रोकिने भयो जिब्रो छेड्ने जात्रा : अनिष्ट हुने चेतावनी

रोकिने भयो जिब्रो छेड्ने जात्रा : अनिष्ट हुने चेतावनी

भक्तपुर : भक्तपुरको मध्यपुर थिमिस्थित बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा इतिहासमै दोस्रोपटक रोकिने भएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्राचीन जिब्रो छेड्ने जात्रा यसपटक गरी दोस्रोपटक रोकिने भएको हो।

पहिले कहिले रोकियो यकिन जानकारी छैन। बोडेका बुढापाकाहरुले आफ्ना बाबुबाजेबाट सुनेकोमात्रै थिए, यसअघि एकपटक रोकिएको थियो रे !

‘पहिले पनि एकपटक रोकिएको थियो रे जिब्रो छेड्ने जात्रा’, मध्यपुर थिमि नगरपालिका ८ बोडेका वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठले भने, ‘बुढापाकाले आफ्ना बाबुबाजेबाट सुनेकोमात्रै जानकारी दिए, कहिले किन रोकियो स्पष्ट भन्न सकेनन्।’

तर यस वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न जिब्रो छेड्ने जात्राको औपचारिकतामात्रै पूरा गर्ने निर्णय भएको उनले जानकारी दिए।

‘अरु वर्षजस्तो यो वर्ष जिब्रो नछेड्ने भयौं’, वडा अध्यक्ष श्रेष्ठले थपे, ‘महालक्ष्मी मन्दिर परिसरमा लिंगो पनि नउभिने भयो। सबै गुठीयारलाई देवदेवीलाई घरभित्रै विधिविधान पुर्‍याएर पूजा गर्न भनेका छौं।’

भक्तपुरको प्रसिद्ध बिस्काजात्राअन्तर्गत वैशाख २ गते मध्यपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सञ्चालन हुन्छ। मध्यपुर थिमिका श्रेष्ठ थरीले मात्रै यस जात्रामा जिब्रो छेड्ने प्रचलन रहेको छ तर यसपटक कुनै पनि उक्त थरीका युवाले जिब्रो छेडाउन नपर्ने भएको छ।

बोडेको प्राचीन पाँचो गणेश मन्दिर परिसरमा हजारौं भक्तजनहरुको उपस्थितिमा जिब्रो छेडिन्छ। जिब्रो छेडिसकेपछि ती व्यक्ति अर्धचन्द्राकार महादीप बोकेर बोडे सहर परिक्रमा गर्छन्। अन्तमा बोडेकै महालक्ष्मी मन्दिरको परिक्रमापछि उक्त जिब्रो छेडिएको सुइरो झिकिन्छ। उक्त सुइरो महालक्ष्मी मन्दिरमै ठोकिन्छ भने घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिर भित्रको माटो राखिन्छ।

जिब्रो छेड्ने जात्राको अघिल्लो दिन बैशाख १ गते महालक्ष्मी मन्दिरमा लिंगो ठड्याइन्छ। जुन यसवर्ष नठडिने भएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए।

जात्रा रोकिँदा अनिष्ट हुने चेतावनी
यता जिब्रो छेड्ने जात्राका गुठियारहरुले जात्रा रोकिए अनिष्ट हुने चेतावनी दिएका छन्। उक्त जात्राको किम्बदन्तीअनुसार बोडेबासीलाई भूतप्रेतले दुःख दिएपछि त्यसबेलाका तान्त्रिकहरुले ती भूतप्रेतलाई नियन्त्रणमा लिएका थिए। उनीहरुलाई नियन्त्रणमा लिएपछि स्थानीयले जिब्रो छडाएर नगर घुमाएको बताइन्छ। सोहीअनुसार सजाय पाएपछि ती भूतप्रेतले पुनः कहिल्यै दुःख नदिने तर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिनुपर्ने सर्त राखेको स्थानीय जानकारहरु बताउँछन्। त्यसैले यो वर्ष जात्रा रोकिएपछि कुनै अनिष्ट हुने डर उनीहरुको रहेको वडा अध्यक्ष श्रेष्ठले बताए।

