लकडाउनमै गोरखामा विकास निर्माणका काम धमाधम हुँदै
गोरखा : एक महिना लामो लकडाउनपछि गोरखामा विकास निर्माणका कामहरु धमाधम सुचारु हुने भएका छन् । सडक, पुल, खानेपानी, विद्युत तथा झोलुङ्गे पुल आयोजनाका काम सुचार गर्न अनुमति दिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत २० गते सम्पन्न बैठकले निर्धारण गरेको सीमा र सर्तमा रहने गरी काम सुचारु गर्न सिफारिस दिन सुरु गरिएको प्रजिअ पौडेलले जानकारी दिए । 'काम सुचारु गर्दा स्थानीय स्तरमा कुनै विवाद हुनेछैन भन्ने स्थानीय तहको सिफारिस संलग्न गरी निवेदन दिएमा हामी काम सञ्चालन गर्न अनुमति दिन्छौं, प्रजिअ पौडेलले भने, 'सर्त र सीमाभित्र रही काम गर्ने प्रतिवद्धता व्यक्त गरेमा भूकम्पपछिको नीजि आवास पुनर्निर्माणको कामले पनि अब निरन्तरता पाउनेछ ।'
मंगलबारसम्म २६ वटा आयोजना सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति लगिसकेका छन् । '११ किलो छेपेटार, भालुस्वाँरा बारपाक सडक योजना कार्यालयअन्तर्गतका ११ वटा सडक निर्माण तथा मर्मतका योजनाहरु सुचारु गर्न अनुमति दिएका छौं, कार्यालयका सूचना अधिकारी हर्क रोकाले भने, 'जलस्रोत कार्यालयले १२ वटा योजना, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, पश्चिम क्षेत्र सेक्टर नं. ४ ले तुरतुरे पुल निर्माणका लागि, सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकले गण्डकी गाउँपालिकामा झोलुंगे पुल निर्माणका लागि, मस्र्याङ्दी काठमाडौं २२० केभी विद्युत प्रशारण लाइनको बिस्तारका लागि अनुमति लगिसकेका छन् ।' 
खानेपानी कार्यालयबाट पनि अनुमतिका लागि फाइल पेश भएको तर कतिवटा योजना छन् भन्ने बारे अध्ययन भइरहेको उनले बताए । आयोजना सञ्चालन गर्न चाहने आयोजना वा कम्पनीले श्रमिक तथा अन्य जनशक्तिलाई आवास र खानाको व्यवस्था गरेर बाहिरका कसैसंग पनि सम्पर्क गर्न नदिईकन कार्यस्थलमै राख्नुपर्ने बाध्यकारी ब्यबस्था गरेको छ । त्यस्तै कामदार बीच व्यक्तिगत दुरी कायम गर्नुपर्ने, दिनहूँ स्वास्थ्य परीक्षण गर्नुपर्ने, मास्क, सेनिटाइजरको व्यवस्था हुनुपर्ने, नियम पालना गरे नगरेको बारे नियमित रुपमा स्थानीय तहको अनुगमन गराउनु पर्ने ब्यबस्था गरेको छ ।
अहिलेसम्म कोरोना भाइरसका संक्रमित एकजना पनि नभएकाले गोरखालाई कम जोखिम भएको जिल्ला भन्न सकिने प्रमुख जिल्ला अधिकारी पौडेल बताउँछन् । जिल्ला प्रवेश गर्ने सबै नाकामा कडाइ गरी जिल्लाभित्रका हलचाल कम हुने खालका कामलाई सुचारु गर्नेतर्फ छलफल भइरहेको उनले बताए ।
धार्चे र गण्डकी गाउँपालिकाले पनि धमाधम आयोजनाहरु सञ्चालन गर्ने जनाएका छन् । आफ्नो पालिका प्रवेश गर्ने सीमानामा कडाइ गरी पालिकाभित्र निर्माणको काम सुरु गर्ने धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले बताए ।
प्रतिक्रिया दिनुहोस !