लकडाउनमा सामाजिक सुरक्षा भत्ता लिन सास्ती

लकडाउनमा सामाजिक सुरक्षा भत्ता लिन सास्ती

वीरगन्ज : ‘हइ आफतमे सरकार घरमे लिआके बुढा पेन्सन् दे दीत् त बडा धर्म होइत् (यस्तो संकटको बेला वृद्धभत्ता घरमै दिने हो भने धर्म हुन्थ्यो ), घरबाट दुई घण्टा हिँडेर वृद्धाभत्ता लिन वीरगन्जको कृषि विकास बैंक पुगेका ७५ वर्षीय वृद्ध मखा राउतले दुखेसो पोखे ।

कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनमा सवारी सधान चलेका छैनन् ।  जसका कारण वीरगन्ज महानगरको ग्रामीण भेगमा अशक्त वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्याक्ति सामाजिक सुरक्षा भत्ता लिन डेढ दुई घण्टा पैदल हिँडेर बैंक धाउन बाध्य छन् ।
 

मङ्गलबार वीरगन्जको घण्टाघर स्थित कृषि विकास बैंक अगाडिको सडकपेटीमा पालो कुरेर बसेका भवानीपुरका वृद्ध मखा भन्छन् ,‘लकडाउनमा पुलिसले मोटरसाइकल पनि चल्न दिएको छैन, गाउँबाट पैदल हिँडेर आउनु परेको छ, बैंकमा पालो कुरेर बसेको पनि डेढ घण्टा भइसक्यो, कतिखेर पालो आउँछ ठेगान छैन, १ बजे त बैंक नै बन्द हुन्छ भन्ने सुनेको छु ।'
 
मखाको छेउमै पालो कुरेर बसेका ८६ वर्षीय वृद्धा दुखी राउतले भने, ‘आइतबार पनि बैंक आएको थिएँ , भीडभाड धेरै भएपछि १ बजे बैंक बन्द भयो, घर फर्किएँ , मङगलबार फेरि आएको छु , यो लकडाउनमा सरकारले पहिलेको जस्तै गाँउमै भत्ता ल्याएर दिए हामी बुढाबुढीलाई धेरै राहत हुन्थ्यो ।' 
  
बगही दरदरवा गाँउबाट नातिको साइकलमा चढेर बैंकसम्म आइपुगेकी एकल वृद्धा महिला पासपति देवीले फागुनमै पाउनु पर्ने भत्ता रकम २ महिना ढिला हुँदा परिवार नै समस्यामा परेको गुनासो गरिन् । लकडाउनमा डेढ महिनादेखि छोरानातिको कामधन्दा बन्द छ, गाँउमा पाएको राहत पनि एक हप्ता मै सक्कियो', उनले भनिन्, ‘छोरा नातिको भोको पेट भर्ने आश अब यही भत्तामा छ, यो पनि दुई महिना ढिलो भइसक्यो, म बुढीले दवादारु (औषधी मुलो ) पनि किनेर खान पाएको छैन ।'
 
हिँडेरैआइपुगेकी बिर्ताप्रसौनीकी ७० वर्षीया एकल महिला भँवरी देवीका सामु अन्नपुर्णपोष्टकर्मी पुग्दा उनी भक्कानिएर रुन थालिन् । सारीको फेरोले आँशु पछ्दै उनले भनिन् ,‘मेरो त न श्रीमान् छन् न छोरा नै छ , ४ महिनामा १२ हजार भत्ता उठाएर पेट पालिरहेको थिएँ , तर अहिलेको यो महामारीको कारणले फागुनमै पाउनु पर्ने भत्ता अहिलेसम्म पाएको छैन, कुनै-कुनै दिन त भोकै पनि बसेको छु ।'
 
वीरगन्ज महानगरपालिकाले सामाजिक सुरक्षा भत्ताको रकम ,वीरगन्जमा रहेको कृषि विकास बैंकको शाखा कार्यालयमा लक्षित सेवाग्राहीको नाममा खाता खोलेर त्यही खातामार्फत चार-चार महिनामा उपलब्ध गराउँदै आएको छ । सामाजिक सुरक्षा भत्ताको रकम झिक्न, लक्षित सेवाग्राही आफैँ बैंकमा पुग्नु पर्ने अनिवार्यता छ । 

