तौलिहवाको क्वारेन्टाइनमा वाइफाइ
कपिलवस्तु : कपिलवस्तु नगरपालिका-१ ले निर्माण गरेका क्वारेन्टाइन जिल्लामै उदाहरणीय बनेको छ। तौलिहवाको आनन्दवागस्थित रत्न राज्य लक्ष्मी माविमा निर्माण गरिएको क्वारेन्टाइन १५ बेडको छ। सफा, स्वच्छ फिल्टर पानी, सफा शौचालय, निशुल्क तीब्र गतिको निशुल्क ईन्टरनेट सेवा र स्वस्थ खाना तथा नास्ताको व्यवस्था क्वारेन्टाइनमा गरिएको छ। क्वारेन्टाइन बाहिर खुला चौर र सफा वातावरण छ।
कोरोना भाइरसको संक्रमण फैलन नदिन भारत र तेस्रो मुलुकबाट आएका सर्वसाधारणहरुलाई बस्नका लागि निर्माण गरिएको यो क्वारेन्टाइन जिल्लामै उत्कृष्ट रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए। जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइनहरु बन्दी गृह जस्तै बनेका बेला कपिलवस्तु नगरपालिका-१ ले निर्माण गरेको यो क्वारेन्टाइन सबैका लागि नमूना योग्य पनि रहेको छ।
भारतका विभिन्न शहरबाट आफ्नो वडामा फर्केका सर्वसाधारणहरुलाई सहज ढंगबाट घरमा बस्न भन्दा पनि राम्रो सुविधासहित बस्न सक्ने गरी क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष सुदीप पौडेलले बताए। भारतबाट आएका वडा नं. १ का सर्वसाधारणहरुलाई क्वारेन्टाइनमा २ हप्ता राखिनेछ। क्वारेन्टाइनमा आउने सर्वसाधारणहरुको संख्या बढ्न थाल्यो भने यसलाई विस्तार गर्ने योजना गरेको वडा अध्यक्ष पौडेलले बताए। क्वारेन्टाइन स्थल नजिकै विद्यालयको प्रांगणमा वडामा रहेका अति विपन्न व्यक्तिहरुलाई खानपिनको व्यवस्थापनका लागि मेसको समेत तयारी गरिएको छ। दैनिक रोजगारी बन्द भए पछि घरमा चुल्हो बल्ने अवस्था नरहेका अति विपन्न वडावासीका लागि मेसमा हरेक दिन बिहान र साँझको निशुल्क खानाको पनि व्यवस्था गरिएको वडा अध्यक्ष पौडेलले बताए।
जिल्लाका १० वटा स्थानीय तहले आआफ्नो तहमा ८ सय २२ वटा बेडसहितको क्वारेन्टाइन निर्माण गरेका छन्। जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी अनुसार बुधबार जिल्लाका १० वटै तहमा निर्माण गरिएको क्वारेन्टाइनमा गरी कुल ५ सय २० जनालाई राखिएको छ। सबैको अवस्था भने सामान्य नै रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !