लकडाउनमा ३० दिनदेखि निजी गाडीमा निःशुल्क एम्बुलेन्स सेवा

लकडाउनमा ३० दिनदेखि निजी गाडीमा निःशुल्क एम्बुलेन्स सेवा

कोरोना भाइरस (कोभिड–१९) र लकडाउन शब्द सँगसँगै प्रयोगमा आए । गत चैत ११ गतेदेखि लकडाउन सुरु भयो । लकडाउनले देश ठप्प हुँदा गरिब, बिरामी र अशक्त मारमा नपर्ने कुरै भएन । संकटमा सेवा दिने कम हुन्छन् । लकडाउन घोषणापछि धेरै मान्छेलाई घरमा खाद्यान्न र इन्धनको जोहो गर्ने हतारो थियो । आफू कसरी सुरक्षित हुने भन्ने चिन्ता सबैभन्दा ठूलो थियो । तर, बूढानीलकण्ठ चपलीका सुवास श्रेष्ठले स्थानीय तीन भाइ (सुधीर रेग्मी, राज श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ)सँग छलफल गरेर निजी गाडीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरे ।

सुवास श्रेष्ठ, सुधीर रेग्मी, राज श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र अशोक लामाले निजी गाडीलाई एम्बुलेन्स बनाएर निरन्तर सेवा दिइरहेका छन् । 

लकडाउन नहुँदासम्म चारै भाइ आआफ्नै व्यवसायमा थिए । चैत ११ देखि उनीहरूको व्यवसाय ठप्प भयो । अनि चैत १२ बाट सुरु भयो २४ घन्टे निःशुल्क एम्बुलेन्स सेवा । यो सेवामा लकडाउनको २३ औं दिनपछि थपिए हेटौंडाका अशोक लामा । अन्तिम पटक अशोक थपिएपछि सेवामा २४ घण्टा खटिएका छन्, पाँच भाइ । पाँच भाइका आआफ्नै भोगाइ छन् । आफ्ना सबै दुःख बिर्सिएर उनीहरूले लकडाउनको ३० दिनमा १४ सयलाई सेवा दिइसकेका छन् । 

आराम बिर्सिएका छौँ : सुवास
‘यो आपतकालीन अवस्था ‘लकडाउन’मा सम्पूर्ण काठमाडौं, भक्तपुर, ललितपुरमा रहनु भएका जनताप्रति निःशुल्क एम्बुलेन्स सेवा सरह मेरो घरमा रहेको ४ वटा गाडी ड्राइभरसहित उपलब्ध गराउँदै आएको छु’, सुवासले लेखेका थिए, ‘हजुरहरूको घर, छिमेक, आफन्तलाई अस्पताल जान नपाएर पीडामा परेर मृत्युको सामना गर्नुपर्दैन, हामीलाई फोन गर्नुहोला । तपाईंको घरसम्म हामी आउनेछौँ । मानव सेवा नै धर्म हो ।’ 

चैत १२ गते सुवास श्रेष्ठले फेसबुकबाट सूचना सार्वजनिक गरे । त्यो सूचना हजारौँ सेयर भयो । त्यही सूचनाका आधारमा लकडाउनले एक महिना पूरा गर्दा सेवा लिनेको संख्या १४ सय बढी पुगेको छ।

सुवासको सेवाभावको सूचनामा मन मिल्ने चार भाइको निःशुल्क सेवासँगै फोन नम्बर सार्वजनिक भयो । अहिले उनीहरू बिरामीको सेवाका निम्ति दैनिक उपत्यकाका सडकमा तीनदेखि पाँच सय किलोमिटर गुडिरहेका छन् । यो दौड होइन, एक महिने म्याराथन भइसकेको छ । आराम भन्ने कुरा दिमागमै छैन । सबैको दिमागमा बिरामी र सेवामात्र छ । ‘सामाजिक काममा लागेपछि आराम सोच्न मिल्दैन । यो अवस्थामा हामीले आराम बिर्सिएका छौँ’, सुवास भन्छन्, ‘एउटा गाडी दैनिक थोरैमा तीन सयदेखि धेरैमा पाँच सय किलोमिटरसम्म गुडिराखेको हुन्छ । हामी २४ घन्टे ड्युटीमा छौँ ।’  