तर अहिले कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको लकडाउनमा सवारी साधन चलेका छैनन् । जसका कारण महानगरको ग्रामीण भेगका सामाजिक सुरक्षा भत्ताका लक्षित अशक्त वृद्धवृद्धा, अपाङ्गता भएका व्याक्ति, एकल महिला गाँउबाट डेढ दुई घण्टा पैदलै हिँडेर बैंकसम्म धाउन बाध्य छन् । 
 
त्यसमा पनि स्थानीय प्रशासनले लकडाउनमा बिहान ११ देखि दिउँसो १ बजेसम्म २ घण्टाका लागि मात्रै बैंक तथा बित्तीय संस्था खोल्न दिएको छ । जसका कारण सामाजिक सुरक्षा भत्ताका कतिपय लाभग्राहीको पालो नआउँदै बैंक बन्द भएपछि रित्तै हात घर फर्किन बाध्य छन् ।चालु आर्थिक वर्षको दोश्रो चौमासको भत्ता रकम फागुन मै उपलब्ध गराउनु पर्नेमा महानगर र बैंकले लकडाउनका कारण देखाउँदै २ महिना ढिला बाड्न थालेका कारण पनि लाभग्राही थप मर्कामा परेका छन् । 
 
बैंकबाट भत्ता रकम उपलब्ध गराउने नियम राम्रो भए पनि अहिले लकडाउनका बेला भने उक्त रकम पहिलेको जस्तै घरघरमा पुरर्‍याउने व्यवस्था मिलाइ दिनु पर्ने अशक्त वृद्धवृद्धा, अपाङगता भएका व्याक्ति र एकल महिलाहरुले महानगरसँग आग्रह गरेका छन् । 
 
स्थानीय तहको निर्वाचन अघिका वर्षहरुमा साविकको गाविस हुँदा तत्कालीन गाविसका सचिवले घर घरमै पुगेर भत्ता रकम बाँडने गरेका थिए । तर उ बेला भत्ता रकममा गाविस सचिवले अनियमितता गरेको गुनासो आएपछि २०७४ साउनदेखि यता सरकारले बैंकमार्फत लक्षित लाभग्राहीलाई भत्ता रकम उपलब्ध गराउँदै आएको हो । 
 
'बैंकबाट भत्ता रकम बाड्ने नियम राम्रो छ, तर अहिले लकडाउनमा गाडी चलेको छैन, पुलिसले बाटोमा हिँड्दा पनि दुख दिइरहेको छ', सबैठवाका वृद्ध महादेव राउत भन्छन् , ‘त्यसैले यो लकडाउनमा मात्रै वडा सचिवले घर घरमै पुर्‍याइदिने हो भने धेरै सजिलो हुन्थ्यो ।' 
  
कृषि विकास बैंकका शाखा प्रबन्धक कोमलप्रसाद सिटौलाले पनि लकडाउनमा सामाजिक सुरक्षा भत्ताको रकम लिन ग्रामीण भेगका लाभग्राही पैदलै बैंकसम्म आइरहेको बताए । 
 
'जस्को नममा  खाता छ ऊ आफैँ बैंकमा आउनु पर्ने नियम छ',  उनले भने, ‘चेकमा आफ्नो नामको हस्ताक्षर(सही) गर्न सक्ने हकमा उसको आफन्त आएर रकम झिक्न सक्छन् , तर ल्याप्चे लगाउनेको हकमा भने आफै बैंकमा आउनु नै पर्छ ।' 
 
बैंकसम्म आउन असमर्थ अशक्तको हकमा भने सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र लिएर आउनेलाई बैंकले भुक्तानी दिन सक्ने विकल्प पनि रहेको सिटौलालले सुझाए । सिटौलाका अनुसार , वीरगन्ज महानगरपालिकाको ३२ मध्ये ग्रामीण भेगका ११ वटा वडा मात्रैमा ज्येष्ठ नागरिक, दलित ज्येष्ठ, एकल महिला , आंशीक अपाङ्ग, पूर्ण अपाङ्ग  र दलित बालबालिका गरी सामाजिक सुरक्षा भत्ताको सुविधा दिन्ने ६ हजार ५ सयभन्दा बढी छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.