लकडाउनमा नदीजन्य वस्तुको चोरी
कपिलवस्तु : लकडाउनको मौका छोपी कपिलवस्तुका खोलानालामा रातारात नदीजन्य वस्तुको चोरी निकासी गर्न थालेका छन्। वाणगंगा नदीका विभिन्न घाटबाट रातको समयमा ढुंगा, गिट्टी र बालुवा निकासी हुने गरेको छ।
वाणगंगा नदी, कोइली खोलामा रातको १२ बजे ब्याक हु लोडर जस्ता ठूला मेशिनरी प्रयोग गरेर नदीजन्य वस्तु निकाल्ने क्रम बढेको हो। वाणगंगा नगरपालिका ८ को बालापुर र ९ को भलवाडको कोइली खोलामा अवैध उत्खनन् तथा निकासी हुने गरेको ९ का वडाध्यक्ष धु्रव बेलवासेले बताए। डरत्रासका कारण स्थानीयले भने यस्तो अवैध धन्धाको प्रतिरोध गर्न सकेका छैनन्।
नदी क्षेत्रको अनुगमन गर्दा नदीमा अवैध उत्खनन् तथा निकासी भएको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले बताए। 'अनुगमनका क्रममा रातको सयममा ठूला मेसिनरी औजार प्रयोग गरी उत्खनन् भएको पाइयो', प्रशासकीय अधिकृत सैनीले भने, 'हामीले अगुगमन गर्दै जाँदा वाणगंगा नदी किनार दक्षिणतर्फ करिब ४ सय ट्यांकर अवैध उत्खनन् गरी डम्प गरिएको नदीजन्य पदार्थ पनि फेला पार्यौं। त्यसलाई नियन्त्रणमा लिएका छौं।'
अनुगमनका क्रममा वाणगंगा नगरपालिकाको भलवाडस्थित कोइली खोलामा निकै ठूला ठूला खाल्टो बनाई मेसिनको प्रयोग गरी उत्खनन् गरेको पाइएको जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी भूमिराम पोख्रेलले बताए। यसरी गरिएको अनुगमनको अवस्था र जिल्लाका अन्य नदीनालाको अवस्था विश्लेषणका लागि चाँडै नै नदीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिको बैठक बसी थप कदम अघि बढाउँछौं, पोख्रेलले भने, 'नदी क्षेत्रमा ठूलो दोहन भएको छ। यसको नियन्त्रणका लागि ठोस कदम तत्काल चाल्नुपर्छ।'
रातभर नदीजन्य पदार्थ निकालेको खबर समन्धित निकायले पाए पनि त्यहाँ गएर रोक्ने आँट कसैको नभएको स्थानीयले बताए। हतियारसहित तस्कर खोलामा आउने भएकाले प्रतिकार गर्न नसकेको स्थानीय बताउँछन्। तस्करहरुले राति १२ बजेदेखि बिहान ३ बजेसम्म नदीजन्य वस्तुहरु उत्खनन् र निकासी गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !