पर्साका मजदुर छोड्न गएका चालकसहित १४ जनाको कोरोना रिपोर्ट 'नेगेटिभ '
बागलुङ : जिल्लाको गलकोटबाट पर्सामा मजदुर छोड्न गएका बागलुङका चालक, सहचालकसहित १४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । गलकोटमा दैनिक मजदुरी गरेर गत वैशाख ११ गते वीरगञ्जको पर्सा गएका १४ जनामा १७ दिनपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा उक्त मजदुरको समूहलाई छोड्न जाने बसका चालक, सहचालक सहित अन्य क्वारेन्टाइनमा रहेका १४ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।
जसमा सबैमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । 'यहाँबाट गएका ठूलो संख्यामा कोरोना देखिएपछि यतै भयो कि उतै गएपछि भएको भन्नेमा ठूलो आशंका थियो, 'कार्यालय प्रमुख गुरौले भने, 'चालक, सहचालकको रिपोर्टले उतै गएपछि संक्रमण भएको संकेत गरेको छ, तरपनि हामी थप अध्ययन, सचेत र सुरक्षित उपाय अपनाउनुपर्छ।'
कोरोना आशंकामा धौलागिरी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएकी गलकोटकी ६५ वर्षीया महिलाको पीसीआर रिपोर्ट भने आउन बाँकी छ । रुघाखोकी र ज्वरो आएकाले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको र स्वाब परीक्षणका लागि पोखरा पठाइएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए ।
ती महिला ज्वरो आउने र रुघा खोकी लागेपछि वैशाख ३० गते गलकोट हटियामा रहेको आरोग्य हस्पिटलमा उपचारको लागि भर्ना भएकी थिइन् । समान्य उपचारपछि ज्वरो केही कम भएपछि उनलाई वैशाख ३१ गते डिस्चार्ज गरिएको थियो । तर बृद्धालाई श्वास प्रश्वासमा समेत कठिन भएपछि बुधबार धौलागिरी अस्पताल ल्याइएको थियो ।
जिल्लाको गलकोटबाट गएका ठुलो संख्याका मजदुरलाई संक्रमण पुष्टि भए पछि जिल्ला र गलकोट क्षेत्रमा त्रास बढेको छ । गलकोट नगरपालिकाले तत्काल एक साताका लागि सबै सीमा नाका सिल गरेको मेयर भरत शर्मा गैरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !