सुदूरपश्चिमका ठूला योजना सुरु
धनगढी : संघीय सरकारले ठूला योजना निर्माण सुचारु गर्ने निर्णय गरेसँगै सुदूरपश्चिमका ठूला योजना पनि सुरु हुन थालेका छन्। प्रदेशको राजधानी धनगढीमै निर्माणाधीन मोहनापुल-अत्तरिया ६ लेन सडक मंगलबारदेखि सुरु भएको छ। संघीय सरकारको व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत दुई वर्षदेखि निर्माण भइरहेको १५ किमि सडक निर्माण लकडाउनकै दिनदेखि बन्द थियो।
नेपाल-भारत सीमानाकामा रहेको मोहना पुलदेखि उत्तर, अत्तरिया चोकसम्मको करिब १५ किमि सडकको ६५ प्रतिशत काम लकडाउनअघि सकिएको थियो। अहिले केही ठाउँमा बेस र धेरै ठाउँमा कालोपत्रे मात्रै बाँकी छ।
‘संघीय सरकारको निर्देशनपछि मंगलारदेखि निर्माण थालेका छौं’, मोहनापुल-अत्तरिया सडक आयोजनाको पहिलो ठेक्काका इन्जिनियर नवीन देवले भने। ‘जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनअनुसार सुरक्षा प्रबन्ध गरेका छौं। भौतिक दूरी कायम गरेर कम जनशक्ति प्रयोग गरी निर्माण सुरु गरेका हौं।’
गृह मन्त्रालयले, ठूला योजना निर्माणका लागि भौतिक दूरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदुरको दैनिक (बिहान-बेलुका) ज्वरो मापन गर्नुपर्ने, मास्क प्रयोग गर्नुपर्ने, निर्माण व्यवसायीले हरेक साइटमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, मजदुरलाई साबुन र स्यानिटाइजर अनिवार्य दिनुपर्ने भन्दै ‘गाइड लाइन’ जारी गरेको छ।
इन्जिनियर देवले भने, ‘हामी, गृहले दिएको निर्देशनअनुसार नै निर्माणमा खटिएका छौं। यो सडकको, मोहनापुलदेखि बोराडाँडीसम्मको करिब ५ किमि निर्माणको ठेक्का शर्मा÷अमर÷नागार्जुन जेभीले पाएको थियो।
इन्जिनियर देवले अहिले सडकमा सवारी साधन पनि नभएकाले निर्माणमा सहज भएको बताए। ‘लकडाउन खुल्नुअगाडि एकतर्फी कालोपत्रे गर्ने योजनामा छौं’, उनले भने।
बोराडाँडीदेखि अत्तरियासम्म १० किमि सडक पनि निर्माण सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीको स्वीकृतिपछि मंगलबारदेखि नै निर्माण थालिएको राजेन्द्र निर्माण सेवाका प्रबन्ध निर्देशक इन्जिनियर रोशन भट्टले जानकारी दिए।
उनले पनि लकडाउनको अवधिमा एकतर्फी सडक कालोपत्रे गर्ने गरी निर्माण सुरु भएको बताए। ‘अलकत्राको स्टक बढी छैन, अलकत्रा भारतबाट आउँछ, भारतमा पनि लकडाउन भएकाले ल्याउन समस्या हुन्छ कि भन्ने लागेको छ’, प्रबन्ध निर्देशक भट्टले भने।
बोराडाँडीदेखि अत्तरियासम्मको १० किमिमा दुई वटा ठेक्का छन्। ती दुवै ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको थियो। ती दुवै ठेक्कामा ६५ किमि भौतिक प्रगति भएको योजना कार्यालयले जनाएको छ।
मोहनापुल-अत्तरिया योजना कार्यालयका इन्जिनियर लक्ष्मणबहादुर रावलले पनि गृह मन्त्रालयको निर्देशनअनुसार तीन वटै ठेक्काको मंगलबार निरीक्षण गरिएको बताए। ‘गृह मन्त्रालयले दिएको सुरक्षा गाइडलाइनअनुसार काम भएको छ वा छैन, मजदुरको सुरक्षा र कोरोनाबाट बच्ने उपाय भएका छन् कि छैनन् भनेर अनुगमन पनि गरेका छौं,’ उनले भने। तीन वटै ठेक्कामा भौतिक दूरी कायम गरिएको पाइएको उनले बताए।
