भित्ताहरू मात्र चार दिन मेरा साथी बने ।'

 त्यस्तो अवस्थामा परिवार र निकटका केही दाजुभाइ बाहेक अरुको साथ नमिल्ने उनले बतए । उनले अस्पतालको कोठाबाट परिवारका सदस्यलाई भनेको थिए,‘मलाई कोरोना लागेको छैन, टन्सिल भएको हो । डाक्टरको सल्लाहअनुसार यदी त्यस्तो केही भइहाल्यो भने पनि अरुलाई संक्रमणबाट बचाउनुपर्छ भनेर सुरक्षित बसेको हुँ, मेरो चिन्ता नलिनु ।’ 

बागलुङ नगरपालिका–८ सिगानाको कोरिखोलामा जिसीका बुवा आमा बस्छन् । जिसी र उनको परिवार भने बागलुङ नगरपालिका–७ मुलपानी बस्दै आएका छन् । भारतबाट फर्किएपछि बाआमा भेट्न कोरिखोला पनि पुगेका थिए । आफूलाई अस्पतालमा आइसोलेसनमा राखिएको छ भनेर कोरिखोला र चनौटेको घर आसपासमा आवत जावत नै बन्द भएछ । 

१३ गते उनको घरमा श्राद्ध थियो । 'मलाई आइसोलेसनमा राखेको थाहा पाएर पण्डितले श्राद्ध गराउन मान्नुभएनछ । हाम्रो घरमै आउनुभएनछ । यता मेरो परिवार बसेको ठाउँमा छिमेकी, दाजुभाइ पनि घरमा आउनुभएनछ', जिसी भावुक मुद्रामा भन्छन्,‘अहिलेको अवस्थामा सचेत हुनु त राम्रो कुरा हो, तर आफन्त, दाजभाइले अप्ठ्यारो संकटमा गुमनाम जस्तो भएर साथ नदिनु राम्रो होइन, यस्तो बेलामा त टाढैबाट गर्ने एक भेट या एक कल फोनले पनि कोरोनासँग लड्ने ठूलो उर्जा दिन सक्छ । बाँच्ने साहस दिन सक्छ ।’

उनी भन्दै गए, ‘बिहीबार स्वस्थ रहेको र कोरोना संक्रमण नभएको पुष्टि भएपछि घर आएँ । परिवारका सदस्य नयाँ जीवन पाएर आएको जस्तो गरी खुशी भए । सायद खुशीको दुई अर्थ थियो । एक मलाई कोरोना नभएकोमा, अर्को मेरा कारण उनीहरुलाई  नसरेको र आफू सुरक्षित रहेकोमा ।'

स्वाबको रिपोर्ट नेगेटिभ आएर घर फर्किए पनि गाउँले उनलाई देखेर झस्किरहेको, तर्सिएको जस्तो गर्न भने नछाडेको उनी बताउँछन् । ' गाउँले मलाई देखेर तर्सिएर भागिरहेका छन् । यसले समाजमा कति भयावहको मनोविज्ञान तयार भइरहेको छ भन्ने देखाएको छ’, उनी थप्छन्, ‘यो सबैका लागि कठिन समय हो । हर मान्छे आँफू सचेत हुनु राम्रो कुरा हो । तर, पीडामा भेदभावयुक्त व्यवहारले थप पीडा नदिऔं । सकिन्छ शंकास्पद र संक्रमण भएका बिरामीलाई उर्जा र साथको अनुभूति गराउ र मनोबलमा ठेस पुग्ने व्यवहार र गतिविधि नगरौँ।’

उनी स्वास्थ्यकर्मीकर्मीको असल व्यवहारप्रति धन्यबाद प्रकट गर्दै भन्छन्, 'अहिले मन्दिर, चर्च, गुम्बा सबै बन्द छन् । भगवान खोज्न कतै जानै पर्दैन रहेछ । मलाई अस्पताल पुगेर फर्किँदा साक्षात भगवानको दर्शन पाएको अनुभव भयो स्वास्थ्यकर्मीबाट । मेरो स्वास्थ्य उपचारमा प्रयाप्त सुरक्षा बिनाको खटाइ, हौसला, राम्रो व्यवहार र माया । यस्तो भयभित क्षणमा उनीहरूको त्यो व्यवहार र माया सम्झँदा मन भावुक भएर आउँछ । सबै स्वास्थ्यकर्मीलाई धन्यवाद ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.