लकडाउनले सामाजिक सुरक्षा भत्ता लिन सास्ती
वीरगन्ज : ‘हइ आफतमे सरकार घरमे लिआके बुढा पेन्सन् दे दीत् त बडा धर्म होइत्’ (यस्तो संकटको बेला वृद्ध भत्ता घरमै पुर्याइदिने हो भने सरकारलाई हामी बुढापाकाले आर्शिवाद दिन्थ्यौँ) घरबाट दुई घण्टा पैदल हिँडेर भत्ता लिन वीरगन्जको कृषि विकास बैंकमा आइपुगेका ७५ वर्षीय मखा राउतले भने। कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेकाले सवारी साधन चलेका छैनन्।
लकडाउनकै कारण वीरगन्ज महानगरको ग्रामीण क्षेत्रका वृद्धवृद्धा भत्ता लिनका निम्ति पैदल हिँड्न बाध्य छन्। मङगलवार वीरगन्जको घण्टाघरस्थित कृषि विकास बैंक अगाडिको सडकपेटिमा पालो कुरेर बसेका भवानीपुरका मखा भने ,‘लकडाउनमा पुलिसले मोटरसाइकल पनि चल्न दिएको छैन, गाँउबाट पैदल हिँडेर आउनु परेको छ, बैंकमा पालो कुरेर बसेको पनि डेढ घण्टा भइ सक्यो, कति खेर पालो आउछ ठेगान छैन, १ बजे त बैंक नै बन्द हुन्छ भन्ने सुनेको छु।’
मखाको छेउमै पालो कुरेर बसेका ८६ वर्षीय दुखी राउतको गुनासो पनि उस्तै छ। ‘आइतबार पनि बैंक आएको थिएँ, भिडभाड धेरै भएपछि १ बजे बैंक बन्द भयो, घर फर्किए, मङगलबार फेरि आएको छु, यो लकडाउनमा सरकारले पहिलेको जस्तै गाउँमै भत्ता ल्याएर बाँडेको भए बुढाबुढीलाई राहत हुन्थ्यो’, उनले भने।
बगही दरदरवा गाउँबाट नातीको साइकलमा चढेर बैंकसम्म आइपुगेकी एकल महिला पासपति देवीले फागुनमै पाउनु पर्ने भत्ता रकम दुई महिना ढिला हुँदा परिवार नै समस्यामा परेको गुनासो गरिन्। 
‘लकडाउनमा डेढ महिनादेखि छोरानातीको कामधन्दा बन्द छ, गाउँमा पाएको राहत पनि एक हप्ता मै सक्कियो’, उनले भनिन्, ‘छोरा नातीको भोको पेट भर्ने आश अब यही बुढा भत्तामा छ, यो पनि दुई महिना ढिलो भइसक्यो , म बुढीले दवादारु (औषधि मुलो) पनि किनेर खान पाएको छैन।’
सामाजिक सुरक्षा भत्ताको रकम लिन पैदल हिँडेर मङगलबार घण्टाघरस्थित बैंक आइपुगेकी बिर्ताप्रसौनीकी ७० वर्षीया एकल महिला भँवरी देवी कुरा गर्दागर्दै रुन थालिन्। 
‘मेरो त न श्रीमान् छन् न छोरा नै छ, ४/४ महिनामा १२ हजार वृद्धा भत्ता उठाएर पेट पालिरहेकी थिएँ, तर अहिलेको यो महामारीको कारणले फागुनमै पाउनु पर्ने भत्ता अहिलेसम्म पाएको छैन’, आँसु पुछ्दै उनले भनिन्, ‘कुनै कुनै दिन त भोकै पनि बसेकी छु।’सामाजिक सुरक्षा भत्ताको रकम झिक्न, लक्षित सेवाग्राही आफै बैंकमा पुग्नुपर्छ। 

प्रतिक्रिया दिनुहोस !