राहत वितरण गर्दै धनकुटाका स्थानीय तह
धनकुटा : धनकुटाका स्थानीय तहले राहत वितरण सुरु गरेका छन्। स्थानीय तहले ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचान गर्दै धमाधम राहत वितरण गर्न थालेका हुन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाई जिल्लाका सात स्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका हुन्।
धनकुटा नगरपालिकाले १० वटै वडामा दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई राहत वितरण गरिसकेको छ। सबै वडाका २ हजार २ सय ९३ विपन्न परिवारलाई ३९ लाख ४८ हजार ५ सय २० रुपैयाँ बराबरको दैनिक उपभोग्य सामाग्री (चामल, दाल, नुन, तेल र सावुन) वितरण गरेको सूचना अधिकारी डम्बर रोगुले जानकारी दिए।
त्यस्तै महालक्ष्मी नगरपालिकाले पनि लकडाउनले प्रभावित अतिविपन्न, असाहय र ज्यालादारी मजदुरलाई राहत वितरण गरेको छ। नगरभरिका ९ वटै वडामा प्रभावित रहेकाका विवरण संकलन गरेर राहत वितरण कार्य सुरु गरिएको महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए।
हालसम्म ५ सय भन्दा बढी अतिविपन्न, असाहय र ज्यालादारी मजदुरलाई राहत प्रदान गरिएको छ। उनका अनुसार पहिलो चरणमा १० दिनलाई पुग्नेगरी राहत वितरण गरिएको छ। राहत वितरण कार्य जारी रहेको र सबै वडामा वितरण गरिने उनले बताए।
सहिदभूमि गाउँपालिकाले पनि राहत वितरण कार्यको तयारी सुरु गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यका अनुसार वडागत रुपमा नामावलीको लगत संकलन भएर आइसकेको गाउँकार्यपालिकाका वैठकले पनि कार्यविधि पारित गरिसकेको हुँदा अबको दुई दिन भित्र राहत वितरण कार्य सुरु हुनेछ। राहत वितरण कार्य वडालाई जिम्मा दिइएको छ। वडालाई एक÷एक लाख रुपैया प्रदान गर्ने निर्णय भएको र आजै प्रतिवडालाई ८०÷८० हजार रुपैयाँ पेश्की स्वरुप उपलब्ध गराइएको उनले बताए।
उता पाख्रिवास नगरपालिकाले पनि मंगलबारदेखि राहत वितरण सुरु गरेको छ। केही दिन अघिको कार्यपालिका बैठकले नगरभरिका सबै वडाका गरेर १५ सय विपन्न, ज्यालामजदुरीलाई राहत वितरण गर्ने निर्णय गरेको थियो। 
सोही निर्णय अनुरुप वडागत रुपमा गएर राहत वितरण गरिरहेको पाख्रिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिकबहादुर राईले बताए।
हरेक परिवारलाई ३० किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल र एक प्याकेट सावुन सहित ५ प्रकारको दैनिक उपभोग्य सामाग्री प्रदान गरिरहेको उनले बताए।
छथरजोरपाटी गाउँपालिकाले पनि विपन्न परिवारको वडागत रुपमा लगत संकलन गरी राहत वितरण कार्य सुरु गरेको छ। लकडाउनबाट प्रभावित ७ सय ४६ जना परिवारलाई राहत प्रदान गर्न लगत संकलन गरिएको गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बुले बताए। उनका अनुसार सबैलाई राहत दिन कठिनाई भएको र केही भारतीय नागरिक समेत रहेको कारण उनीहरुलाई मापदण्ड बनाएर दोस्रो चरणमा राहत वितरण गरिनेछ। जिल्ला बाहिरबाट आएर सडक तथा भौतिक निर्माणमा काम गर्ने अलपत्र परेका मजदुरलाई राहतस्वरुप चामल, दाल, नुन, तेल, साबुनलगायत सामग्री प्रदान गरिएको छ। साँगुरीगढी गाउँपालिकाले पनि वडागत रुपमा लगत संकलन भएर आएका ७ सय ३० जना लकडाउनबाट प्रभावित परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेको छ।
त्यस्तै चौविसे गाउँपालिकाले पनि १ हजार परिवारलाई दैनिक उपभोग्य सामाग्री राहतको रुपमा प्रदान गरेको छ।
प्रतिक्रिया दिनुहोस !