५ जनालाई कोरोना देखिएपछि प्रादेशिक क्वारेन्टाइन सिल
जनकपुरधाम : धनुषाको गंगुलीमा रहेको क्वारेन्टाइनलाई सिल गरिएको छ। धनुषाको नगराइन नगरपालिकामा रहेको क्वारेन्टाइनस्थलमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको हो। एक हप्ताको अवधिमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनलाई सिल गरिएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका संयोजक सन्तोष ठाकुरले जानकारी दिए।
प्रादेशिक क्वारेन्टाइनमा भारतको विहार, उत्तरप्रदेश, दिल्लीबाट प्रहरीलाई छलेर नेपाल प्रवेश गरेकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ। जसमा पाँच जनामा एक साता भित्रै कोरोना पोजिटिभ पाइएको छ। क्वारेण्टाइनमा रहेकाहरु मध्ये जेठ ३, ४, ६ गते गरी ५ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। सो क्वारेन्टाइनस्थललाई नेपाली सेनाको सहयोगमा सील गरिएको क्वारेन्टाइन स्थलका संयोजक सन्तोष ठाकुरले बताए।
क्वारेन्टाइनलाई सिल गरिएपछि सो क्वारेन्टाइनमा रहेका ४८ जनामध्ये कसैलाई पनि बाहिर जान नदिइने र नयाँ व्यक्तिलाई समेत नराखिने संयोजक ठाकुरको भनाइ छ। १ सय २० बेड संख्या रहेको सो क्वारेन्टाइनमा हालसम्म २ सय २० जनालाई राखिएको छ। जसमध्ये ५ जना संक्रमितलाई प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ भने १ सय ४१ जना घर फर्किसकेका छन् र बाँकी अहिले पनि क्वारेन्टाइनमै छन्।
प्रादेशिक क्वारेन्टाईनमा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालका लागि सिल गरिएको जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए। उनले भने, ‘क्वारेन्टाइनमा बसेकाहरु मध्ये पाँच जनामा संक्रमण भेटियो, अब त्यहाँ अन्य सम्भातिलाई समेत त्यहीबाट सर्न सक्छ, त्यसैले क्वारेन्टाइनमा बस्दै आएकोलाई व्यवस्थापन गर्दै सेनिटाइजर गरेर पुनः केही दिनमा सञ्चालन गरिन्छ।’