खुसी खोस्ने वसन्त

खुसी खोस्ने वसन्त

वैशाख महिना वसन्त ऋतु आगमनको समय । तर हाम्रो परिवारको लागि भने कालो छायाँ बोकेर ल्याएको महिना । बुवालाई गुमाएको महिना । सायद यसैले होला अलि अत्यास लाग्छ मलाई यो घामपानीको लुकामारीसँग, लहलहाउँदो हरियालीसँग रंगीबिरंगी फूलहरूसँग पनि । 

१६ वर्ष निमेषभरमै बितिगएछ । १६ वर्ष पहिला र अहिलेको मौसम उस्तै छ । त्यो वर्ष जस्तै यसपालि पनि वर्षा नलाग्दै झरी सुरु भएको छ । बेमौसममा दर्कने पानीको झंकारले मलाई आतंकित पारिदिएको छ । आँखा अगाडि नै नमिठो दुर्घटना भइरहेझै मन छट्पट्टिरहेको छ । युववयमै छाडेर गएका बुवाको अनुहार आँखाअघि झल्झली आउँछ । मनमनै सोच्छु बुवा तपाईंलाई जस्तो कसैलाई नहोस् । युवा उमेरमै कसैलाई मर्न नपरोस् । आमालाई  जस्तो यौवनमै कसैलाई विधवा हुन नपरोस् ।

बितेका १६ वर्षमा अनेकौं उकाली ओराली पार भए। बदलीए खुसिका रंगहरू, आशाका किरणहरू, विस्वास अनि भरोसाका धुनहरू । घरमाथिको बरको रुखमा  सयौं चरी बसाइँसरे । आफ्नौ यौवन सजाए । कान्लामाथिको आँपको रुखमा लाखौं पात फेरियो । अनेकौं आकुरा पलाए ।  प्रकृतिले आफ्नो गतिलाई निशङ्कोच चलाइरह्यो । विनाअवरोध बगिरह्यो समयको नदि ।  समयसँगै धेरै कुरा बद्लिए पनि हाम्रो जीवनमा  रोकिएन्न तपाईंको सम्झना, सँगै बिताएका पलको याद र वियोगका सुस्केरा । पलपल याद आइरहन्छन् तपाईंका साना सपना, खुसी र उल्लासको रहर । अभावपुर्तिको चाहना । यस्तै यस्तै बबुरा रहरहरू ।

बुवा मानिसको जीवनमा १६ वर्ष बिताउनु चानचुने कुरा कहाँ रहेछ र ? ६ जनाको हाम्रो परिवार १२ जना भएका छौँ । एक दर्जन सपना छन् हामीसँग । पोल्टाभरि रहरका थुंगाहरू । जीन्दगी भनेजस्तै, सोचेजस्तै भैदिएको भए आज तपाईं पनि त हामीसँगै हुनुहुने थियो । सामान्य तवरमै चल्थ्यो होला जिन्दगी । कुनै गुनासो बिनै ।

बुवा नहुनु भनेको घरको छानो नहुनुजस्तै हो । शरीरमा मेरुदण्डको हड्डी भाँचिनुजस्तै हो । हजारौं खुसीका थुगाहरू केही थुंगा बेरंगी हुनुजस्तै हो । अलिकति अपुरो खुसी, अधुरो सुख अपनाउनु जस्तै हो । कताकता नमज्जा लागिरहने । केहि असहज, नमिलेको भान भइरहने ।  जसले बाँकी जिन्दगी निरस बनाइदिने रहेछ । कोही कतै बेपत्ता भयो भने आउँछ कि भन्ने आशमा पूरा जिन्दगी खुसी हुन सक्लान् आफन्त । उमेर पुगेर मृत्यु भएका आफ्नालाई सजिलै बिर्सेलान् । तर अल्पायुमै गुमाउन बाध्य भएका हामीले न बिर्सन सक्यौँ, न खुलेर सम्झन नै । 

