विवाहको खर्च कटाएर नेता काफ्लेले गरे कोरोना कोषमा दुई लाख सहयोग
काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ) का पूर्व महामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्च कटाएर कोभिड-१९ प्रधानमन्त्री राहत कोषमा दुई लाख रुपैयाँ सहयोग गरेका छन्। पूर्वमहामन्त्री काफ्लेले स्वास्थ्य मन्त्रालय पुगेर विवाह खर्च कटाएर राहत कोषमा रकम जम्मा गरेका हुन्।
काफ्ले र मेनुका अधिकारी यही बैशाख १४ गते (आइतबार) विवाह बन्धनमा बाँधिएका हुन्। यो जोडीले सोमबार स्वास्थ्य मन्त्रालय पुगेर रकम स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेको हो।
नेपालमा हालसम्म ५२ जनामा कोरोना संक्रमित देखिएका छन्। १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचार भइराखेको छ। सरकारले ७७ जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।