क्वारेन्टाइनमा बसेकालाई उपहारसहित बिदाइ
बागलुङ : संक्रमितसँगैका भीडमा भारतको गौरीफन्टा नाका हुँदै नेपाल आएका जिल्लाका चार जनालाई क्वारेन्टाइनबाट उपहारसहित बिदाइ गरिएको छ । जिल्लाको बरेङ गाउँपालिका वडा नम्बर–४ स्थित सर्वोदय माविको क्वारेन्टाइनमा रहेका चार जनालाई जनही एक केजी मह र प्रशंसा पत्रसहित बिदाइ गरिएको गाउँपालिकाले जनाएको छ ।
भारतमा लामो समयदेखि मजदुरी गर्दै आएका उनीहरू गत चैत्र ८ गते गौरीफन्टा सीमा हुँदै आएका थिए । दुई दिन सीमामा अलपत्र परेर ठूलो संर्घषकाा बीच पाल्पा आउँदा सोही स्थानकै क्वारेन्टाइनमा राखिएको थियो । पछि उनीहरूकै आग्रहमा बरेङ गाउँपालिकाले चैत्र १६ गते आफ्नै पालिकामा ल्याएर सर्वोदय माविको क्वारेन्टाइनमा राखेको थियो ।
क्वारेन्टाइनमा रहेका भारतबाट आएका चार जनाको कोरोना परीक्षणका क्रममा कोरोना संक्रमण नभएको रिपोर्ट आएपछि अर्गानिक मह, सर्जिकल मास्क र प्रशंसापत्रसहित बिदाइ गरिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । उनीहरुलाई बिदाइ गरिए पनि अझ २१ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको अध्यक्ष शर्माले बताए । ‘१४ दिनसम्म क्वारेन्टाइनमा राखेर तीन दिनअघि घर पठाउने तयारी थियो,’ शर्माले भने, ‘पठाउने भनिएकै दिन भारतबाट एकै भीडमा आएका कैलालीका युवामा संक्रमण देखिएपछि हामीले फेरि बस्न भन्यौं, अहिले परीक्षण रिपोर्ट नेगेटिभ आएपछि थप सचेतता अपनाउन आग्रह सहित घर पठाएका छौँ ।’बरेङ गाउँपालिकाको नयाँ बजार स्थित क्वारेन्टाइनमा भारतबाटै आएका अन्य चार जना छन् । उनीहरूमध्ये तीन जनाको रिपोर्ट नेगेटिभ आएको र एक जनाको रिपोर्ट आउन बाँकी रहेकाले सबैलाई क्वारेन्टाइनमै राखिएको छ ।
बरेङका ८ जना र संक्रमित युवतीको तेस्रो र महिलाको दोस्रो स्वाब गरी १० जनाको स्वाव बुधवार पोखरा पठाए पनि अरु दुई जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौंले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !