धादिङको गुम्दी स्वास्थ्य चौकी सिल

धादिङको गुम्दी स्वास्थ्य चौकी सिल

धादिङ : धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकीमा लामो समय बसेर काठमाडौं गएका लमजुङ जिल्लाका साढे २ वर्षका बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको छ । साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौंमा रहेका ती बालक आफ्नी आमासँगै मामाघरको हजुरबुवा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए । 

गत बैशाख २९ गते आमासहित काठमाडौं फर्किएका उनीहरुलाई घरवबेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो । सँगै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन ।

जिल्ला सुरक्षा समितिले ती बालकका हजुरबुवा कार्यरत गुम्दी स्वाथ्य चौकीको सम्पुर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घरक्षेत्रका चारकिल्ला तोकेर सिल गरिएको छ । स्वास्थ्य चौकी रहेको पूर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलाबीचको क्षेत्र पूर्ण रुपमा सिल गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा हाल २९ जनाको स्वाब संकलन गरेको छौँ, पिसिआर परीक्षणको लागि बिहीबार नै काठमाडौं पठाउने छौँ ।’

गुम्दी स्थित ती स्वास्थ्यकर्मीले डेरा लिएर बसेको क्षेत्रवरपर १५-२० वटा स्थानीयका घरहरु रहेका छन् । गंगाजमुना गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले भने, ‘डेरावरपरका परिवारको पनि लगत संकलन गर्दै छौं, सबैभन्दा नजिकका नातेदारको पीसीआर गरेपछि त्यसको नतिजा बमोजिम थप कारबाही अगाडि बढाउँनेछौँ ।’

धादिङ अस्पतालका ८ जना स्वास्थ्यकर्मीमा आरडीटी पोजिटिभ

जिल्ला अस्पताल धादिङका कर्मचारीहरुमा कोरोना भाइरसको आरडिटी गर्दा ७ जनामा पोजिटिभ देखिएको छ । बुधबार जिल्ला अस्पताल धादिङबाट आकस्मिक बाहेकका सेवाहरु बन्द गरेर ७९ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको आरडीटी गरिएको थियो ।

पोजिटिभ देखिएका सबै कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको  र पिसिआर परीक्षणको रिपोर्ट नआएसम्म उनीहरुलाई आइसोलेसनमा राखिएको जिल्ला अस्पताल धादिङका सुचना अधिकारी विक्रम विकले जानकारी दिए । 

७ जनाको आरडीटी पोजिटिभ देखिएपछि जिल्ला अस्पताल धादिङले एक विज्ञप्ती जारी गर्दै  पिसिआर रिपोर्ट नआएसम्मको लागि अस्पतालबाट प्रदान गरिने ओपीडी सेवा पूर्ण रुपले बन्द गरिएको जानकारी दिएको छ । 

जिल्ला अस्पताल धादिङका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डाक्टर दीपा बोहोराद्वारा जारी गरिएको विज्ञप्तीमार्फत सम्पूर्ण स्वास्थ्यकर्मी र सेवाग्राहीलाई कसरी सुरक्षित  बनाउने भन्ने सन्दर्भमा अस्पताल प्रशासनले व्यवस्थापनका सम्पुर्ण तयारी गरिरहेको जनाइएको छ । 

यस परिस्थितिबाट भयभित नहुन र संयमित भै सावधानी अपनाएर कोरोना भाइरसविरुद्ध जुट्न सम्पुर्ण जनसमुदायमा अस्पताल प्रशासनले विज्ञप्तीमार्फत अनुरोधसमेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.