३५ वर्षे विधवा आमाको अनुहारले तपाईंलाईं बिर्सन बाध्य बनाउथ्यो । तपाईंको नाम, बानी र गुणका सम्झना गर्दै गर्दा आमाको आँखाबाट अविरल बग्ने आँसुहरूले तपाईंलाई नसम्झन दवाव दिन्थ्यो । अँ साँच्ची बुवा त्यो समय हामीले नचाहेरै तपाईंलाई बिर्सिएजस्तो बन्न बाध्य भयौं । जर्वजस्ती लगाएको बानीले स्थायित्व नभेटाउने रैछ सायद । त्यसैले होला हामीले तपाईंलाई सम्झने तरिका बदल्यौं । कहिले अरुको उदाहरण बताउँदै, कहिले आमालाई हिम्मतीली बनाउँदै किस्सा किस्सामा तपाईंलाई सम्झिरह्यौं । 

संसारभर कोरोना भाइरस फैलिएर देश नै लकडाउन भएको अवस्थामा म जन्मघर पुगेँ । १६ वर्षपछि तपाईंले पैसा राख्ने बाकस खोलेर हेरेँ । तपाईंको अक्षरमा लेखिएका अनेकौ डायरी भेट्टाएँ । कतै विकास शिक्षा पढ्न आग्रह गर्दे लेखिएको गीतको टुक्का थियो, त कतै जडिबुटी प्रयोग गर्दा हुने फाइदा लेखिएको कविता थियो । लामो समयपछि तपाईंका अक्षर पढ्दै गर्दा एक प्रकारको शुन्यता छायो । अस्पष्ट असहज हुँदै छट्पटिएँ म । तपाईंले हाम्रा लागि देख्नुभएको सपना के थियो होला ? अनुत्तरित हुँदै अल्मलिएँ म । विस्तारै तपाईंको अक्षरहरूमा स्पर्श गर्दे सजीव अस्तित्व महसुस गरेँ  ।  तपाईंले पटाएका पानाहरू सिधा पार्दै, विलहरू हेर्दै गर्दा भक्कानो छुटेर आयो । अनवरत बर्सिए आशुका ढिक्काहरू । बस एक्सिडेन्टमा परेर आफू मर्दैछु भन्ने थाहा पाउँदै गर्दा तपाईंले अन्तिम पटक के सोच्नुभयो होला ? तपाईंको अपुरो इच्छा के थियो होला ? कसलाई सम्झनुभयो होला ? यस्तै यस्तै प्रश्नले तर्सायो पनि । 

बुवा दुई वर्ष अगाडि हामी नया घरमा सरेका छौँ । बाबाले दुखले बनाएको घर भनेर पुरानो घर भत्काएनौँ । तपाईंका लुगाफाटो, डायरी, हिसाव किताबका बिलहरू, तपाईंले छाड्नुभएका केही नोटहरू सुरक्षित रहेछन् बाकसमा । ती सबै पुरानै घरमा संग्रह गरेका छौँ हामीले । १६ वर्षपछि यी सब खोलेर हेर्दा अत्तालिएँ म । तपाईंसँगका सम्झना फिल्मको रिल जस्तै घुमिरह्यो मनमा । 

बारीमा दिनभरि काम गरेर थाकेर आउनुहुन्थ्यो तपाईं, पिढीको गुन्द्रीमा टुसुक्क बस्नुहुन्थ्यो । 'मही ले त नानी' भन्दै अह्राएको हिजै जस्तै लाग्छ मलाई । आज पनि पिढीमा बस्दै गर्दा तपाईंले बोलाए जस्तै लाग्यो । स्कुल जाने बेलामा सर्टको गोजीबाट १० रुपैयाँको नोट झिकेर दिए जस्तै लाग्यो । यो गर, यो नगर भनेर जीवन शिक्षा सिकाए जस्तै लाग्यो । बारीमा कतै तलबाट पानी लगाइदे नानी भनेर चिच्चाए जस्तै लाग्यो । 