मेडिकल कलेजको पनि काम सुरु
कैलालीका गेटामा निर्माणाधीन मेडिकल कलेजको पनि बुधबार जिल्ला प्रशासन कार्यालयले निर्माण अनुमति दिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मेडिकल कलेजका मजदुर त्यतै भएकाले निर्माण व्यवसायीलाई काम गर्न अनुमति दिइएको बताए।
मेडिकल कलेजभित्र, कलेज, अस्पताल, प्रशासनिक भवन, चिकित्सक तथा नर्सका आवास गरी २० भन्दा बढी संरचना निर्माणाधीन छन्। तर, प्रशासनको अनुमति पाए पनि काम गर्न भने असहज भएको कुमार श्रेष्ठ निर्माण सेवाका आयोजना प्रबन्धक सुनील पौडेलले बताए।
‘सिमेन्ट बोक्ने गाडीको अभाव छ, धेरै सामान भारतबाट मगाउनुपर्छ, भारतमा लकडाउन छ, इन्जिनियरहरू चिवतनमा छन्, तिनीहरूलाई कैलाली लैजान जिल्ला÷जिल्लाका पास आवश्यक पर्छ,’ आयोजना प्रबन्धक पौडेलले भने।
रानीजमरालाई पनि अनुमति
राष्ट्रिय गौरवको रानीजमरा सिँचाइ आयोजना निर्माण पनि अगाडि बढाउन अनुमति दिइएको छ। कैलालीमा पर्ने कर्णाली नदीमा बाँध बनाएर कैलालीको पूर्वी क्षेत्रमा सिँचाइ सुविधाका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजना निर्माणाधीन छ।
‘केही स्काभेटर सञ्चालनको अनुमति दिइएको छ, मानिसभन्दा पनि उपकरणले गर्न सक्ने कामलाई बढी प्राथमिकता दिन अनुरोध गरिएको छ’, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने।
रानीजमराको ठेक्का पनि कुमार श्रेष्ठ निर्माण सेवाले पाएको हो। ‘त्यहाँ पनि मेडिकल कलेजको जस्तै समस्या आइरहेको छ’, कुमार निर्माण सेवाका आयोजना प्रबन्धक सुनील पौडेलले भने।
हुलाकी पनि सुरु हुँदै
कैलाली र कञ्चनपुरमा निर्माणाधीन हुलाकी सडक पनि केही दिनमै सुरु हुने भएको छ। हुलाकी सडक योजनाका सूचना अधिकारी इन्जिनियर पदम मडैले, तीन दिनअघि नै गृह मन्त्रालयलाई पत्र पठाइसकेको बताए।
उनले, निर्माण व्यवसायीलाई उपकरण र मजदुर ठिक्क राख्न भनिसकिएको बताए। कैलाली र कञ्चनपुरमा अहिले ८७ किमि हुलाकी सडक निर्माण भइरहेको छ। कैलालीमा २५ किमि र कञ्चनपुरमा ६२ किमि हुलाकी सडक निर्माण भइरहेको छ।
कैलालीमा वसन्ता वन क्षेत्रमा १८ किमि र भन्सारदेखि क्याम्पस चोकसम्मको साढे ६ किमि गरी दुई वटा ठेक्का निर्माणाधीन छन् भने कञ्चनपुरमा पनि डोके बजारदेखि बेलौरी, बेलौरीदेखि बेलडाँडी र बेलडाँडीदेखि दैजी गरी तीन वटा ठेक्कामा ६२ किमि सडक निर्माण भइरहेको छ।
कञ्चनपुरका तीन वटा र कैलालीका दुई वटा ठेक्कामा ६५ प्रतिशत भौतिक प्रगति भएको हुलाकी सडक योजनाका सूचना अधिकारी इन्जिनियर मदम मडैले बताए।
फास्ट ट्र्याक पनि सुरु हुँदै
सुदूरपश्चिमको राजधानी धनगढीलाई साविकको क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने गरी डिजाइन गरिएको धनगढी-दिपायल फास्ट्र ट्र्याक निर्माण पनि एक÷दुई दिनमा सुरु हुने भएको छ।
‘फास्ट ट्र्याकका लागि आयोजना प्रमुख आउनुभएको छ। गृह मन्त्रालयले दिएको सुरक्षा गाइडलाइनअनुसार अनुमति दिने तयारी भएको छ’, कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने। करिब ९० किमि फास्ट्र ट्र्याकमा दर्जन ठेक्का लागिसकेका छन्।
प्रतिक्रिया दिनुहोस !