लकडाउन लम्बिदै जाँदा सेवामा जुटेका सहयोगी पटकपटक अप्ठेरोमा परेका छन् । तर, सेवाको यात्रा निरन्तर छ । ‘लकडाउन छोटो हुन्छ भनेर सोचेका थियौँ । एक महिना भइसक्यो । संकट लम्बिँदै गर्दा कठिनाइ थपिँदै छ’, सुवास भन्छन्, ‘हामी चारजना २४ घण्टा दौडिएका छौँ । यसको हिसाबकिताब छैन । खर्च चार लाख बढी पुगेको छ । हामी जबरर्जस्त खटिराखेका छौँ ।’ 

सुवासको घरमा आमा, श्रीमती र दुई छोरी छन् । संकटको अवस्थामा २४ घण्टाघरबाहिर दौडिए पनि परिवारको सहयोग पाएकै छन् । वसन्त चौधरी र हिमालयन स्कुलले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराएका छन् । केही साथीले कहिलेकाही गाडीमा तेल हाल्नबाहेक केही सहयोग छैन । 

२४ घन्टे ड्युटीले थकान भए पनि स्वास्थ्यमा केही समस्या नभएको सुवास सुनाउँछन् । ‘खर्च धान्न कठिन हुँदै गएको छ । थकान छ तर अहिलेसम्म स्वास्थ्य ठीकठाक छ’, उनी भन्छन्, ‘परिवारको साथ, आम मानिसको प्रतिक्रिया र बिरामीको खुसीले सेवाबाट मन विचलित छैन ।’

कोभिड–१९ का संक्रमित बढ्दै गर्दा भने बिरामीको सेवामा खट्दा संक्रमण घरमै भित्रिने हो कि भन्ने चिन्ता परिवारमा छ । ‘फेसबुक हेर्दा खुसी लाग्छ राम्रो काम गरेका छौँ’, सुवास आमाको बोली सम्झन्छन्, ‘अरुलाई सुरक्षा दिँदा आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नू ।’ 

आफ्नो घोषणामा साथदिने साथीसँग सुवास खुसी छन् । लकडाउनको २३ औं दिन (वैशाख ३) देखि चारभाइ पाँच पुगेका छन् । दिनभर अरु साथी बढी दौडिन्छन् । सुवास व्यवस्थापनसँगै उद्धारमा पनि हुन्छन् । मध्यरातमा फोन आएपछि सुवास अरु साथीलाई नभनी आफैं निस्कन्छन् ।  ‘मध्यरातमा बिरामीको उद्धार गर्ने म आफैँ हुन्छु । दिनभर दौडिएका साथीलाई फोन गर्न पनि मन लाग्दैन’, सुवास भन्छन्, ‘हिजो राति ३ बजे चिरायु अस्पतालमा बिरामी छोडेर फर्किएँ । आज बिहान ६ बजे निस्किएँ ।’ 

सुरुको दिनमा पासको समस्याले यो टिमले निक्कै दुःख पायो । सेवाभावले निस्किएका युवा अप्ठ्यारोसँग भागेनन् । किनकि उनीहरूको लडाइँ नै अप्ठेरो र संकटसँग थियो । 

सुवास निःस्वार्थ भावनाले काम गर्ने मान्छेलाई अवरोध नगर्न प्रशासनलाई आग्रह गर्छन् । ‘हामी निःस्वार्थ भावनामा निःशुल्क बिरामी बोकेर हिँडेका छौँ । प्रहरीले निजी गाडीले किन बिरामी बोकेको भनेर हाम्रो सवारीको पास च्यातेको तीतो अनुभव पनि हामीसँग छ’, भन्छन्, ‘हाम्रो निःस्वार्थ भावनामाथि प्रहरी प्रशासनलाई बाटोमा ‘डिस्टर्व’ नगर्न अनुरोध गर्छु ।’ 

