'मरे पनि परिवारसँगै मरौंला, बाँच्यौ भने काममा फर्कौंला'
तानसेन : बर्दिया बासगढी नगरपालिकाका ४९ वर्षीय हुकुमबहादुर कुँवरसहित ५१ जनाको टोली पोखरा र स्याङ्जाको सिमानाबाट हिँड्दै तीन दिन लगाएर तानसेन आइपुगे। काम गरेको स्थानमा खान नपाएर मरे परिवारकै साथ मरिएला बाँचे फर्किएर काम गरौंला भन्दै ५१ जनाको टोली पोखराबाट हिँड्दै दाङ, बाके र बर्दिया, घर जानेक्रममा तीन दिन लगाएर तानसेन आएका हुन्।
ठेकेदारले दिएको पैसा पनि सकियो, स्थानीय स्तरबाट पाएको राहत पनि सकियो, कयौं दिन खाना नखाई रात बितायौं अब यसै पनि मर्ने भयौं उसै पनि मर्ने भयौं भनी जे त होला भनी बाटो लागेको कुँवरले बताए। लकडाउनको अवघि दोस्रो चरणमा थप भएपछि भने ठेकेदार आएको सम्पर्कमा कुवँरले बताए।
'दुई महिना भन्दा धेरै सडकमा काम गरियो पैसा लिने बेलामा ठेकेदारले फोन अफ गरेका छन्' कुँवरले भने 'हामी घर न घाटका भयौं परिवारलाई के लगेर दिने घर पुगिन्छ की पुगिँदैन ठेगान छैन्।' तीन दिनदेखि पोखराबाट हिँडेका उनीहरु पहिलो दिन स्याङ्गजा बजार नजिकै प्रतिक्षालयमा रात बिताएको बताउँछन्। सिद्धार्थ राजमार्गको बाटो हुँदै दोस्रो दिन गल्याङ्ग आइपुगे गल्याङ्ग बजार नजिकको प्रतिक्षालयमा बास बसे। तेस्रो दिन स्थानीयले दिएको चिउरा, चाउचाउ, विस्कुटलगायतका खानेकुरा खाँदै तानसेनतर्फ लागेका थिए।
तेस्रो दिनको यात्रामा शुक्रबार साँझ पाल्पाको बर्तुङ्गमा आइपुगेका उनीहरु थकित देखिन्थे। प्रहरीले बाटोमा हिँडेकालाई पिट्ने गरेको समाचारमा सुनेका उनीहरु सुरक्षाकर्मी देख्नासाथ डराए। भोक प्यासले आत्तिएका, लगातार हिँडाइले थाकेका उनीहरुलाई तानसेन बरतुङबासीले सहयोग गरेका थिए। 'परिवारसँगको निरन्तर टेलिफोन सम्पर्कपछि सुख दु:ख घरमा नै बसौंला भन्दै परिवारले बोलाइरहेका छन्' बलबहादुर अधिकारीले भने 'बाटोमा विरामी परिएन भने अझै ५ दिनमा त घर पुगिएला।'
उनीहरुलाई जिल्ला प्रहरी, जिल्ला ट्राफिकको समन्वयमा तानसेन नगरपालिकाले सवारी साधन व्यवस्थापन गरी बुटवलसम्म पुर्याएको नगर प्रमुख अशोक कुमार शाहीले बताए।
प्रतिक्रिया दिनुहोस !