घुमन्ते जीवन ठप्प
जनकपुर : चैतको उराठ लाग्दो हावाहुरीसँगै चर्को लाग्ने घाम र लकडाउन पछिको त्यो सुनसान जनकपुरस्थित बाह्रबिघा मैदानको दक्षिण–पश्चिम कुनामा लहरै दशवटा अस्थायी प्लास्टिकको ओडार लागिरहेको छ। एउटै पण्डाल मुनि ६–७ जनाको दरले स–साना नानीदेखि बयोवृद्ध र वयस्क उकुस–मुकुस्स भएर ३५ डिग्रीको घाममा ओडारभित्र बसिरहेका छन्।
भारतको महाराष्ट्र अकौला जिल्लाका ८ परिवारका ३१ सदस्य ‘लकडाउन’ पछि अलपत्र परेका छन्। माटोको गिलास, कप, प्लेटलगायत भाँडाको व्यापार गरेर गुजारा गर्दै आएका घुमन्तेहरू एकठाउँबाट अर्को ठाउँमा जानसमेत प्रहरीले रोकेपछि थप समस्यामा परेका छन्। प्लास्टिकको ओडारमा तीन बच्चा र पत्नीसहित बस्दै आएका ३५ वर्षीय कृपाल भोसलेले बस्न, खान र पानीको समस्या भएको बताए।
उनले भने, ‘हामी यहाँ न घुम्न आएका हौं, न त रमाइलो गर्न नै तर के गर्नु बालबच्चाको पेट पाल्न वर्षभरि भौतारिनुपर्छ, तै पनि खान लाउन धौ–धौ हुन्छ।’ घुमन्ते व्यापार गर्ने क्रममा भारत जान लागेका कृपाल भोसलेले ‘लकडाउन’पछि बन्दका कारण समस्यामा परेको बताए। उनले भने, ‘हामीलाई हेर्ने कोही छैन, जसरी पनि जीवन जिउनुछ। जेनतेन बाँचिरहेका छौं।’
पाँच दिनअघि एक मोटरसाइकलले छोरीको खुट्टामा ठोकेर घाउँ लागेको र पैसा नुहँदा उपचार गराउन पनि नसकेको दुःख व्यक्त गरे। प्लास्टिकको ओडारभित्र चर्को घाम सहन कठिनाइ भएको बताउँदै ५५ वर्षीय कैलाश भोषलेले भने, ‘अहिले त जसोतसो बसेका छौं तर पानी परेपछि हामी कहाँ जाने भन्ने चिन्ता छ। यो बन्दी कहिले सम्मरहन्छ बजरा खुलेको भए व्यपार गरेर केही रकम आम्दानी गर्न पाए घर फर्किने सोँचे छ कैलाशको। ओडारमा चिउरा र नुन खाँदै भेटिएका ३५ वर्षीय राजकुमार वासुदेव फुवारलाई घरमा छाडेर आएका ३ छोरीहरूको चिन्ताले सताएको छ। उनले भने, ‘म जुनसुकै अवस्थामा भए पनि घरमा छोरीहरू कुन अवस्थामा छन्, महामारीको सबैतिर त्रास छ, उनीहरूले कसरी खाएका छन् भन्ने चिन्ताले निद्रा नै लागेको छैन।’
परिवारका सबै सदस्यसँगै ठाँउठाउँमा घुमेर भाडा बर्तन बेच्दै आएका उनीहरू एक स्थानमा बढीमा २ महिनासम्म बस्ने गरेका छन्। यसरी नै आफ्नौ दैनिकी चलाउने गरेको वृद्ध कैलाश शोलङखेले बताए। आफूहरूको जनसंख्या ठूलो भए पनि जनकपुरमा ६ जनाको परिवार रहेको सुनाए।
प्रतिक्रिया दिनुहोस !