 दिमागमा बिरामी मात्र आउँछन् :सुधीर

मंगलबार बिहान ८ः३० बजे फोन गर्दा सुधीर रेग्मी सानेपामा बिरामी कुरिरहेका थिए । ‘राति एक बजे सुतेको । बिहानै बूढानीलकण्ठबाट हरिसिद्धि क्यान्सर अस्पतालमा बिरामीलाई पुर्‍याएर सानेपा आइपुगेको छु’, कसरी चल्दै छ दैनिकी ?सुधीरले भने, ‘अब सानेपाबाट केएमसी अस्पताल, सिनामंगल, त्यसपछि नेपालटारबाट भक्तपुर क्यान्सर अस्पताल, त्यहाँबाट फर्किएर गोल्फुटार पुगेर फेरि हरिसिद्धि क्यान्सर अस्पतालमा बिरामी पुर्‍याउने ‘सेड्युल’ बनिसकेको छ ।’ 
लकडाउन ३० दिनमा चल्दै गर्दा उनको समाजसेवा चर्को बनेको छ । दैनिक दुई तीन सयसम्म कल आउँछन् । ‘अहिले फोन यसरी बज्छ कि यो रिङ सुन्दा पनि ‘इरिटेट’ हुन थालिसक्यो’, सुधीरले थपे । 

दैनिक बिरामीका लागि दौडिएका सुधीरको दिमागमा बिरामीबाहेक अरु केही छैन । ‘चैत १२ गते जिल्ला प्रशासनबाट सवारी पास लिएपछिनिरन्तर सेवामा छौँ । अहिले त दिमागमा बिरामी मात्र छ’, सुधीर भन्छन्, ‘यस्तो भयो कि घरपरिवार नै बिर्सन थालियो ।’

लकडाउनको संकट दौडले रमाइलो, आराम र निद्रा त हराएकै छ । खानाको कुनै टुंगो छैन । ‘खानाको समय थाहा नै छैन । बिहानको खाना कस्तो हुन्छ देखेको पनि छैन’, सुधीर भन्छन्, ‘कहिलेकाहीँ खाना खान जान्छु भन्यो बाटोमै फोन आउँछ । सुन्नै नसक्ने पीडा सुनाएपछि भात खान जाँदैछु भन्नै सकिँदैन । गाडीमै राखेको चाउचाउ र पानी खायो, दौडियो ।’ 

भात नखाई दौडिँदा दौडिँदै ग्यास्ट्रिक बढेको छ । कतिपयले अनावश्यक फोन गरेर दुःख दिँदा चित्त काटिएको छ । दुःख दिने फोनमात्र सुवासले दैनिक दुईदेखि ३ वटासम्म सहनु परेको छ । ‘हामी सबैथोक छोडेर निःशुल्क सेवामा छौँ । संकटमा भए सेवा लिनुहोस्’, सुधीर भन्छन्, ‘अन्यथा, अनावश्यक फोन गरेर दुःख दिने, कति पैसा पर्छ भनेर जोकर बनाउने काम नगर्नुहोस् । यसले हामीलाई दुःखी बनाउँछ ।’

 पुलिसले पास नै च्यातिदियो – कृष्णगोपाल 
समाजसेवामा पनि सधैँ हौसला हुँदैन । निःस्वार्थ सेवा गर्नेले विभिन्न हन्डर र ठक्कर पाइरहेका हुन्छन् । लकडाउनको संकटमा निःशुल्क सेवामा २४ घण्टा खटिएका कृष्णगोपाल श्रेष्ठको सवारी पास सुरक्षाकर्मीले नै च्यातिदिए । 

