यो महाभारतको कथा सुन्ने बेला होइन : मुख्यमन्त्री गुरुङ
बागलुङ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले महाभारतको कथा सुन्ने सुनाउने समय नभएको बताएका छन्।
जिल्लाका दुई संक्रमितको पछिल्लो अवस्था, उपचारसहित धौलागिरी अस्पतालमा कोरोनाको थप उपचार गर्ने गरी निर्माणाधिन आइसियू, थप आइसोलेशन कक्ष, भेन्टिलेटर जडानलगायतका बारेमा बुझ्न बागलुङ आएका मुख्यमन्त्री गुरुङले कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी संकटका बेला गुनासो गरेर बस्ने छुट नभएको बताए।
अस्पताल र संक्रमितको अवस्थाका बारेमा चिकित्सकबाट जानकारी लिए पछि अस्पताल परिसरमा स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै मुख्यमन्त्री गुरुङले भने, ‘यो समय महाभारतको कथा जस्तो यो भएन, त्यो भएन भनेर गुनासो गर्दै बस्ने होइन, पेशागत जिम्मेवारी र देश सम्झेर काम गरौँ।’
यो संकटलाई अवसरको रुपमा उपयोग गरेर धौलागिरी अस्पतालमा गर्न सकिने सुधार, विकास र व्यवस्थापनमा प्रदेश सरकार विकास बजेट रकमान्तर गरेर भए पनि सहयोग गर्न तयार रहेको उनले बताए।
कोरोना संकटको कठिन घडीमा स्वास्थ्यकर्मीले खेलेको भुमिकाको प्रशंसा गर्दै परीक्षण र उपचारमा आवश्यक पर्ने कुनै चिजको अभाव हुन नदिने उनले प्रतिवद्धता जनाए।
अस्पतालको भौतिक पूर्वाधार, प्रयाप्त उपकरण र जनशक्ति व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो। अस्पतालमा उपचाररत चिकित्सक र नर्सलाई उच्च मनोबल लिएर काम गर्न र संक्रमितको उपचारमा अझ संवेदनशील र आफु सुरक्षित भएर उपचारमा लाग्न मुख्यमन्त्री गुरुङले आग्रह गरे।
बिहीबार मात्र मुख्यमन्त्री कार्यालयबाटै धौलागिरी अस्पतालको आइसोलेनसनमा उपचारत बानपा ४ की १९ वर्षीया युवतीसँग टेलिफोन मार्फत पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मुख्यमन्त्री गुरुङ शुक्रबार आफैँ अस्पताल आएका हुन्।
गुरुङले स्वास्थ्य अवस्था र चिकित्सकले गर्ने हेरचाहलगायतका विषयमा जिज्ञासा राख्दा राम्रै रेस्पोन्स रहेको तर डाक्टर हेर्न आएको बारे जानकारी नभएको बताएकी थिइन्। त्यसको भोलि पल्टै मुख्यमन्त्री गुरुङ बागलुङ आएका हुन्।
धौलागिरी अस्पतालका प्रमुख शैलेन्द्र बि पोखरेलले भने डाक्टर पनि पीपीई लगाएर जाने भएको संक्रमित युवतीले नचिनेको हुन सक्ने बताए।
धौलागिरी अस्पतालमा बानपा ३ की अर्की ६५ वर्षीया महिला पनि उपचाररत छन्। ‘दुवै संक्रमितको अवस्थाबारे हामीले जानकारी दियौँ, ६५ वर्षीया महिलालाई दम र प्रेसरको समस्या रहेछ,’डा.पोखरेलले भने,‘तर अहिले प्रेसरको औषधि चलाए पछि अवस्था सामान्य छ।’
प्रतिक्रिया दिनुहोस !