उनले कुनै अनिष्ट हुन नदिन जात्रा तथा पर्वपूजा सकिएलगत्तै वडा कार्यालयबाट क्षमापूजा गर्ने भनी गुठियारहरुलाई आश्वास्त पारिएको जानकारी दिए।

‘जिब्रो छेड्ने जात्रा रोकिएपछि केही अनिष्ट हुन्छ कि भन्ने गुठियारहरुमा डर र चिन्ता रहेको पाइयो’, उनले भने, ‘अनिष्ट हुन नदिन औपचारिक जात्रा तथा नियमित पूजाआजा सकिएपछि वडा कार्यालयबाट क्षमापूजा गरिने जानकारी गराएको छु।’

जिब्रो छेड्ने सुइरो भने तयार
जिब्रो छेड्ने जात्रा रोकिए पनि उक्त जात्रामा प्रयोग हुने सुइरो भने तयार भइसकेको छ। नकर्मी नाइके धर्मलाल नकर्मीले एकहप्ताअघि नै करिब एक फिट लामो उक्त सुइरो तयार गरेका हुन्।

नाइके नकर्मीले खिया नलाग्ने फलामलाई आगोमा पोलेर उक्त सुइरो बनाउँछन्। जात्रा सुरु हुनु करिब एक महिनाअघि उक्त सुइरो बनाउने काम सुरु हुने गर्छ। सोहीअनुसार चैत १८ गते उनले सुइरो तयार गरेका हुन्। सुइरो बनाउन शुभ दिनको निक्र्योल गरी ब्रत बस्नुपर्ने नकर्मीले जानकारी दिए।

सुइरो तयार भएपछि त्यसलाई ग्रिजमा डुबाइन्छ। करिब एक हप्तापछि ग्रिजबाट निकालेर सियोलाई फेरि शुद्ध तोरीको तेलमा डुबाएर राखिन्छ। जिब्रो छेड्ने दिन शुद्ध तोरीको तेलले भिजेको कपासभित्र सियो राखेर ल्याइन्छ। जब जिब्रो छेड्ने बेला हुन्छ तब कर्मी नाइके कपासबाट झिकेर जिब्रो छेडिन्छ।

यसरी तेलले भिजेको कपासभित्र सुइरो राखेपछि कसैले हेर्न तथा झिक्न नहुने नकर्मी बताउँछन्।

अहिलेसम्म क–कसेले छेडे जिब्रो ?


किवंदन्तीअनुसार प्राचीन कालदेखि सुरु भएको जिब्रो छेड्ने जात्रामा हालसम्म सयौं बोडेस्थित श्रेष्ठ थरका पुरुषहरुले जिब्रो छेडाइसकेका छन्। तर हालसम्म १२ जनाको मात्रै नाम खुलेको छ। नाम खुलेका १२ जनाबाट हालसम्म गरी १०६ पटक जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। ती १२ जनामा हाल तीनजनामात्र जीवित छन्। जसअनुसार कृष्णचन्द्र बाग श्रेष्ठ, बुद्धकृष्ण बाग श्रेष्ठ र जुजुभाइ बासं श्रेष्ठ हुन्।

सातपटक जिब्रो छेडाएका दिलकुमार खपे श्रेष्ठपछि एकएकपटक जिब्रो छेडाउने, मुनि घो श्रेष्ठ र धर्मराज बलाय श्रेष्ठको पनि निधन भइसकेको छ। त्यसपछिका कृष्णचन्द्र र बुद्धकृष्ण दाजुभाइ हुन्। पछिल्लो जुजुभाइले आठपटक जिब्रो छेडाएका छन्। 

जुजुभाइपछि बुद्धकृष्णले पुनः २०७३ सालमा पाँचौंपटक जिब्रो छेडाए। २०६४ सालमा घरमा सुतक परेपछि रोकिएका बुद्धकृष्णले गतवर्षसम्म निरन्तर तीन वर्ष जिब्रो छेडाएका थिए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.