खुसी खोस्ने वसन्त
वैशाख महिना वसन्त ऋतु आगमनको समय । तर हाम्रो परिवारको लागि भने कालो छायाँ बोकेर ल्याएको महिना । बुवालाई गुमाएको महिना । सायद यसैले होला अलि अत्यास लाग्छ मलाई यो घामपानीको लुकामारीसँग, लहलहाउँदो हरियालीसँग रंगीबिरंगी फूलहरूसँग पनि ।
१६ वर्ष निमेषभरमै बितिगएछ । १६ वर्ष पहिला र अहिलेको मौसम उस्तै छ । त्यो वर्ष जस्तै यसपालि पनि वर्षा नलाग्दै झरी सुरु भएको छ । बेमौसममा दर्कने पानीको झंकारले मलाई आतंकित पारिदिएको छ । आँखा अगाडि नै नमिठो दुर्घटना भइरहेझै मन छट्पट्टिरहेको छ । युववयमै छाडेर गएका बुवाको अनुहार आँखाअघि झल्झली आउँछ । मनमनै सोच्छु बुवा तपाईंलाई जस्तो कसैलाई नहोस् । युवा उमेरमै कसैलाई मर्न नपरोस् । आमालाई जस्तो यौवनमै कसैलाई विधवा हुन नपरोस् ।
बितेका १६ वर्षमा अनेकौं उकाली ओराली पार भए। बदलीए खुसिका रंगहरू, आशाका किरणहरू, विस्वास अनि भरोसाका धुनहरू । घरमाथिको बरको रुखमा सयौं चरी बसाइँसरे । आफ्नौ यौवन सजाए । कान्लामाथिको आँपको रुखमा लाखौं पात फेरियो । अनेकौं आकुरा पलाए । प्रकृतिले आफ्नो गतिलाई निशङ्कोच चलाइरह्यो । विनाअवरोध बगिरह्यो समयको नदि । समयसँगै धेरै कुरा बद्लिए पनि हाम्रो जीवनमा रोकिएन्न तपाईंको सम्झना, सँगै बिताएका पलको याद र वियोगका सुस्केरा । पलपल याद आइरहन्छन् तपाईंका साना सपना, खुसी र उल्लासको रहर । अभावपुर्तिको चाहना । यस्तै यस्तै बबुरा रहरहरू ।
बुवा मानिसको जीवनमा १६ वर्ष बिताउनु चानचुने कुरा कहाँ रहेछ र ? ६ जनाको हाम्रो परिवार १२ जना भएका छौँ । एक दर्जन सपना छन् हामीसँग । पोल्टाभरि रहरका थुंगाहरू । जीन्दगी भनेजस्तै, सोचेजस्तै भैदिएको भए आज तपाईं पनि त हामीसँगै हुनुहुने थियो । सामान्य तवरमै चल्थ्यो होला जिन्दगी । कुनै गुनासो बिनै ।
बुवा नहुनु भनेको घरको छानो नहुनुजस्तै हो । शरीरमा मेरुदण्डको हड्डी भाँचिनुजस्तै हो । हजारौं खुसीका थुगाहरू केही थुंगा बेरंगी हुनुजस्तै हो । अलिकति अपुरो खुसी, अधुरो सुख अपनाउनु जस्तै हो । कताकता नमज्जा लागिरहने । केहि असहज, नमिलेको भान भइरहने । जसले बाँकी जिन्दगी निरस बनाइदिने रहेछ । कोही कतै बेपत्ता भयो भने आउँछ कि भन्ने आशमा पूरा जिन्दगी खुसी हुन सक्लान् आफन्त । उमेर पुगेर मृत्यु भएका आफ्नालाई सजिलै बिर्सेलान् । तर अल्पायुमै गुमाउन बाध्य भएका हामीले न बिर्सन सक्यौँ, न खुलेर सम्झन नै ।