निजी गाडीमा बिरामी पुर्‍याएर फर्किंदै गर्दा उनको सवारी पास प्रहरी हवल्दारले च्यातिदिएका हुन् । साँखुमा उनको सवारी पासमात्र च्यातिएन, हप्की–दप्कीसँगै उनी घण्टाँै रोकिए । ‘कुरा वैशाख ३ गतेको हो । नारायणथानबाट डायलासिसको बिरामीलाई जोरपाटीभित्र पुर्‍याएँ’, कृष्णगोपाल त्यो क्षण सम्झँदै भन्छन्, ‘साँखु जाँदै गर्दा इन्द्रेणी चोकमा रहेका प्रहरी हवल्दारले पास निकाल्नुहोस् भने । मैले निकाल्न नपाउँदै तानेर च्यातिदिए ।’ 

प्रहरीलाई आफ्नो सेवाकर्म यथार्थ बताएपछि उनी त्यही च्यातिएको पास टालेर हिँडे । साँखु पुगेर फर्किंदै गर्दा फेरि चुच्चेपाटी चोकमा ट्राफिक प्रहरीको हप्की खानुपर्‍यो । यथार्थ बताउँदा पनि एक घण्टासम्म रोकेर सोधपुछ गर्‍यो । ‘निःशुल्क बिरामी भन्ने अनि पैसा लिएर बोक्ने ?’, ट्राफिकले शंकाको दृष्टिले हेरे । 

प्रहरीको यो व्यवहारले भने कहिलेकाहीँ कामै बन्द गरौँ जस्तो पनि लाग्छ । फेरि दैनिक सयौँ कल आउँदा र बिरामीलाई अस्पताल हुँदै घर पुर्‍याउँदा पाउने धन्यवाद र आशीर्वादले काम छोड्न मन लाग्दैन । पास लिएर गाडी दुरुपयोग भयो । कालो सिसा राखेर किन चलाएको ? निजी गाडीमा किन बिरामी बोकेको भनेर सुरक्षाकर्मीको गाली खानु पर्दा दुःख लाग्छ । 

‘बिरामीको पैसा खाने भनेको सुन्दा यो कामै बन्द गरौँ लाग्छ’, कृष्णगोपाल भन्छन्,  ‘हामी दिनरात सेवाका लागि दौडिराखेका छौँ । सुरक्षाकर्मी भने अपराधी जस्तो गरी केरकार गर्छन् ।’ कतिपय ठाउँमा प्रहरीलाई बिरामीको नम्बरसम्म दिनुपर्छ । सेवामा दौडिँदा दौडिँदा आराम बिर्सिएका योद्धा दैनिक परीक्षा दिन बाध्य छन् । 
सेवामा दौडिएको २७ दिन पूरा हुँदा साँखुमा बाहेक अन्य ठाउँमा भने प्रहरीको दुव्र्यवहार सहनुपरेको छैन । परिवारले राम्रो सहयोग गरेको छ । उनी आफ्नो सुरक्षाका लागि चनाखो छन् । 

बिरामीले दिने धन्यवादले खुसी मिल्छ । बालाजुको अष्टनारायण हल अगाडिबाट ललितपुरको सुमेरु अस्पतालमा एकजना एपेन्डिसाइटिसको बिरामीलाई पुर्‍याउँदा पाएको खुसी उनी सधैँ सम्झिन्छन् । ‘दृष्टिविहीन आमा–छोरा बस्नु हुँदोरहेछ । छोरा एपेन्डिसाइटिसले सिकिस्त भएको बेला अस्पताल पुर्‍याइदिएँ’, त्यसपछि बुढीआमाले दिएको धन्यवादले खुसी मिलेको कृष्णगोपाल सम्झिन्छन्, ‘यो बुढेसकालमा मेरो आँसु पुछिदिनुभयो । आशीर्वाद भन्नुभयो । उहाँको अनुहारमा त्यो बेला देखिएको खुसी म कहिल्यै बिर्सन्नँ ।’ 

कहिलेकाही राजनीतिक मान्छेले यस्तो केही काम लगाउँदा भने नगर्ने गरेको उनले सुनाए । बिरामी भए वडाध्यक्ष र मेयरसम्मका परिवारलाई सहयोग गर्ने तर अन्य सहयोग माग्दा ‘इग्नोर’ गरेको उनको भनाइ छ । 

