कोरोना जितेका विजय भन्छन् : अव्यवस्थित आइसोलेसनले चिन्तित तुल्यायो
जनकपुरधाम : धनुषामा थप एक जना कोरोना (कोभिड–१९) महामारीलाई जितेर डिस्चार्ज भएका छन्। महोत्तरी स्थायी घर भएका धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा बस्दै आएका पुस्तक व्यवसायीले कोरोना जितेर डिस्चार्ज भएका हुन्। ३५ वर्षीय पुस्तक व्यवसायी विजय चौधरीले १९ दिनमा कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका हुन्।
उनले कोरोनालाई जितेर आएपनि आइसोलेसनमा भर्ना भएदेखि प्रादेशिक अस्पतालको व्यवस्थापनदेखि खानपानमा निक्कै कन्जुस्याई गर्ने गरेको गुनासो गरे। उनले भने, ‘मलाई कोरोना लागेको थियो, तर मलाई कोरोनाभन्दा अव्यवस्थित वातावरणले चिन्तित तुल्याउँथ्यो, तर आज कोरोनालाई हराउँदै मैले जितेको महसुस गर्दैछु।’ आइसोलेसनमा उपचारको क्रममा प्रादेशिक अस्पतालले गर्नुपर्ने सामान्य सुविधासमेत उपलब्ध गराउन नसकेको गुनासो गर्दै पुस्तक व्यवसायी चौधरीले भने, परिस्थिति खराब भए पनि मनस्थिति बलियो थियो जस्तोसुक्कै लडाई पनि जितिन्छ, भन्ने मनसायको अगाडी कोरोनाको केही लागेन। मनमा डर उत्पन्न भए पनि कोरोना जितेरै छोड्छु भन्ने सोच थियो, कोरोना भन्दा बलियो मन थियो, कोरोनासँग लड्न उच्च मनोबल थियो र आज कोरोनालाई हराउँदै विजयी भएको छु।’
कोरोना संक्रमित भएपछि बैशाख ३१ गते आयसोलेसनमा भर्ना भएका भएका थिए। गत बैशाख ३० गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। धनुषामा दोश्रो संक्रमितको रुपमा आइसोलेसनमा भर्ना भएका थिए । उनीसँगै कोरोना संक्रमित भएकी जनकपुरधाम उपमहानगरपालिकाका पत्रकार वीरेन्द्र रमण गत बिहीबार नै डिस्चार्ज भइसकेका छन्।