३५ वर्षे विधवा आमाको अनुहारले तपाईंलाईं बिर्सन बाध्य बनाउथ्यो । तपाईंको नाम, बानी र गुणका सम्झना गर्दै गर्दा आमाको आँखाबाट अविरल बग्ने आँसुहरूले तपाईंलाई नसम्झन दवाव दिन्थ्यो । अँ साँच्ची बुवा त्यो समय हामीले नचाहेरै तपाईंलाई बिर्सिएजस्तो बन्न बाध्य भयौं । जर्वजस्ती लगाएको बानीले स्थायित्व नभेटाउने रैछ सायद । त्यसैले होला हामीले तपाईंलाई सम्झने तरिका बदल्यौं । कहिले अरुको उदाहरण बताउँदै, कहिले आमालाई हिम्मतीली बनाउँदै किस्सा किस्सामा तपाईंलाई सम्झिरह्यौं ।
संसारभर कोरोना भाइरस फैलिएर देश नै लकडाउन भएको अवस्थामा म जन्मघर पुगेँ । १६ वर्षपछि तपाईंले पैसा राख्ने बाकस खोलेर हेरेँ । तपाईंको अक्षरमा लेखिएका अनेकौ डायरी भेट्टाएँ । कतै विकास शिक्षा पढ्न आग्रह गर्दे लेखिएको गीतको टुक्का थियो, त कतै जडिबुटी प्रयोग गर्दा हुने फाइदा लेखिएको कविता थियो । लामो समयपछि तपाईंका अक्षर पढ्दै गर्दा एक प्रकारको शुन्यता छायो । अस्पष्ट असहज हुँदै छट्पटिएँ म । तपाईंले हाम्रा लागि देख्नुभएको सपना के थियो होला ? अनुत्तरित हुँदै अल्मलिएँ म । विस्तारै तपाईंको अक्षरहरूमा स्पर्श गर्दे सजीव अस्तित्व महसुस गरेँ । तपाईंले पटाएका पानाहरू सिधा पार्दै, विलहरू हेर्दै गर्दा भक्कानो छुटेर आयो । अनवरत बर्सिए आशुका ढिक्काहरू । बस एक्सिडेन्टमा परेर आफू मर्दैछु भन्ने थाहा पाउँदै गर्दा तपाईंले अन्तिम पटक के सोच्नुभयो होला ? तपाईंको अपुरो इच्छा के थियो होला ? कसलाई सम्झनुभयो होला ? यस्तै यस्तै प्रश्नले तर्सायो पनि ।
बुवा दुई वर्ष अगाडि हामी नया घरमा सरेका छौँ । बाबाले दुखले बनाएको घर भनेर पुरानो घर भत्काएनौँ । तपाईंका लुगाफाटो, डायरी, हिसाव किताबका बिलहरू, तपाईंले छाड्नुभएका केही नोटहरू सुरक्षित रहेछन् बाकसमा । ती सबै पुरानै घरमा संग्रह गरेका छौँ हामीले । १६ वर्षपछि यी सब खोलेर हेर्दा अत्तालिएँ म । तपाईंसँगका सम्झना फिल्मको रिल जस्तै घुमिरह्यो मनमा ।
बारीमा दिनभरि काम गरेर थाकेर आउनुहुन्थ्यो तपाईं, पिढीको गुन्द्रीमा टुसुक्क बस्नुहुन्थ्यो । 'मही ले त नानी' भन्दै अह्राएको हिजै जस्तै लाग्छ मलाई । आज पनि पिढीमा बस्दै गर्दा तपाईंले बोलाए जस्तै लाग्यो । स्कुल जाने बेलामा सर्टको गोजीबाट १० रुपैयाँको नोट झिकेर दिए जस्तै लाग्यो । यो गर, यो नगर भनेर जीवन शिक्षा सिकाए जस्तै लाग्यो । बारीमा कतै तलबाट पानी लगाइदे नानी भनेर चिच्चाए जस्तै लाग्यो ।