देश विदेशबाट संसारमा रहेका नेपालीले हौसला दिइरहेका बेला नगरपालिकाबाट सहयोग नहुँदा भने मन दुखेको कृष्णगोपाल सुनाउँछन् । 

‘तेल नहुँदा सापट मागेर तेल हाल्नुपर्छ । तर, नगरपालिका र मेयरसाबले एकपटक धन्यवाद त परकै कुरा भेट्न जाँदा तीन घन्टा कुराउनुभएको छ’, असन्तुष्टि पोख्दैउनी भन्छन्, ‘यस्तो किन गर्नुहुन्छ भनेर उहाँलाई प्रश्न गर्न मन लागेको छ ।’

यो अवधिमा उनले अधिकांश गर्भवती, मिर्गौलाका बिरामी र डायलासिस गर्न जानेलाई बोकेका छन् । कोभिड–१९ को आशंका गरिएका धेरै ज्वरो आएका बिरामीलाई भने एम्बुलेन्स बोलाउन आग्रह गरेको उनले सुनाए । 

छोरा क्यान्सरले बितेपछि समाजसेवामाः राज
चैत १२ गतेदेखि खटेको यो समूहमा राज श्रेष्ठ आफ्नो गाडीसहित दौडिरहेका छन् । उनी क्यान्सर पीडित ९ र ११ वर्षका दुई बालकलाई दैनिक बूढानीलकण्ठबाट कान्ति बाल अस्पताल ल्याउने र लाने गर्छन् । यसबाहेक समय भ्याएसम्मका बिरामी बोक्न कहिले भक्तपुर, कहिले ललितपुर र काठमाडौंका कुनाकुना पुग्छन् । 

सुवासले चालेको समाजसेवी कदममा साथ दिने उनको आफ्नै पीडा छ । त्यही पीडाबाट मुक्त हुन उनी अरुलाई सेवा दिइरहेका छन् । ‘कसैको प्रेसरमा होइन, भित्री मनदेखि जागेको भावनाअनुसार यो परिस्थितिमा खटिराखेको छु’, राज भन्छन्, ‘भित्रीमनदेखि जागेर गरेको काम भएकाले यो परिस्थितिमा काम गरेका हौँ । मेरो सात वर्षीय छोरा क्यान्सर पीडित भएर बितेको हो । आफ्नै पीडा सम्झेर अप्ठेरोमा परेकालाई सहयोग गरिराखेका छौँ ।’

ब्लड क्यान्सर पीडित बूढानीलकण्ठका दुई बालक कान्ति अस्पतालमा किमो दिन हप्तामा तीन पटकसम्म पुर्‍याउनुपर्छ । उनीहरूलाई आफ्नै छोराको पीडा सम्झेर सहयोग गरेको उनको भनाइ छ । ‘एउटाको नाम कृष्ण कुमाल हो, अर्कोको नाम थाहा छैन । बच्चा मलाई देख्दा खुसी हुन्छन् ।उनीहरूको खुसीमा आफ्नै छोरा सम्झिन्छु’, उनी भन्छन्, ‘छोरालाई ६ वर्षमा क्यान्सर भएको थाहा पाएर उपचार गराउँदा गराउँदै सात वर्षमा गुमाउनु पर्‍यो । कसैले पनि उपचार अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सहयोग गर्छु ।’ 

बिरामीको सेवा गर्दा आनन्द आउने उनको अनुभव छ । कतिपय बिरामीले घर पुर्‍याएपछि चिया खाएर जान अनुरोध गर्छन् । यसले उनीहरूलाई खुसी मिल्छ । कृष्णगोपाललाई जस्तै राजलाई पनि आफ्नै नगरपालिकाका मेयरको व्यवहार चित्त बुझेको छैन । अन्य क्षेत्रमा सुरक्षाकर्मीले समेत सहयोग गर्दा नगरभित्र बढी केरकार  गरेको अनुभव उनीसँग छ । 

