अत्यावश्यक उद्योगको क्षमता ४९ प्रतिशत उपयोग

अत्यावश्यक उद्योगको क्षमता ४९ प्रतिशत उपयोग

काठमाडौं : लकडाउनपछि अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग पूर्णरूपमा सञ्चालनमा आउन सकेका छैनन्। सरकारी तथ्यांकअनुसार औद्योगिक करिडोरका १५० उद्योग औसत ४९.३० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वटा औद्योगिक क्षेत्रमा अत्यावश्यक उद्योगको अवस्थाबारे अध्ययन गरेको छ। अध्ययनअनुसार ती उद्योगमा तीन हजार ५ सय ८८ कामदार अनुपस्थित छन्। लकडाउनअघि कुल ५ हजार १ सय ९० कार्यरत मजदुरमध्ये जम्मा एक हजार ६ सय दुई जनामात्रै उपस्थित रहेको तथ्यांकले देखाएको छ।

पोल्ट्रीमा १० करोड क्षति, इँटामा ५० लाख

लकडाउनपछि ठूलो क्षति दाना र पोल्ट्री उद्योगमा परेको छ। हाल ३० प्रतिशत क्षमतामा मात्रै यी उद्योग सञ्चालनमा छन्। १२ दिनदेखि सुख्खा बन्दरगाहबाट कच्चा पदार्थ लोड हुन सकेको छैन। थोरै मात्र उद्योग कामदार राखेर सञ्चालनमा आइरहेको अध्ययनले देखाउँछ। लकडाउनपछि करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अध्ययनले देखाएको छ।

त्यस्तै इँटा उद्योग २५ प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएका छन्। इँटा उद्योगमा ४० देखि ५० लाख रुपैयाँ सम्मको क्षति पुगेको छ। नयाँ उत्पादन नगरी स्टकमात्रै बिक्री गरिरहेको छ। कोइला आयात बन्द हुँदा इँटाको नयाँ उत्पादन हुन नसकेको अध्ययनले देखाएको छ।

इँटा उद्योगमा अधकांश कामदार भारतीय नागरिक रहेकाले सबै घर फिर्ता भएका छन्। यद्यपि बाराको इँटा उद्योगले करिब १ सय ५० कामदार कामविहीन अवस्थामा पालिराखेको अध्ययनले देखाउँछ।

कुन उद्योगको अवस्था कस्तो ?

मन्त्रालयले १० किसिमका उद्योगको क्षमता, कच्चा पदार्थ उपलब्धता, कामदारको अवस्था र नोक्सानीलाई आधार मानी अध्ययन गरेको छ। अक्सिजन प्लान्ट विगतझै ७० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ। यसमा कामदार पनि धेरै नलाग्ने भएकाले विगतमाझै काम भइरहेको छ। नोक्सानी पनि यो उद्योगले व्यहोर्नुपरेको छैन।

अत्यावश्यक खाद्यान्न (चामल, दाल, पिठो, तेल) उत्पादन गर्ने उद्योग विगतमा जस्तै ६० प्रतिशत क्षमतामा चलिरहेका छन्। कच्चा पदार्थको आयातमा भने गिरावट आएको छ। २० प्रतिशत कच्चा पदार्थ आयात हुनेमा १० प्रतिशत मात्रै आयात भइरहेको तथ्यांकले देखाउँछ। यद्यपि कच्चा पदार्थको मौज्दात औसत तीन महिनालाई धान्ने अवस्थामा छ। खाद्यान्न उद्योगमा जम्मा ५० प्रतिशत कामदार मात्रै उपस्थित छन्।

डेरी उद्योग पनि विगतमा झै ७० प्रतिशत क्षमतामा सञ्चालित रहेको तथ्यांकले देखाएको छ। यसअघि दूधको अभाव भए पनि गत ८ गतेदेखि नियमित उपलब्ध भइरहेको छ। डेरी उद्योगमा ५ देखि १० प्रतिशतको क्षति भएको अध्ययनले देखाएको छ।

खाना पकाउने ग्यास उद्योगमा भने कुनै समस्या नभएको तथ्यांकले देखाउँछ। खानेपानी उद्योग अहिले जारको पानी मात्रै उत्पादन गरिरहेको छ। बोतल र बिर्काेको अभावमा बोतलको पानी उत्पादन भइरहेको छैन।

औषधिमा जोखिम बढी

औषधि उद्योग जम्मा २५ प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ। बजारमा माग धान्ने अवस्थामा कच्चा पदार्थ रहे पनि मागमा कमी आएको बताइएको छ। पैसा नउठ्ने र प्रयोग मिति पनि चाँडै सकिने हुँदा लगानी जोखिम बढेको उल्लेख छ।

रसायन र कच्चा पदार्थ मुख्यतः चीन र भारतबाट आयात हुन्छ। यद्यपि दुवै मुलुकबाट हुने आयात प्राय ठप्प रहेको तथ्यांकले देखाएको छ। यद्यपि चार महिनालाई धान्ने मौज्दात रहेको छ।औषधि उद्योगमा कार्यरत कामदार भने यथावत छन्।

सुनसरी–मोरङ सुनसान

उद्योगको हब मानिने मोरङ–सुनसरी औद्योगिक करिडोरमा उद्योग प्राय बन्द छन्। कच्चा पदार्थ अभाव र ढुवानी समस्याका कारण त्यहाँका उद्योग चल्न नसकेको अध्ययनले देखाउँछ।

खाद्यान्न उत्पादन गर्ने उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन्। ढुवानी समस्याले प्रदेश १ भित्रबाट आउने गहुँलगायत कच्चापदार्थ मिलमा आउन सकेका छैनन्। कार्टुन, पाउच, लेबलिङ जस्ता प्याकेजिङ सामानको आयातमा समस्या छ। कोरोना संक्रमणका डरले कामदार समेत आउन सकेका छैनन्। डेरी उद्योग ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन्। दूधको मागमा ६० प्रतिशतले कमी आउँदा डीडीसीबाहेक सबै बन्द छन्।

ह्याचरी उद्योग २० प्रतिशत क्षमतामा मात्रै सञ्चालनमा छन्। दाना उद्योगमा प्रयोग हुने चुनढुंगा हेटौंडा र उदयपुर उद्योग बन्द हुँदा कच्चा पदार्थमा ठूलो समस्या छ। ढुवानी समस्याका कारण चिया उद्योग संकटमा छन्। त्यस क्षेत्रका इँटा उद्योग सबै ठप्प छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.