राहतमा विभेद : सुत्केरी र वृद्धाले समेत पाएनन्
विराटनगर : मोरङको पथरी शनिश्चरे नगरपालिका–४ स्थित जनकल्याण आधारभूत विद्यालयमा राहत वितरण भइरहेको सुनेर २ महिनाकी सुत्केरी मनिषा राई पुगिन्। राहतको पाउने आशमा उनी दिनभर टन्टलापुर घाममा बसिन्।
छिन छिनमा दूध खुवाइरहनु पर्ने शिशुलाई घरमै छाडेर गएकी राई साँझ भने रित्तै फर्कनु पर्यो। ‘बच्चा घरमा छाडेर चर्को घाममा गएकी थिएँ, पुग्दा राहत बाँड्न धमाधम थियो। टाठाबाठाले मिलाई मिलाई लिइरहेका थिए,’ उनले भनिन्, ‘राहत पाउनेको सूचीमा नाम अटेपछि मैले पनि आफ्नो पारिवारिक समस्या राखेँ। तर, अन्तिममा नाम मिले पनि थर नमिलेको भन्दै त्यत्तिकै फर्काए।’
थरमा राई हुनु पर्ने ठाउँमा चौधरी भएकाले राहत दिन नसकिने भन्दै फर्काइएको उनको गुनासो छ। उनका श्रीमान् तुलाराम ज्याला मजदुरी गर्छन्। लकडाउन लिम्बिएपछि उनले पनि काम पाएका छैनन्। ‘काममा जान नपाएको झन्डै तीन साता भयो,’ उनले भने, ‘घरमा सुत्केरी श्रीमती र बच्चा छन्। सुत्केरीलाई बिहान बेलुका खुवाउन पनि गाह्रो भयो।’ दिनभर लाइन लागेर पनि श्रीमति रित्तै फर्किएपछि तुलाराम वडाध्यक्ष गोविन्द भण्डारीलाई भेट्न पुगे। तर भण्डारीले वास्तै नगरेका उनको गुनासो छ।
शारीरिक अपांगता भएकी ६८ वर्षीया गोमादेवी थापा पनि जसोतसो राहत लिन पुगिन्। तर, वडाध्यक्ष भण्डारीले वृद्ध भत्ताा पाउनेले राहत नपाउने भन्दै फर्काएका उनले गुनासो गरिन्। धेरै बेरसम्म आग्रह गर्दा पनि खाद्यान्न नपाएपछि एकल महिला उनी रुदै फर्किइन्। थापाका श्रीमान् ०५१ मा बिते। उनका तीन छोरा र एक बहिनी छोरी छन्। छोरी विदेशमा छिन्। एक छोरा वेपत्ताा छन्। दुई छोराले हेर्दैनन्। गोमादेवी सात वर्षदेखि सहाराविहीन छिन्।
स्थानीय ७६ वर्षीया वृद्धा दिलरानी राई पनि राहतबाट बञ्चित भइन्। नातिनीसँग बस्दै आएकी उनलाई पनि वृद्धभत्ताा पाउनेले राहत नपाउने भन्दै वडा कार्यालयले फर्कायो। बिहान बेलुका छाक टार्न धौ धौ पर्नेलाई भन्दा पनि हुने खाने र टाठा बाठालाई मात्रै राहत दिइएको उनले गुनासो गरिन्। आर्थिक अवस्था कमजोर भएका, ज्याला मजदुरी गरेर जिविका चलाउने, असक्त र सुत्केरीलाई राहतको प्राथमिकतामा राखिनुपर्नेमा त्यस्तो नभएको स्थानीय घनश्याम राईले बताए।
‘लकडाउनले कारण पीडित बनेका मध्ये लक्षित वर्गलाई राहत दिनु पर्छ भनेर आवाज उठाइयो,’ उनले भने, ‘तर, उल्टै हुलहुज्जत गरेको आरोपमा वडाध्यक्षले प्रहरी बोलाएर चार जना युवालाई एक रात थुन्न लगाए।’ विपन्न र गरिबहरुलाई भोकै राख्न हुँदैन भनेर आवाज उठाउँदा त्यसलाई दबाउने काम भएको राईको भनाई छ। यसअघि राहतको चामल लगायतका सामग्री विद्यालयमा राख्ने कि वडा कार्यालयमा भन्ने विषयमा पनि वडाध्यक्ष भण्डारीसँग स्थानीयको विवाद भएको थियो। भण्डारीले वडा कार्यालय र स्थानीयले विद्यालय मार्फत राहत वितरण गर्नु पर्ने अडान लिएका थिए।
तीन बिघा जग्गा हुनेले धमाधम राहत लिएपछि दुःख गरेर छाक टार्नेलाई समस्या भएको स्थानीय गोमा कार्की बताउँछिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असाहय र विपन्नलाई प्राथमिकतामा राखेर राहत वितरण गर्न स्थानीय तहलाई परिपत्र गरेको छ। परिपत्रको खिल्ली उडाउँदै राहत वितरणमा फोटो सेसन गरेपछि वडाध्यक्ष भण्डारी झनै विवादमा तानिएका छन्। कोरोना संक्रमण प्रति सतर्क हुन दूरी कायम गर्नुपर्नेमा हातले राहत उठाउँदै उनले फोटो खिचाएका थिए।
पथरीशनिश्चरे–४ मा दुई सय ९६ परिवारलाई राहत वितरण गरिएको छ। २ जनासम्मको परिवारलाई प्रति परिवार १२ किलो चामल, २ भन्दा माथि सदस्य रहेकालाई २५ किलो चामल तथा सबैलाई परिवार २ किलो दाल, एक किलो नुन, १ लिटर खानेतेल र २ वटा साबुन वितरण गरिएको छ। वडाध्यक्ष भण्डारी भने अति विपन्न, अहासय र ज्यालादारी गर्ने परिवार पहिचान गरेर राहत वितरण गरिएको दावी गर्छन्। सो नगरकी उप–प्रमुख तथा राहत वितरण व्यावस्थापन समिति संयोजक यमुना विष्टले वडाको सिफारिस अनुसार राहत वितरण भइरहेको बताइन्। छुटेकालाई पुनः वितरण भइरहेको उनको भनाइ छ।
वृद्धभत्ताा पाउनेले राहत नपाउने भन्दै वडा कार्यालयले फर्काएको छ।