वर्षौंदेखि ‘लकडाउन’ जिन्दगी

वर्षौंदेखि ‘लकडाउन’ जिन्दगी

जनकपुरधाम : कोरोना भाइरसको नाम अहिले विश्वमै सबैभन्दा बढि चर्चित छ। कोरोनाको चर्चासँगै सबैभन्दा चर्चित अर्को शब्द हो 'लकडाउन'। लकडाउनमा महिला, पुरुष, वृद्ध, बच्चाबच्ची सबै घरमा स्वतः घरमै बस्‍न बाध्य भएका छन्। सदैव स्वतन्त्र भई बाँच्नेहरुका लागि यो लकडाउन साह्रै दिक्क लाग्दो छ। तर, वर्षौदेखि घरमै अघोषित लकडाउन भोग्दै आएका एक वर्गलाई भने यस बन्दाबन्दीले खासै प्रभावित गर्न सकेको छैन्।

घरबाट कदमकदाचित मात्र निस्कन पाउने हजारौं महिलाहरुको लागि यो लकडाउनले परिवारसँग बस्ने अवसरनै जुराएको छ। विशेषगरी मधेसका गाउँहरुमा घुम्टोले घेरेको र सामाजिक प्रथाले जकडिएको समाजमा घरभित्रै थुनिएकी महिलाहरुको सम्पूर्ण जीवननै लकडाउन झैं रहेको छ।
घरबाहिर निस्कन महिलाहरुका लागि विशेष अवसर वा अत्यावश्यक कामनै हुनुपर्छ तर, पुरुषहरुका लागि भने त्यो बाध्यता छैन्। काम होस् वा नहोस् पुरुषहरुले निर्धक भई हाटबजार, छरछिमेक र गाउँघर घुम्न पाउँछन्।

धनुषाको लक्ष्मीनिया गाउँपालिका-३ टोकाकी रमदैयाबालीको बिहे सानैमा भयो। बिहेको बेला कति वर्षकी थिइन् उनलाई थाहा छैन्। उनलाई अहिले पनि आफ्नो उमेर कति भयो भन्ने थाहा छैन्। तर, दुईटा छोरीको बिहे भइसकेको छ भने एउटा नाति पनि खेलाउने धोको पुरा भएको छ। कान्छो छोरा जागिरको लागि भारतको गुजरातमा छन्। माइती रमदैया गाउँमा भएकोले उनी बिहे भएर घर आउँदा उनको नामै रमदैयाबाली पर्‍यो। तर, उनको नाम भने यो होइन्। बुवाआमाले उनको नाम सुनिता राखेका थिए।

बिहे भएर माइत आएदेखि गाउँबाहिर घुम्न निस्केको रमदैयाबालीलाई खासै स्मरण छैन्। 'अब नातीनातिनी भएपछि बजार जान थालेको छु,' टाउँको सारीले छोप्दै मैथिलीमा अन्नपूर्णकर्मी अनलाइनसँग कुरा गर्दै उनले भनिन्, 'मेरी सासु जिउँदो हुँदासम्म त घरबाट बाहिर निस्कदा पनि गाली गर्थिन्, ' छरछिमेकमा जान थालेको पनि छोरीहरुको बिहेपछि मात्रै हो।'

दलित समुदायकी रमदैयाबाली र 'उच्च वर्ग' भन्‍नेहरुका घरमा महिलाहरुको अवस्था खासै फरक भने छैन्। मधेसका अधिकांश गाउँघरमा बुहारीहरु घरबाट निस्कन साँझनै कुर्नुपर्ने हुन्छ। त्यसमा पनि काम विशेष वा पुजापाठ भयो भने मात्रै बुहारीलाई छरछिमेक लग्ने चलन छ। कतिपयले त बुहारीलाई घरको छतमा वा घर बाहिरको परिसरमा समेत निस्कन बन्देज लगाउँछन्। त्यसमा पनि घरमा यदि कोही पाहुना आयो भने महिलाहरुले अगाडी पर्नु नहुने मान्यताका कारण आफ्नै घरमा पनि लुकेर बस्नु पर्ने बाध्यता हुन्छ। 'जो कामकाजी छन् बढि घर बाहिर बस्छन् उनीहरुलाई घरमा बस्न अहिले दिक्क लागेको छ,' जनकपुरधाम-४ कि शिला ठाकुर भन्छिन्, 'हामी त पहिला पनि घरमै बस्थ्यो अहिले पनि त्यस्तै छ।'

वर्षौदेखि अघोषित बन्दीको जीवन बिताइरहेका महिलाहरुको लागि यो लकडाउनको अवधिले घरपरिवारसँग बस्न पाउने अवसर जुटाएको सञ्‍चारकर्मी रिंकु मिश्र गायत्रीको ठम्याई छ। 'अहिले श्रीमान र बच्चाहरु पनि घरमै छन् चाहेर वा नचाहेर भएपनि घरको काममा महिलाहरुले सहयोग पाइरहेका छन्,' मिश्रले भनिन्, 'घरमा एक्लै दिनभरी दिक्क भएर बस्ने दिनचर्याले थोरै दिनका लागि भएपनि महिलाहरुले राहत पाएका छन्।'

'व्यक्तिगत स्वतन्त्रतासमेत नपाएका हाम्रो समाजका महिलाहरुले वर्षौदेखि चुपचाप लकडाउन कसरी सहेका छन्। त्यसमाथि सबैले विचार गर्नुपर्ने दिन आएको छ,' महिला अधिकारकर्मी सम्झना बर्मा भन्छिन्, 'केही साताको लकडाउनमै दिक्क मान्ने पुरुषवर्गले महिलामाथिको वर्षौदेखिको लकडाउन खोल्नु पर्नेतर्फ विचार गर्नुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.