गाउँमा लक डाउन : सडकमै बार र पोस्टर
ओखलढुंगा : लक डाउनका समयमा सवारी सञ्चालन नरोकिएपछि स्थानीयले आफैँ सडक बन्द गराएर लक डाउन कार्यन्वयनमा उत्रिएका छन्। मोलुङ गाउँपालिका- १ कुन्तादेवीका स्थानीयले ओखलढुंगा कुन्तादेवी कटुञ्जे सडकमा बार लगाएर पास लिएका सवारीबाहेक अरुलाई प्रवेशमा रोक लगाएका छन्।
शंकास्पद व्यक्ति र सवारी साँझ बिहान आउने भएकाले कोरोना भाइरसबारे सचेतना जगाउने र लक डाउन गरिएका सूचना बारमा टाँसेर बार लगाएका हुन्। गाउँमा कोरोना सर्ने त्रास भएका कारण सडक बन्द गर्नुपरेको मोलुङ -१ का स्थानीय सञ्जय खत्रीले बताए। युवाहरुले अत्यावश्यक सवारी छिर्नेगरी सडकमा बार बारेका छन्।
लकडाउन अवज्ञा गरी अनावश्यक सवारी साधन चलाउने क्रम नरोकिएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको अर्का स्थानीय युवा कमल बानियाँले बताए। ‘हामी अब कुनैपनि हालतमा गाउँ प्रवेश गर्न दिँदैनौँ’ बानियाँले भने, ‘अत्यावश्यक बिरामी र पास लिएकालाई भने कुनै रोकावट हुँदैन।’
उनीहरुले सडक बारेर बारमै ठूलो अक्षरमा आफू बचौँ र अरुलाई बचाऔँ भनेर पेपरमा लेखेर सूचना टाँसेका छन्। जसमा प्रवेश निषेध गरिएको र प्रवेश गरे सवारीको चाबी खोसेर प्रशासनको जिम्मा लगाइने चेतावनी दिइएको छ। सो सडकहुँदै कुन्तादेवीको बुङनाम, ढकालगाउँ, बोगटीगाउँ, पसलडाँडा, वितलप लगायतका गाउँमा पुग्न सकिन्छ।
वैदेशिक रोजगारीमा गएर फर्किने बढेको र उनीहरुमा संक्रमणको आशंकाले गाउँमा त्रास बढेको छ। स्थानीय त्रसित भएकाले सडक नै बन्द गर्नु परेको स्थानीय युवा अर्जुन गिरीको भनाइ छ। 
प्रतिक्रिया दिनुहोस !