कतार एयर र जमातबाट आएका ९ जनाको रिपोर्ट नेगेटिभ
![कतार एयर र जमातबाट आएका ९ जनाको रिपोर्ट नेगेटिभ](https://annapurnapost.prixacdn.net/media/albums/home-qarentine-saptari-rajbiraj_20200404041404_taigFA8mtz.jpg)
राजविराज : कोरोना भाइरस (कोभिड–१९) को आशंकामा कतार एयरवेजबाट नेपाल फर्किएका सप्तरीका एक जनासहित नौ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
सप्तरीबाट पहिलो पटक बिहीबार नौ जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो । मण्डल कतार एयरवेजको क्युआर ६५२ विमानबाट चैत ४ गते नेपाल फर्किएका थिए । उनी तिलाठी कोइलाडीस्थित लबन मावि स्थित क्वारेन्टाइनमा बसेका छन् ।
यसैगरी इस्लाम धर्म प्रचारको संस्था तब्लिगी जमातको आह्वानमा भारत बिहारको अररिया फारबिसगञ्ज र रहुवाइको विभिन्न मस्जिदमा भएको ४० दिने जमातमा सहभागी भई घर फर्किएका राजविराज नगरपालिकाका आठ जना गत मङ्गलबार घर फर्किएका थिए । उनीहरु सबैलाई राजविराज नगरपालिका–४ स्थित इस्लाम मियाँको घरमा क्वारेन्टाइनमा राखिएको छ ।
वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको १२ जनाकै स्वाब नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ । सप्तरीबाट पठाइएको नौसहित ओखलढुंगाबाट पठाईको दुई र भोजपुरबाट पठाइएको एक जनाको स्वाब नेगेटिभ रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)