लकडाउनमा वन अतिक्रमण र काठ तस्करी
डडेल्धुरा : लकडाउनको समयमा वन अतिक्रमणसँगै अवैध काठ कटान गरि तस्करी मौलाएको छ। संवेदनशिल वनका रुपमा मानिने महाभारत र चुरे क्षेत्रमा काठ तस्कर गर्नेहरु मौलाएका छन्।
बैशाख महिनामा मात्रै भित्रि मधेशको आलिताल गाउँपालिका र परशुराम नगरपालिका चुरेक्षेत्रका विभिन्न स्थानमा अवैध काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। साल र सल्लाको काठ तस्कर गरि रहेको र बेवारिसे अवस्थामा गरि २ सय घनफिट जति काठ बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख तथा वरिष्ठ वन अधिकृत विष्णुप्रसाद आचार्यले वताए। लकडाउनका समयमा मौकाको फाइदा उठाउँदै जंगल क्षेत्रमा हुन सक्ने नकारात्मक गतिविधिलाई निस्तेज गर्न डिभिजन वन कार्यालय डडेल्धुराले पेट्रेलिंग गस्तीको काम लाई तीब्रता दिएको वन अधिकृत आचार्यले बताए। लकडाउनको समयलाई हेरी वन अतिकृमण गर्ने र काठ तस्कर मौलाएकाले गस्ती मार्फत तेस्ता कार्य गर्नेलाई कार्वाही गर्न र वन जोगाउन लागि परेको अधिकृत आचार्यले जानकारी दिए।
आलिताल गाउँपालिका-४ को जाल्टुडामा बैसाख ७ गते जीपमा अवैध ढंगले लुकाई छिपाई तस्कर गर्न लागिएको ९ थान साल जातका कडी पक्राउ गरिएको छ। राति को समयमा से अ च २५० नम्बरको महेन्द्रा बोलेरो जीपमा तस्कर गर्न लागिएको (७,४,३) फिटका कडी ५ दशमलब २५ घन फिट काठ पक्राउ गरिएको वन अधिकृत आचार्यले बताए। पक्राउ गरिएको काठ र गाडी अहिले डिभिजन वन कार्यालयको परिसरमा रहेको छ। उनका अनुसार पक्राउ परेका २५ वर्षीय जिप चालकलाई कानुनी कारवाहीको प्रक्रिया अघि बढाइएको छ। त्यस्तै बैसाख ८ गते सोही वडाकै जाल्टुडाको एक झाडीमा लुकाई छिपाई अवस्थामा राखेको साल जातका १८ थान कडी (७,४,३ ) फिटको १० दशमलब ५ घन फिट काठ बेवारिसे अवस्थामा बरामद भएको छ। मूल बाटोबाट ५० मिटरभित्र पट्टि झाडीमा लुकाई छिपाई अवस्थामा राखेको अवस्थामा काठ बरामद गरिएको हो। उक्त काठ नियन्त्रणमा लिई आलिताल सब डिभिजन वन कार्यालयमा राखिएको छ।
बैसाख ११ गते आलिताल गाउँपलिका-६ को बसन्त हरियाली सामुदायिक वनमा साल र सल्लोको विभिन्न साइजका ६० थान काठ बरामद गरिएको वन कार्यालयले जनायो। ५९ दशमलब ९३ घनफिट चिरान काठ बेवारिसे अवस्थामा बरामद भएको छ। १२ थान सल्लोको काठ ५ दशमलब ४३ घनिफट र ४८ थान सालको ५३ दशमलब ३६ घनफिट रहेको वन अधिकृत आचार्यले बताए। बरामद गरिएको काठ ट्रयाक्टरमा उठाई आलिताल सब डिभिजनको परिसरमा राखिएको छ।
उक्त काठका सम्बन्धमा सामुदायिक वनलाई स्पष्टिकरण सोधिएको छ। उनले भने 'समूहको बैठक बसेर जवाफ दिने भनि समुहले जनाएको छ। वन कार्यालय र समुहले काठ काट्नेहरुको खोजि जारी राखेको छ। काठ लुकाउने मानिसको खोजिकार्य जारी रहेको छ। अनुसन्धान गरि कार्वाही गरिने वन कार्यालयले जनायो।
परशुराम नगरपालिका-८ को सुन्दरी सामुदायिक वनमा एउटा सुखड रुख काटेर ५ वटा गिन्डा बनाएको अवस्थामा भेटिएको छ। सामुदायिक वनभित्र ४ थान थप गिन्डा (पुरानो देखिने) काठ वन कार्यालयको गस्ती टोलीले बरामद गरि सम्बन्धित समुहलाई जिम्मा लगाएको छ। यसको आयतन ४२ दशमलब ८ घट फिट रहेको छ। लकडाउनका समयमा अहिले भित्रि मधेशको चुरे क्षेत्रमा गस्ति पेट्रोलिंग भइरहेको छ। वन कार्यालयसँग अपायापत जनशक्ति र लकडाउनका समयमा वन अतिक्रमण गर्नेको संख्या बढि रहेको छ। यस्ता कार्यमा संलग्न जोकोहीलाई पनि वन ऐन अनुसार कार्वाही गरिने जनाइएको भए पनि तस्करहरु भने अहिलेसम्म फेला पार्न सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस !