क्वारेन्टाइनमा बसेका भारतीय भन्छन् : 'सरकार! हामी कहिले घर जान पाउँछौं?'

क्वारेन्टाइनमा बसेका भारतीय भन्छन् : 'सरकार! हामी कहिले घर जान पाउँछौं?'

धनगढी : तसद्धुक हुसेन भारतको उत्तरप्रदेश राज्यको लखिमपुर (खिरी)का बासिन्दा हुन्। उनी विगत तीन÷चार वर्षदेखि कैलालीको अत्तरियामा लुगा सिउने काम गर्छन् । कोट पाइन्ट, सर्टका राम्रा कारिगर हुन् उनी । 

तर उनी ३८ दिनदेखि धनगढीको मुख्य बजारमा रहेको त्रिनगर माविको क्वारेन्टाइनमा छन् । भारतस्थित घरबाट नेपाल काममा फर्केका उनले आएको चार दिनपछि दुबै देशमा लकडाउन भयो। लकडाउनपछि पसल बन्द गरेर मालिकले उनलाई घर जान अत्तरियाबाट पठाइ दिए ।

तर उनी प्रहरीको नजरमा परे ।उनलाई धनगढीको त्रिनगर माविमा, भारतीयका लागि बनाइएको क्वारेन्टाइनमा राखियो । बिहीबार उनलाई क्वारेन्टाइन बसेको ३८ दिन भएको छ । 'घरमा छोराछोरी श्रीमती रोएर हैरान छन, आफू पनि बालबच्चासँग कुरा गर्छु र रुन्छु,' आँशु खसाल्दै उनले भने, 'उत्तरप्रदेश सरकारले हामीलाई छिटो फिर्ता लैजानुपर्छ ।'

उत्तरप्रदेशकै लखिमपुर जिल्लाको गोला भन्ने स्थानका सञ्जयकुमार सिग्धरलाई पनि त्रिनगर माविको क्वारेन्टाइन बसेको बिहीबार ३८ दिन भयो । डडेल्धुरामा स्वास्थ्य चौकी र विद्यालय भवनमा हेड मिस्त्री उनले तीन महिना डडेल्धुरामा काम गरेको र काम बन्द भएपछि, घर जाने भन्दै धनगढी पुगेको बताए ।

‘क्वारेन्टाईन १४ दिनका लागि भनेर राखिएको थियो तर ३८ दिन भइसक्यो, हामीले कहिले घर जान पाउने भन्ने कुराको ठेगान छैन । त्यसैले, उत्तरप्रदेश सरकारलाई आग्रह गर्छुकी हामीलाई छिट्टै आफ्नो घर जाने व्यवस्था होस,' सिग्धरले भने । 

उनीहरु, ४० जनाको समूहमा डडेल्धुरा आएका थिए । '९ जना हामी त्रिनगर माविमा छौं भने अरु साथीहरु महेन्द्रनगरमा क्वारेन्टाइन छन्,' सिग्धरले भने, 'हामी कहिले घर जान पाउँछौं भनेर थाहा त हुनु पर्ने हो। हामीलाई हाम्रो सरकारले कुनै खबर पनि पठाएको छैन ।'

सुरुमा १४ दिनको क्वारेन्टाइन भनेर राखिएको तर अहिले क्वारेन्टाइनको अवधि कति हो भन्ने कुराको दुई देशका बीच कुनै सम्बादको थालनी समेत नभएकाले उनीहरुको घर जाने सपना क्वारेन्टाइनमै बन्द भएको छ ।

त्रिनगर माविको क्वारेन्टाइनमा रहेका ५३ जनामध्ये बढीजसो मुस्लिम समुदायका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा पुस्तक ब्यान्डिङको काम गर्ने भारतको विहार राज्यका सरिफ अन्सारी पनि ३८ दिनदेखि क्वारेन्टाइनमा फसेका छन् । उनी भन्छन, 'नजिकै इद आरहेको छ । इद हामीहरुको सबैभन्दा ठूलो चाड हो । इदका बेला नेपालमा दशैं मनाएझैं हामीहरु घरका सबैजना एकै ठाउँमा भेला भएर रमाइलो गर्छौं, बा आमाले छिटो आइजा भनिरहेका छन्, तर कसरी जानु ?' आँशु झार्दै उनले भने, 'बा आमा र भाइ बहिनीको सम्झना आइरहेको छ ।'

नेपालमा बढीजसो, मुस्लीम समुदायका भारतीय भएको र भारतले पनि कोरोनाको संक्रमण मुस्लिम समुदायमा बढी देखिएकाले उनीहरुलाई कहिले लैजाने बारे कुनै ठोस कुरा गरेको छैन । धनगढीमा लुगा सिउने, घर निर्माण मिस्त्री, कपाल काटने नाई, अरु पसलमा काम गर्ने बढीजसो युवाहरु नेपालका क्वारेन्टाइनमा छन्। त्रिनगर माविको भवनमा बसेकामध्ये धेरैले ४२ दिनभन्दा बढी कटाइसकेका छन्।

धनगढी उपमहानगरपालिकाको मातहतमा रहेको उक्त क्वारेन्टाइनमा मारवाडी सेवा समाज धनगढीले उनीहरुलाई दिनमा दुई पटक नास्ता र दुई पटक खाना उपलब्ध गराइरहेको छ भने जिल्ला स्वास्थ्य कार्यालयले उनीहरुको दैनिक स्वास्थ्य जाँच गरिरहेको छ । 

तर १४ दिनको क्वारेन्टाइनको तेब्बर दिन भइसकेकाले उनीहरुले घरजान पाउनुपर्ने माग गरेका छन् । बढीजसो भारतीय भारतको उत्तरप्रदेश र विहार राज्यका छन् ।

लकडाउन पछि, क्वारेन्टाइनमा आएका २५ जना भारतीय मजदुरलाई उनीहरुले काम गर्ने मील मालिकले क्वारेन्टाइन समय सकिएपछि फिर्ता नेपालमै काममा लगिसकेको छ तर पहाडि जिल्लाबाट आएका यिनीहरुको न त पहाड जाने अवस्था छ न भारत नै ।

धनगढी उप-महानगरपालिका नगरप्रमुख नृपबहादुर ओड त दुबै देशको संघीय सरकारले आफ्ना नागरिक विचल्लीमा पारेको आरोप लगाउँछन् । 'नेपाल र भारत सरकारले दुवै देशमा यसरी सीमामा विचल्लीमा परेका नागरिकको उद्धार गर्नुपर्छ, उनीहरुलाई १४ दिनको क्वारेन्टाइन भनेर राखिएको हो, ४२ दिन भइसक्यो, अब उनीहरु कहिले घर जान पाइन्छ ? भनेर सोध्छन्, हामीले के भन्ने जवाफ छैन,' मेयर ओडले भने ।

त्रिनगर माविमा रहेका उनीहरुलाई खानेपाली, खाना, नास्ता, स्वास्थ्य जाँच र साबुन, पेस्ट, ब्रस सबैको व्यवस्था गरिएको छ । उनीहरुलाई नेपाल भारत मैत्री संघले पनि साबुन, पेस्ट र झुल वितरण गरेर उनीहरुको बसाइ सहज पारिरहेको छ । 'उनीहरुको खाना र बस्नको राम्रो व्यवस्थापन गरेका छौं, अत्यावश्यक कुराहरुको हामीले पनि आपूर्ति गरिरहेका छौं, नेपाल भारत मैत्री संघका अध्यक्ष हशिंकर ठाकुरले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.