भारतीयले सशस्त्र प्रहरीलाई कुटेपछि हवाइ फायर
वीरगन्ज : पर्सा वीरगन्जको अलौंस्थित सीमा नाकामा खटिएका नेपाली सुरक्षाकर्मीलाई भारतीयले कुटपिट गरेका छन्। सीमावर्ती भारतीय गाउँ हरैयाबाट आएका ७/८ भारतीयले अलौंको सिवानटोल नाकामा खटिएका सशस्त्र प्रहरी जवान बालप्रसाद भारतलाई कुटपिट गरेका हुन्।
प्रहरी जवानमाथि कुटपिट गर्न थालेपछि उनीसंगै डयुटीमा रहेका अर्का सशस्त्र प्रहरी जवानले हवाइ फायर गरेका थिए। हवाइफायर गरिएपछि भने भारतीय भागेका थिए। कुटपिटका क्रममा भारतीयले लछारपछार गर्दै सशस्त्र प्रहरी जवान भारतीको पोशाकसमेत च्याति दिएका छन्। बिहिबार साँझ ५ बजे तिर भारतको हरैया गाउँ तिरबाट पैदल आइरहेका एक भारतीय लकडाउन उल्लंघन गरेर नेपाल छिर्न खोजेका थिए। लकडाउनमा निगरानीका लागि सिवान टोल नाकामा खटिएका दुई सशस्त्र प्रहरी जवानमध्ये भारतीले रोकेका थिए।
सीमा क्षेत्रमा रोकेर झोला खानतलासी गर्न खोजेपछि ती भारतीय भागेका थिए। उनी भारत तिर फर्किएको १०/१५ मिनेट पछि नै हरैया गाउँबाट आएका ७÷८ भारतीयको समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो। ड्युटीमा रहेका जवानमाथि आक्रमण भएपछि अर्का सशस्त्र प्रहरी जवानले फायरिङ गरेका थिए।
हवाइ फायरिङ गरेपछि मात्रै भारतीय युवा भागेका थिए। घटनाको खबर पाए लगत्तै सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुवँरको नेतृत्वमा सशस्त्र प्रहरीको टोली र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साहको नेतृत्वमा नेपाल प्रहरीको टोली पुगेर स्थिति सामान्य बनाएको छ।
आक्रमण गर्न खोजेपछि एक राउण्ड फायर गरेको प्रहरी निरिक्षक साहले पुष्टि गरे। घटना लगत्तै घटनास्थल पुगेका प्रहरी उपरीक्षक कुवँर भारतीय एसएसबीको चेक प्वाइन्टमा पुगेर एसएसबीका मेजरसँग छलफल गरेर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस !