सेती प्रादेशीक अस्पताल कोरोना बिरामी मुक्त
धनगढी : पाँचौं कोरोनाका बिरामी निको भएर घर फर्किएपछि ‘कोभिड डेडिकेटेट’ भनेर तोकिएको सेती प्रादेशीक अस्पताल कोरोना बिरामीमुक्त भएको छ।
धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला, शुक्रबार निको भएर घर फर्किएकी हुन्। सेती प्रादेशीक अस्पतालमा कोभिडको उपचारमा खटिएका डाक्टर शेरबहादुर कमरले शुक्रबारको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएको जानकारी दिए।
‘यो सँगै सेती प्रादेशीक अस्पताल कोरोना बिरामीमुक्त भएको छ’, उनले भने, ‘शंकास्पद बिरामी राखिएको आइसोलेन वार्ड पनि खाली भयो।’
धनगढीको हसनपुरकी उक्त महिलामा चैत २२ गते कोरोना पोजिटिभ देखिएपछि सेती प्रादेशीक अस्पताल भर्ना भएकी थिइन्। त्यसअघि दुबईबाट आएका उनका ३४ वर्षकै देवर अमृत शाहीलाई कोरोना पोजेटिभ देखिएको थियो।
त्यसपछि कन्ट्रयाक ट्रेसिङ गर्दै परिवारका ८ जनामा गरिएको परीक्षणका क्रममा उनको रिपोर्ट पोजिटिभ आएको थियो। उनले ३५ दिनपछि कोरोना जितेकी हुन्। उनको बिहीबार र शुक्रबारको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको छ।
यसअघि चारजना कोरोनाका बिरामी सेतीबाटै निको भएर घर फर्किसकेका छन्। वैशाख ११ गते कैलालीको लम्कीचुहा नगरपालिका ६५ वर्षीया महिला पनि डिस्चार्ज भएर घर गएकी थिइन्। वीरगञ्जबाट लम्की आएकी उनलाई कैलालीको लम्कीचुहा नगरपालिकाको लम्की बहुमुखी क्याम्पसमा क्वारेन्टाइन राखिएको थियो। त्यसपछि वैशाख १ गते कोरोना पोजिटिभ देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन।
शुक्रबार डिस्चार्ज भएकी महिलाका देवर धनगढी उपमहानगरपालिका-४ हसनपुरका ३४ वर्षका युवा पनि वैशाख ९ गते डिस्चार्ज भएका थिए। दुबईबाट चैत ८ गते घर आएका उनलाई चैत १४ गते कोरोना पोजिटिभ देखिएको थियो।
कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षका युवक र कञ्चनपुरको बेदकोट नगरपालिका वढा नम्बर ९ का ४१ वर्षका पुरुष पनि सेती प्रादेशीक अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भइसकेका छन्। लम्कीका युवक भारतको मुम्बईबाट आएका थिए भने ४१ वर्षीय पुरुष भारतको चम्पावत जिल्लाबाट लकडाउनपछि ब्रम्हदेबको बाटो ट्युबमा महाकाली तरेर नेपाल आएका थिए।
प्रतिक्रिया दिनुहोस !