‘म बूढानीलकण्ठ नगरपालिका १३ को स्थानीय बासिन्दा हुँ । हामी यो कार्यमा सक्रिय भएको मेयर उद्धव खरेललाई थाहा छ । तर, उहाँले आजसम्म सहयोग त परको कुरा धन्यवादसम्म दिनुभएको छैन’, राज भन्छन्, ‘उहाँ राजनीतिमा लाग्नु अघि शिक्षक हुनुहुन्थ्यो । मलाई विद्यालयमा पढाउनु पनि भएको हो । संसारमा रहेका नेपालीले हामीलाई शुभकामना र हौसला दिँदा उहाँ थाहा नपाएजस्तो गरेर बस्नुभएको छ । यो देख्दा दुःख लाग्छ ।’

धनी मानिसको गरिब मानसिकता : अशोक
समाजसेवी चार भाइसँग लकडाउनको २३ दिनपछि अशोक लामा जोडिए । हेटौँडा घर भएर नयाँ बसपार्क माछापोखरी बस्ने लामा वैशाख ३ गतेपछि यो सेवामा जुटेका हुन् । सुवाससँग पुरानै चिनजान भएपनि फेसबुकमा यो पोस्ट देखेपछि उनी सहयात्रा गर्न तयार भए । 

‘यो समयमा बिरामीलाई सहयोग गर्न पाउँदा काम गर्न जोस जाँगर आउने रहेछ’, उनले एक साताको अनुभव सुनाए । यसअघि आफ्नै ट्याक्सी चलाएका लामा ट्याक्सी बेचेर विदेश जाने तयारीमा थिए । लकडाउनले सबैकुरा रोकिएपछि कोठामै बसेका सुवास समाजसेवामा लागेका हुन् । 

उनी अहिले दैनिक १६ देखि २० जनासम्म बिरामी बोक्छन् । ‘कहिलेकाही त २० जना पनि हुन्छन् । बिहान ४ बजेदेखि नै फोन आउँछ’, २४ घन्टे सेवा भनेपछि रात भन्न मिल्दैन ।’

ज्वरो आएका वा रुघाखोकीका बिरामी अस्पताल लानुपरे पीपीई, मास्क र पन्जा प्रयोग गरे पनि अन्य बिरामीलाई अस्पताल पुर्‍याउँदा सामान्य ढंगले चल्ने गरेको उनको अनुभव छ । यो संकटको समयमा असहाय, गरिब र नसक्नेका लागि मात्र सेवा आवश्यक भएको उनी सुनाउँछन् । कतिपय मान्छेले फोन गरेपछि घरमा पुग्दा दुई चारवटा गाडी पार्किङमा हुन्छन् । धनी मानिसको गरिब मानसिकता देख्दा अशोकको मन दुख्छ । 

‘सरकारले लकडाउन अवधिमा इमर्जेन्सी काम भए घरमै गाडी हुनेलाई चलाउन रोक लगाएको छैन । तर, कतिपय व्यक्ति निःशुल्क पाइन्छ भनेर हामीलाई फोन गर्छन्’, उनी भन्छन्, ‘धनी मानसिको गरिब मानसिकता देखेर दुःख लाग्छ ।’ 

अशोक थप्छन्, ‘फोन गर्दा गरिब र धनी भनेर सोध्ने कुरा पनि भएन ।’ अहिले धेरै मान्छेलाई उपत्यकामा सेवा दिए पनि यो सेवा गरिबको पहुँचमा नभएको उनको ठहर छ । ‘हामी सेवाका लागि २४ घण्टा दौडिरहेका छौँ’, भन्छन्, ‘तर, मोबाइल र सामाजिक सञ्जालमा पहुँच नभएका मान्छे चाहिँ हाम्रो सेवाबाट वञ्चित छन् । त्यसका लागि के गर्न सकिन्छ भनेर पनि हामी सोच्दै छौँ ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.