डाक्टरलाई कुटपिट गर्ने तीन पक्राउ
जाजरकोट : जिल्लाको वारेकोट गाउँपालिका-२ लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रका कार्यरत मेडिकल अधिकृत डाक्टर नवीन सहनीलाई कुटपिट गर्ने तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ। मदिरा सेवन गरेका युवाहरुले डाक्टर सहानीमाथि शुक्रबार राति कुटपिट गरेका थिए।
डाक्टर कुटपिटमा संलग्न तीन जनालाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्थानीय सुरेन्द्र सिंह, चक्र वुढा र पदम नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर कुमार श्रेष्ठले बताए। पक्राउ परेका तीनै जनालाई सदरमुकाम झिकाइएको श्रेष्ठले जानकारी दिए।
शुक्रबार राति आठ बजेतिर आफु बसेको कोठामा आएका उनीहरुले जथाभावी गाली गर्दै कुटपिट गरेको डाक्टर सहानीले बताए। ती युवाले डाक्टर सहानीको निवासभित्र तोडफोडसमेत गरेका छन्। पर्सा जिल्ला निवासी डाक्टर सहनी सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर दुई वर्षका लागि प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा खटिएका छन्। दुर्गममा आएर जनताको सेवा गरिरहेका डाक्टरलाई कुट्ने जो भए पनि अपराधी भएको र उनीहरुलाई कारवाही हुनुपर्ने बारेकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले बताए।
प्रतिक्रिया दिनुहोस !