फेरिएको शुभकामना सन्देश
![फेरिएको शुभकामना सन्देश](https://annapurnapost.prixacdn.net/media/albums/saypatri-phool-danda2_20191024075438_zENebY4lxa.jpg)
काठमाडौं : आइतबार २०७६ सालको बिदाइ अनि राति १२ बजेपछि २०७७ साल नयाँ वर्षको स्वागत। लकडाउन नभएको भए ठमेल होस् कि नगरकोट, प्रेमिल जोडीको खुट्टा राख्ने ठाउँ हुने थिएन। तर कोरोना महामारीका कारण यस वर्ष पुरानो वर्षलाई बाईबाई र नयाँ वर्षलाई हाईहाई गर्ने कार्यक्रम कसैले बनाउन सकेनन्। प्रायः सबैले यसभन्दा पहिलेको वर्ष बिदाइ र नयाँ वर्षलाई स्वागत गरेको सम्झनाले भित्रभित्रै रोमाञ्चित भइरहे।
यस वर्ष शुभकामना दिने मुडमा पनि निकै कम छन्। घर सम्झिँदै राजमार्गमा हप्तौं सडक नापिरहेका मजदुर कसरी एकअर्कालाई शुभकामना दिन सक्लान् र ? भेटघाट नहुने बन्दाबन्दीको अवस्थामा सीधा फोन गरेर या एसएमएसमार्फत शुभकामना पठाउनेको पनि जाँगर मरेको छ। अरू वर्ष जस्तो सामाजिक सञ्जाल फेसबुकमा शुभकामना दिनेको लर्को पनि कम छ।
सामाजिक सञ्जालमा शुभकामना दिनेको सन्देश पनि फेरिएको छ। धेरैले कोरोनासँग जोगिन अनुरोध गर्दै शुभकामना सन्देश राखेका छन्। सामाजिक सञ्जालमा यस्ता शुभकामना पोस्ट गरिरहेका छन्, ‘नयाँ वर्ष २०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा विश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) सँग आफू पनि सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित बनाऔं भन्दै सुस्वास्थ्य एवम् दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।’
बेलायत बस्दै आएका साहित्यकार विश्वास दीप तिगेलाले नयाँ वर्षको पूर्वसन्ध्यामा लेखेका छन्, ‘लौ आजदेखि अमेरिका मृत्यु हुनेको संख्यामा पनि शीर्षस्थ स्थानमा, दुःखद् बधाई।’
दाङका कवि केबी चौधरी घरबाहिर ननिस्किन सन्देशका साथ नयाँ वर्षको शुभकामना दिएका छन्। संघीय सांसद गंगा सत्गौवाले लेखेकी छन्, २०७६ लाई बिदाइ। कोभिड १९ को विश्वव्यापी कहर भए पनि नयाँ वर्ष २०७७ को पर्खाइको पल।
वैशाख १ गते पूर्वी भेगका थारू समुदायको सिरुवा÷जुडशीतल पावैन (पर्व) पनि हो। थारू कल्याणकारिणी सभाका पूर्वमहामन्त्री भुलाई चौधरी सन्देश दिन्छन्, ‘यस पटक सबैजना आआफ्नो घरभित्रै अर्थात् कम्पाउन्डभित्रै मिठामिठा परिकार खादै कोरोना भाइरसलाई लठ्ठीले हान्दै आफ्ना घर, गाउँ, सहर र देशबाट धपाऔं। हाँसीखुसीपूर्वक यो सालको सिरुवा पावैन र नयाँ वर्ष २०७७ मनाऔं।’
प्रगतिशील लेखक नरेन्द्रजंग पिटर नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना दिँदै कविता शैलीमा लेख्छन्, ‘घाउपारी चुम्नुभन्दा, मित म्वाइँ न खाइदे। हिजै जस्तै तीतै भए, नयाँ दिन नआइदे।’ धेरैलाई नयाँ वर्ष सुखद रहोस्, मिठो होस्, तीतो नहोस् भन्ने परिकल्पना छ। तर यो परिकल्पनामा कोरोनाले एसिड छरिरहेको छ। यसपालिको नयाँ वर्षको शुभकामना कोरोनामय भएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)