मेडिकल कलेजमा डायलासिस गर्ने ७ बिरामीको  मृत्यु

मेडिकल कलेजमा डायलासिस गर्ने ७ बिरामीको  मृत्यु

वीरगन्ज : कोबिड १९ अस्पताल बनाइएपछि नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा स्थानान्तरण गरिएका ७ जना मिर्गौला रोगीको मृत्यु भएको छ । नारायणी अस्पतालबाट स्थानान्तरण गरी मडिकल कलेजमा डायलासिस गराउन थालेको सात हप्तामा  ७ जनाले ज्यान गुमाएका हुन् । 

सरकारले कोबिड १९ अस्पताल बनाएपछि नारायणी अस्पतालमा नियमित डायलासिस सेवा लिंदै आएका ४० जना बिरामीलाई अस्पतालले सरकारी दर रेटमै सेवा पाइने भन्दै मेडिकल कलेजमा पठाएको थियो । नारायणी अस्पतालले मेडिकल कलेजमा डायलासिस सेवाका लागि स्थानान्तरण गरेका ४० जनामध्ये ७ जना मिर्गौला रोगीको मेडिकल कलेजमा डायलासिस गराउने क्रममै मृत्यु भएको हो । 

मृत्यु हुनेहरुमा वीरगन्ज १२ मुर्लीकी ४५ वर्षीय नाशरिन बानो, वीरगन्ज १५ लक्ष्मणवाका ६० वर्षीय नागेन्द्र झा, पर्सा भौराटारका २४ वर्षीय कृष्ण ठाकुर, रौतहट गौरकी ५० वर्षीय तलबुन नेशा, बारा अमवाका ६० वर्षीय नन्दलाल महत्तो, सर्लाहीका ३५ वर्षीय अजय कार्की र रौतहट गौरका रन्जित मण्डल रहेका छन् । 

सात हप्तामा ७ जना मिर्गौला रोगीको मृत्यु भएको मेडिकल कलेजमै आफ्नी आमा कृष्णा देवीको डायलासिस गराइ रहेका वीरगन्ज ३ प्रगतिनगरका राम विश्वास कुशवाहाले बताए । 

'नारायणीले मेडिकलमा पठाएको ७ हप्तामा ७ जनाको मृत्यु भइसकेको छ',  उनले भने,  'यसले अरु मिर्गौला रोगी पनि त्रसित भएर अवस्था जटिल बन्दै गएको छ ।' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले गत चैत ३० गते नारायणी अस्पताललाई कोबीड १९ अस्पताल घोषणा गरी नारायणीमा भर्ना भएका र  अस्पतालबाट पठाइएका बिरामीको स्वास्थ्य बिमा बोर्डले तोकेको सेवा शुल्कभन्दा बढी नहुने गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन मेडिकल कलेजलाई पत्रचार गर्दै निर्देशन दिएको थियो ।

सरकारको उक्त निर्देशनपछि नारायणीमा नियमित डायलासिस सेवा लिंदै आएका ४० मिर्गौला रोगीलाई सेवाका लागि मेडिकल कलेजमा सारिएको थियो । तीमध्ये ७ जनाको मृत्यु भएपछि अहिले पनि मेडिकल कलेजमा ३४ जनाले डायलासिस गराउँदै आइरहेका छन् । नारायणीबाट मेडिकलमा पठाइएका ४० मध्ये वीरगन्ज मुर्लीकी नाशरिन बानोको मेडिकल कलेजमै डायलासिस गराइरहेकै अवस्थामा वैशाख ९ गते मृत्यु भएको थियो । त्यस यता जेठ पहिलो हप्तासम्म बानोसँगै ७ जनाको मृत्यु भएको कुशवाहाले जानकारी दिए । 

नारायणी अस्पतालबाट मेडिकल कलेजमा स्थानान्तरण गरिएका मिर्गौला रोगीहरुको डायलासिस गर्ने क्रममा चरम लापरवाही गरिएका कारण रोगीहरुले ज्यान गुमाइ रहेको रोगीका आफन्तहरुको आरोप छ । डायलासिसका लागि हामीलाई साँझ ५ नै बोलाउँछन् , तर ५-६ घण्टा कुराएर राखेपछि राति ११-१२ तिर मात्रै डायलासिस मेशीनमा जोड्छन्, कुशवाहाले भने, 'त्योभन्दा पहिले मेडिकलले शुल्क तिर्ने  बिरामीको डायलासिस गर्छन् , उनीहरुको पालो सकिएपछि मात्रै हामी निशुल्कवालाको पालो आउँछ ।' कुशवाहाका अनुसार नारायणी अस्पतालमा एउटा डायलोजरबाट डायलासिस हुने गरेकोमा मेडिकल कलेजमा भने एउटै डायलोजरबाट १० पटकसम्म डायलासिस गर्ने गरिएको छ । उनले भने, ‘नारायणीबाट पठाइएका रोगीलाई निशुल्क सेवा दिनु पर्ने हुन्छ त्यसैले बिरामीलाई मेसिनमा जोडेपछि हतार गरेर रगत पम्पिङ गर्ने स्पिड पनि बढाइ दिन्छन् ।'

नेपाल सरकारले विपन्न नागरिक कार्यक्रम अन्तर्गत प्रति व्यक्ति एक पटक डायलासिस गरेबापत नेशनल मेडिकल कलेजलाई २ हजार ५ सय रुपैयाँसमेत दिने गरेको छ । त्यसबाहेक डायलोजर र आवश्यक केमिकलसमेत मेडिकल कलेजलाई नेपाल सरकारले सित्तैमा दिने गरेको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए । 

मेडिकल कलेजका निर्देशक डाक्टर प्रमोद सर्राफले भने डायलासिस सेवामा कुनै लापरवाही नगरिएको दाबी गरे । कलेजमा रहेका १० वटा डायलासिस मेसिनको क्षमता ४० जना बिरामीलाई सेवा दिने रहेको भए पनि पछिल्लो समय ९० जना बिरामीलाई सेवा दिनु पर्ने बाध्यता रहेको उनले बताए ।

'क्षमताभन्दा बढी बिरामी भएपछि हार गुहार गरेर प्राविधिक र स्वास्थ्यकर्मीलाई काममा खटाएका छौँ', उनले भने, ‘अस्पतालबाट कुनै पनि लापरवाही भएको छैन ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.