‘शिरीषको फूल’ मुर्झाएको दिन
काठमाडौं : वैशाख ५ गते, ‘शिरीषको फूल’ सदाका लागि मुर्झाएको दिन। ‘शिरीषको फूल’ उपन्यासबाट २०२२ सालको मदन पुरस्कार पाउने साहित्यकार पारिजातको २०५० साल वैशाख ५ गते निधन भएको थियो।
प्यारालाइसिसका कारण वीर अस्पतालमा उनले अन्तिम सास फेरेकी थिइन्। ‘शिरीषको फूल’ मुर्झाएको २७ वसन्त पार भए पनि त्यसकी स्रष्टा पारिजात नेपाली साहित्यमा कालजयी छन्।
पारिजातको स्मृतिमा उनको बसोबास रहेको काठमाडौं, म्हेपीमा हरेक वर्ष वैशाख ५ मा जन्म दिवस मनाइन्थ्यो। तर यसपालि कोरोना महामारीको लकडाउनले उनको जन्मदिवस मनाउन सम्भव भएन। साहित्यकार स्नेह सायमी चालीसकै दशकमा प्रतिभा प्रवाह, साहित्य सन्ध्यालगायत साहित्यिक कार्यक्रमको संयोजन गर्दा पारिजातलाई प्रमुख अतिथि बनाएको सम्झिन्छन्। उनले भने, ‘त्यसबेला उहाँकै संगतमा धेरैजना लेखनमा दीक्षित भए। जसमध्ये म पनि एक हुँ।’
नेपाल प्रज्ञा प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख लक्ष्मी मालीले फेसबुकमा पारिजातको कवितावाचन गर्दै उनलाई सम्झिएकी छन्। त्यस्तै, मातृका पोख्रेलले कोरोनाका कारण म्हेपीमा पारिजात स्मृति दिवस मनाउन नसकिएको विवशता पोख्दै उनको ‘एउटा स्वास्नी मान्छेको अन्तर्वार्ता’ शीर्षकको कविता फेसबुकमा पोस्ट गरेका छन्।
दार्जिलिङको लिंगिया चियाबगानमा १९९४ साल वैशाख महिनामा पारिजातको जन्म भएको थियो। उनको न्वारनको नाम विष्णुकुमारी वाइबा थियो। पारिजातको फूल झरेपछि भुइँबाट मात्र टिपिन्छ भन्ने थाहा पाएपछि यिनले आफूले पारिजातको फूल नदेख्दै उपनाम राखेकी थिइन्।
२०१४ सालमा पहिलो पटक आकांक्षा कविता संग्रह लिएर नेपाली साहित्यमा उदाएकी पारिजातका विविध विधामा जम्मा २३ पुस्तक प्रकाशित छन्।
महत्ताहीन, बैंसको मान्छे, तोरीबारी, बाटा र सपनाहरू, अन्तर्मुखी, उसले रोजेको बाटो, पर्खालभित्र र पर्खाबाहिर, अनिँदो पहाडसँगै, परिभाषित आँखाहरू, बोनी उनका अन्य उपन्यास हुन्। मैले नजन्माएको छोरो उनको चर्चित कथा हो। उनका अन्य कथा संग्रहमा आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, वधशाला आउँदा जाँदा हुन्।
ईश्वर बरालले पारिजातका कविताहरू (२०४४) कृति सम्पादन गरेका छन् भने उनका वैशाख वर्तमान कविता संग्रह पनि प्रकाशित छ। त्यस्तै, धुपी, सल्ला र लालीगुराँसको फेदमा, एउटा चित्रमय सुरुआत, अध्ययन र संघर्ष, सुमित गरी उनका चार संस्मरण कृति बजारमा आएका छन्। अखबारी लेखनसमेत गर्ने उनको महिला मुक्तिसम्बन्धी लेखहरूको सँगालो आधी आकाश (२०४८) पनि प्रकाशित छ।
पारिजातलाई १३ वर्षकै उमेरमा हाडजोर्नी दुख्ने रोगले सताएको थियो। त्यसको दुखाइ आजीवन रह्यो। आफ्नो दुःख बाँड्न नरुचाउने पारिजात सानैदेखि अन्तर्मुखी स्वभावकी थिइन्।
भाषाविद् अमृत योञ्जन तामाङ पारिजातसँग निकै समय नजिकको संगतमा रहे। पारिजातकी बहिनी सुकन्याले खोलेको स्कुलमा २०४४ देखि २०४८ सालसम्म पढाए। संयोगले उनी पढाउने स्कुलको नाम पनि अमृत प्राइमरी स्कुल थियो। धेरैले अमृतले स्कुल खोलेको अनुमान गरे तर पारिजातको आमाको नाम अमृत थियो, उनकै नाममा स्कुल खोलिएको थियो। अमृत भन्छन्, ‘मेरो डेरा स्कुल नजिक थियो। प्यारालाइसिसले पीडित पारिजात कुनै कार्यक्रममा जानुपर्दा डेराबाट ट्याक्सीसम्म अनि ट्याक्सीबाट कार्यक्रम हलसम्म पुर्याउने काम मैले चार वर्ष गरें।’
पारिजातले डिल्लीबजारस्थित पद्मकन्या विद्या श्रमबाट एसएलसी पास गरिन्। उनले आईए र बीए पद्मकन्या कलेजबाट गरिन्। कलेज पढ्दाताका उनले गोविन्दबहादुर मल्ल गोठालेको कथा, श्यामदास वैष्णवको निर्देशनमा ‘युगको सिकार’ नामक नारीप्रधान नाटकमा नायिका भएर पनि अभिनय गरेकी थिइन्।
स्नातक पास भएपछि मदन मेमोरियल स्कुलमा अध्यापक बनिन्। स्कुलमा गाइने प्रार्थना गीत आफैंले लेखेकी थिइन्। बाथले सताएपछि स्कुलको मास्टरी छाडिन्। अनि बिस्तारामा सुतेरै साहित्यिक रचना गर्न थालिन्। त्यसै क्रममा जन्मिएको थियो, ‘शिरीषको फूल’।
एकान्त रुचाउने पारिजातलाई चुरोट र मदिराको बढ्ता संगतले गाल्दै लग्यो। उनको आर्थिक अवस्था दुर्बल थियो। आर्थिक अभावकै कारण मदन पुरस्कारमा प्राप्त चाँदीको फ्रेम पनि बेच्नु परेको थियो। पारिजात राल्फा आन्दोलनमा पनि संलग्न रहिन्। उनी नेपाल मानवअधिकार संगठनकी उपाध्यक्षदेखि प्रगतिशील लेखक संघको सदस्य पनि रहिन्। बन्दी सहायता नियोगकी संस्थापक अध्यक्ष भएर संस्थासमेत चलाइन्