घरको चोटामा बसेर छन्द कविता पढ्दै गर्दा, नजिकै बसेर वाचन गर्न सिकाउनुहुन्थ्यो तपाईं । बालकृष्ण समको 'इच्छा' कविता र लेखनाथ पौडेलका कविताहरू लय हालेर सुनाउनुहुन्थ्यो तपाईं । त्रिभुजका साध्य र क्षत्रमितिका हिसाव पटकौं गरिरहँदा पनि बिगारीरहन्थें म । नजिकै बसेर साध्य घोक्ने सर्टकर्ट तरिका सिकाउने गुरु तपाईं । बाबा साँच्ची हामी सबै छोराछोरीको सबैथोक हुनुहुन्थ्यो तपाईं ।
२०७२ सालमा भुकम्प आउँदा पुरानो घर भत्कियो हाम्रो । ढल्न लागेको पुरानो घरको चोटामा रहेको कालो बाकसमा तपाईंका लुगाहरू रहेछन् । कालो र हरियो मिसिएको ज्याकेट । केही सर्ट, गन्जी, पाइन्ट र घाँटीमा लगाउने पहेलो गलबन्दी । दाजुले धुन पनि नदिएर लुकाउनु भएका यी लुगाहरू आज साँच्चिकै मुल्यवान लाग्यो मलाई । लुगाहरू खोतलेर हेर्न मन लाग्यो, लुगाबाट निस्किएका गन्ध र बास्नाहरू करौडौँ मूल्यका अत्तर जस्तै लागे । मिठो सुगन्ध, जहाँ म बुवालाई पाउँछु । एक एक लुगालाई सुघ्दै पट्याउँदै गर्दै गर्दा यो मन धेरैपटक छट्पटियो । बुवाकै छेउमा बसेजस्तै लाग्यो । नढाटेर भनूँ साँच्ची बहुत याद आयो । आज तपाईं हामीसँगै हुनुभएको भए...
घरको बुइँगलमा तपाईंले आगो समाउनलाई बनाएर ल्याएको चिम्टाको एक टुक्रा रहेछ । भात पकाउने बेलामा कसौडी समाउन जोडजाड गरेको सनासो रहेछ । यसले पुन विगतमा फर्काईदियो मलाई । यो त्यही चिम्टा हो, जसको सहयताले हरिया मकै पोलेर हामी दाजु बहिनीलाई पेटभरि खुवाउनुहुन्थ्यो । बिहान छिट्टै उठेर गिलास भरि दूध तताएर र मकै पोलेर दिंदै हामीलाई पढ्न हौस्याउनुहुन्थ्यो ।
आज भेट्टाएको त्यही सनासो हो बुवा, जुन म भात पकाउन सिक्दै गर्दा कसौडी समाउने गर्थेँ । सनासो समाउन नजानेर धेरै पटक पाकिसकेको भात घोप्टाएकी थिएँ । कहिले कचमरो भात पनि त पकाउँथें । यस्तै अनेक गल्ती गरिरहन्थ्यौँ हामी । छोराछोरीका अनगीन्ती गल्ति माफ गरिदिने बुवा आमालाई भगवान भनिएको त्यसै कहा हो र ? बुवाआमामा भगवानले बास लिन्छन् सायद । तपाईं संसारभरकै उत्कृष्ट हुनुहुन्छ मेरो लागि ।
अहिले हाम्रो परिवार बढेको छ । खुसीका स्रोत बढेका छन्। सपनाको गन्तव्यसँगै आशाको किरण पनि उज्यालिएका छन् । परिवारका सबै सदस्य धेरै कुरामा फरक भएका छौँ । तर उस्तै छ हाम्रो शरीरमा बग्ने रगतको रंग, श्वास लिने धड्कन र तपाईंले सिकाउनु भएका जीवनका परिभाषाहरू । तपाईंको अभाव, याद र छट्पछिका संकेतहरू ।
प्रतिक्रिया दिनुहोस !