घरको चोटामा बसेर छन्द कविता पढ्दै गर्दा, नजिकै बसेर वाचन गर्न सिकाउनुहुन्थ्यो तपाईं । बालकृष्ण समको 'इच्छा' कविता र लेखनाथ पौडेलका कविताहरू लय हालेर सुनाउनुहुन्थ्यो तपाईं । त्रिभुजका साध्य र क्षत्रमितिका हिसाव पटकौं गरिरहँदा पनि बिगारीरहन्थें म । नजिकै बसेर साध्य घोक्ने सर्टकर्ट तरिका सिकाउने गुरु तपाईं । बाबा साँच्ची हामी सबै छोराछोरीको सबैथोक हुनुहुन्थ्यो तपाईं । 

२०७२ सालमा भुकम्प आउँदा पुरानो घर भत्कियो हाम्रो । ढल्न लागेको पुरानो घरको चोटामा रहेको कालो बाकसमा तपाईंका लुगाहरू रहेछन् । कालो र हरियो मिसिएको ज्याकेट । केही सर्ट, गन्जी, पाइन्ट र घाँटीमा लगाउने पहेलो गलबन्दी । दाजुले धुन पनि नदिएर लुकाउनु भएका यी लुगाहरू आज साँच्चिकै मुल्यवान लाग्यो मलाई । लुगाहरू खोतलेर हेर्न मन लाग्यो, लुगाबाट निस्किएका गन्ध र बास्नाहरू करौडौँ मूल्यका अत्तर जस्तै लागे । मिठो सुगन्ध, जहाँ म बुवालाई पाउँछु । एक एक लुगालाई सुघ्दै पट्याउँदै गर्दै गर्दा यो मन धेरैपटक छट्पटियो । बुवाकै छेउमा बसेजस्तै लाग्यो । नढाटेर भनूँ साँच्ची बहुत याद आयो ।  आज तपाईं हामीसँगै हुनुभएको भए... 

घरको बुइँगलमा तपाईंले आगो समाउनलाई बनाएर ल्याएको चिम्टाको एक टुक्रा रहेछ । भात पकाउने बेलामा कसौडी समाउन जोडजाड गरेको सनासो रहेछ । यसले पुन विगतमा फर्काईदियो मलाई । यो त्यही चिम्टा हो, जसको सहयताले हरिया मकै पोलेर हामी दाजु बहिनीलाई पेटभरि खुवाउनुहुन्थ्यो । बिहान छिट्टै उठेर  गिलास भरि दूध तताएर र मकै पोलेर दिंदै हामीलाई पढ्न हौस्याउनुहुन्थ्यो । 

आज भेट्टाएको त्यही सनासो हो बुवा, जुन म भात पकाउन सिक्दै गर्दा कसौडी समाउने गर्थेँ । सनासो समाउन नजानेर धेरै पटक पाकिसकेको भात घोप्टाएकी थिएँ । कहिले कचमरो भात पनि त पकाउँथें । यस्तै अनेक गल्ती गरिरहन्थ्यौँ हामी । छोराछोरीका अनगीन्ती गल्ति माफ गरिदिने बुवा आमालाई भगवान भनिएको त्यसै कहा हो र ? बुवाआमामा भगवानले बास लिन्छन् सायद । तपाईं संसारभरकै उत्कृष्ट हुनुहुन्छ मेरो लागि । 

अहिले हाम्रो परिवार बढेको छ । खुसीका स्रोत बढेका छन्। सपनाको गन्तव्यसँगै आशाको किरण पनि उज्यालिएका छन् । परिवारका सबै सदस्य धेरै कुरामा फरक भएका छौँ । तर उस्तै छ हाम्रो शरीरमा बग्ने रगतको रंग, श्वास लिने धड्कन र तपाईंले सिकाउनु भएका जीवनका परिभाषाहरू । तपाईंको अभाव, याद र छट्पछिका संकेतहरू ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.