नवराजकी आमाको प्रश्न : हत्यारालाई के कारवाही हुन्छ ?
रुकुम : सरकारले गठन गरेको छनविन समितिले काम सुरु गरेको छ। गृहमन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा गठन भएको समिति जाजरकोट पुगेर अनुसन्धान सुरु गरेको बताएको छ। बिहीबार साँझ घटनास्थल पुगेपनि शुक्रबार बिहानदेखि मात्रै काम सुरु गरेको सहसचिव बस्नेतले जानकारी दिए।
उनका अनुसार नवराज विकलगायत मृतकको घरमा पुगेर त्यहाँका अवस्था र पीडितको भनाइ बारे जानकारी लिइएको छ। ‘हामीले काम सुरु गरेका छौं,’ समितिका संयोजक बस्नेतले भने, ‘चौरजहारी घटनामा संलग्न सबै पक्षलाई भेट्छौं, घटनाको वास्तविकताबारे पहिचान गर्ने छौं।’
छानविन समितिका पदाधिकारी नवराजको घर पुग्दा उनकी आमा उर्मिलाले आँखाबाट आँसु झार्दै मेरो छोरोको हत्यारालाई के कारबाही हुन्छ भन्दै प्रश्न गरेकी थिइन्। केही समय शोकमय बनेको विकको घरमा बस्नेतलगायतका अन्य सहभागीले पीडितले न्याय पाउने र दोषीलाई सजाय हुने भन्दै सान्त्वना दिएका थिए।