किसानलाई छैन ‘लकडाउन’ (फोटो फिचर)
पोखरा : कोरोना (कोभिड-१९) भाइरस विश्वभर फैलिए पछि रोकथामका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ। कोरोना भाइरस नियन्त्रणक ालागि आम नागरिकलाई सरकारले सेल्फ क्वारेन्टाइनमा बस्न पटकपटक अनुरोधसमेत गरेको छ।
लकडाउनपछि पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, बगर, न्युरोड, राति २ बजेसम्म गुल्जार हुने पर्यटकीय क्षेत्र लेकसाइड सुनसान छन्। पोखरेली लकडाउनको पछिल्लो समयमा अतिआवश्यक काममा बाहेक घरबाट बाहिर निस्केको कमै देखिन्छन्।
यता पोखरा महानगरपालिकाकै लेकनाथका किसानले आफ्नो कृषि कर्म लकडाउनमा पनि सुरक्षित विधी अपनाएर निरन्तरता दिएका छन्।
लेखनाथका किसान आफ्नै छरछिमेकी मिलेर चैते धान रोप्ने, मकै गोड्ने, तरकारी लगाउँने काममा ब्यस्त छन्। लेखनाथको अघौंचोक, खरानी फाँट, शिशुवालगायतका क्षेत्रका किसान यति बेला छरछिमेकी मिलेर खेती किसानीमै ब्यस्त भएका हुन्। 
कोरोना भाइरस विश्वमै फैलिएपछि सुरक्षित रुपमा गाउँले र छरछिमेकी मिलेर काम गरिरहेको पोखरा अर्घौ चोककी बिवा परियाले बताइन्। हामीलाई पनि डर त लागेको छ नि। वर्ष भरि खानु पर्ने चैते धान, मकै लगाउनै पर्यो उनले भनिन्।
कोरोनाकै डरले बाहिरी मान्छे नराखी आप्नै छरछिमेकी मिलेर धान रोप्ने गरेको मधु पुरीले बताइन्। ‘हाम्रो गाउँ घरमा विदेशबाट आएका कोही नभएकोले केही सुरक्षित महसुस गरेर खेती गरिराखेका छौँ’, उनले भनिन्।
विदेशबाट कोही नआए पनि उनीहरुले मास्क लगाउने र सकेसम्म निश्चित दुरी कायम गरेर काम गरिराखेका छन्। कोरोनाकै कारणले खेत रोप्न खेताला र बाउँसेनै नपाउँने अवस्था भने नरहेको स्थानीय किसान माधव तिमिल्सिनाले बताए। 


पोखराको लेखनाथ स्थित अघौंचोकमा धान रोप्दै किसान।


पोखराको लेखनाथस्थित शिशुवामा मकै गोड्दै किसान। तस्बिर : कृष्णमणि बराल
प्रतिक्रिया दिनुहोस !