तीन पटक आरडिटी पोजिटिभ देखिएकी मृतक युवतीको पीसीआर रिपोर्ट नेगेटिभ
वीरगंज : वीरगन्जमा लगातार ३ पटक गरिएको आरडिटी टेस्टको रिपोर्ट पोजिटिभ देखिएकी मृतक युवतीको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया मृतक युवतीको पीसीआर रिपोर्ट नेगेटिभ आएको नारायणी हस्पिटलका डा निरज सिंहले जानकारी दिए ।
उनको आइतबार बिहान मृत्यु भएको थियो। ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो।
एक महिना पहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी उनलाई शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि अभिभावकले नेशनल मेडिकल कलेजमा लगेका थिए। तर मेडिकल कलेजले बेड खाली नरहेको भन्दै फर्काएपछि युवतीलाई एडभान्स हस्प्टिलमा लगियो।
एडभान्स हस्पिटलले पनि आइसीयू बेड खाली नभएको जवाफ दिएपछि अभिभावकले युवतीलाई तराई हस्पिटलमा पुर्याएका थिए। शनिबार तराई हस्पिटलमा कोरोना संक्रमणको आशंकामा युवतीको आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ आएपछि अर्को पटक पनि रिपोर्ट पोजिटिभ आयो।
तराई हस्प्टिलमा लगातार रिपोर्ट पोजिटिभ आएपछि शनिबार राति नारायणी अस्पतालबाट गएका स्वास्थ्यकर्मीको टोलीले पनि युवतीको आरडिटी टेष्ट गरेको थियो। तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान १ बजेतिर तराई हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको थियो ।